+
+
Shares

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असारदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
  • भारतीय चिया बोर्डको नयाँ नियमका कारण नेपालमा १० लाख र भारतमा २ लाख किलो तयारी चिया अलपत्र परेको छ ।
  • निर्यात ठप्प भएपछि चिया किसानलाई हरियो पत्तीको भुक्तानी दिन समेत नसक्ने अवस्था सिर्जना भएको व्यवसायीहरूले बताएका छन् ।

३१ जेठ, काठमाडौं । नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असार (भोलि) देखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको जनाएको हो ।

भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ ।

जटिल गुणस्तर जाँच, अपारदर्शी नतिजा र भण्डारणको अभाव जस्ता समस्याले गर्दा ठूलो परिमाणमा तयारी चिया थन्किएको छ ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले अहिले करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको बताए ।

‘जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै रोकिएको अवस्था छ,’ उनले भने, ‘यता नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको छ ।’

भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट महिनाौंसम्म नदिने र रिपोर्टमा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपेको उद्योगीहरूको गुनासो छ ।

निर्यात ठप्प भएपछि उद्योगहरूले चिया किसानलाई हरियो पत्तीको भुक्तानी समेत दिन नसक्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ ।

‘यस्तो विषम परिस्थितिमा हामी सम्पूर्ण उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘सम्पूर्ण उद्योगहरू आगामी २०८३ असार १ गते देखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी गराउँदछौं ।’

उद्योग बन्द हुँदा चिया किसान, श्रमिक र व्यवसायीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै एसोसिएसनले यो गम्भीर समस्याको उचित निकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारका साथै सम्पूर्ण राजनीतिक दल र सरोकारवालाहरूसँग सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?