+
+
Shares

रास्वपामा ‘एक व्यक्ति, दुई जिम्मेवारी’ ले पाएन कार्यकर्ताको म्यान्डेट

रास्वपाका सांसदद्वय राजन गौतम र डा. अच्युतम लामिछानेले पार्टीको प्रदेश सभापतिमा पराजय भोगे । अर्का सांसद बदनकुमार भण्डारीलाई रास्वपाका अधिवेशन प्रतिनिधिले प्रदेश महामन्त्री पदमा जित्ने गरी मत दिएनन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ जेठ ३१ गते १९:२५
बायाँबाट क्रमशः राजन गौतम, डा. अच्युत्तम लामिछाने र बदन भण्डारी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती र गण्डकी प्रदेश अधिवेशनमा केन्द्रीय नेतृत्वको आग्रहविपरीत उम्मेदवारी दिएका दुई जना सांसद पराजित भएका छन् ।
  • बागमती प्रदेश सभापतिमा सांसद डा. अच्युत्तम लामिछानेलाई २ मतले पराजित गर्दै उत्सव अर्याल निर्वाचित भए ।
  • गण्डकी प्रदेश सभापतिमा सांसद राजन गौतमलाई पराजित गर्दै निवर्तमान महामन्त्री नवीन त्रिपाठी २३४ मतसहित निर्वाचित भए ।

३१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रदेश सभापति र सांसद रहेका नेताहरूलाई प्रदेश अधिवेशनमा प्रतिस्पर्धा नगर्न आग्रह गरेका थिए । तर, पार्टी केन्द्रको आग्रह र निर्देशनलाई चुनौती दिँदै बागमती र गण्डकीका सभापतिहरू सोही पदमा आकांक्षी देखिए ।

सात प्रदेश सभापतिमध्ये गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा चार जनाले प्रत्यक्ष जितेका थिए । मधेशका सभापति तपेश्वर यादव, बागमतीका डा. अच्युत्तम लामिछाने, गण्डकीका राजन गौतम र लुम्बिनीका देवराज पाठकले प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।

कोशीका निवर्तमान कार्यवाहक सभापति सरिन तामाङ सांसद नभएको हुँदा उनको हकमा केन्द्रको आग्रह वा निर्देशनको आवश्यकता थिएन । सुदूरपश्चिम र कर्णालीका सभापति गत निर्वाचनमा उम्मेदवार बनेका थिएनन् ।

कर्णालीका सभापति भरत खड्का र सुदूरपश्चिम सभापति प्रकाश विष्ट पनि सांसद नभएको हुँदा त्यही पदमा दोहेरिने गरी आकांक्षी हुन केन्द्रको आग्रह सुन्न परेन ।

रास्वपाको मधेश अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । यद्यपि, सांसद बनेका तपेश्वर सोही पदमा दोहोरिन खोजेका छन् । लुम्बिनीका निवर्तमान सभापति देवराज पाठकले पार्टी केन्द्रको आग्रहअनुसार सोही पदमा उम्मेदवारी दिएनन् ।

रास्वपाले सम्पन्न गरेका प्रदेश अधिवेशनमा यतिबेला बागमती र गण्डकीको चर्चा बढी छ । किनकि, महामन्त्री बुर्लाकोटीको आग्रहविपरीत प्रदेश सभापतिमा उम्मेदवारी दिएका थिए । प्रदेशमा प्रतिस्पर्धा नगरेको अवस्थामा केन्द्रीय महाधिवेशनमा प्रतिस्पर्धा गर्ने विकल्प खुला गर्न सकिने आश्वासनसमेत बुर्लाकोटीले दिएका थिए ।

तदर्थ समितिलाई हाँकेर यहाँसम्म ल्याइपुर्‍याएका लामिछाने र गौतमलाई पहिलो अधिवेशनबाट निर्वाचित सभापति बन्ने अवसरसमेत गुमेको छ । बागमती र गण्डकीमा सभापतिमा पराजित हुने लामिछाने र गौतमलाई केन्द्रीय महाधिवेशनमा प्रतिस्पर्धा गर्न अब विधानले दिँदैन ।

बागमती र गण्डकी मूल नेतृत्वले प्राप्त गरेको मतको आधारमा रास्वपाका कार्यकर्ताले एक व्यक्तिलाई दुई जिम्मेवारी दिने गरी मत दिएनन् । सर्वसम्मत नयाँ नेतृत्व चयन हुन नसक्दा निर्वाचनमार्फत प्रतिनिधिले सभापतिका उम्मेदवार सांसदद्वय लामिछाने र गौतमलाई पराजित गरे ।

बागमतीको अधिवेशनमा सभापति र महामन्त्रीमा प्रतिस्पर्धी गरेका दुई सांसद पराजित भए । सभापतिमा लामिछानेलाई सघाउनका लागि सोही पदको उम्मेदवार नबनेका सांसद बदनकुमार भण्डारी महामन्त्रीमा पराजित भए । लामिछानेको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार हुनका लागि भण्डारीले सभापति पदमा उम्मेदवारी दिएका थिएनन् ।

लामिछानेको अघिल्लो समितिमा प्रवक्ता रहेका उत्सव अर्याल सभापतिमा निर्वाचित भए । सभापति पदमा लामिछानेले ४१४ मत प्राप्त गर्दा अर्यालले ४१६ मत ल्याई जिते । महामन्त्री पदमा भण्डारीलाई पराजित गरेर मेनुका ठकुरी निर्वाचित भइन् । ठकुरी अघिल्लो समितिमा कोषाध्यक्ष थिइन् ।

गण्डकीमा सभापतिका उम्मेदवार गौतम प्रतिस्पर्धीसँग फराकिलो अन्तरले पराजित भए । गौतमलाई उनकै समितिका महामन्त्री नवीन त्रिपाठीले पराजित गरे । त्रिपाठीले २३४ मत ल्याएर विजयी हुँदा गौतमले १८२ मत पाए ।

सांसद बनेको व्यक्ति प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्न नहुने पार्टी केन्द्रको आग्रहले अन्य प्रतिस्पर्धीलाई मत माग्नसमेत बल पुगेको थियो । गण्डकीमा महामन्त्रीकै पदमा दोहोरिने इच्छा राखेका त्रिपाठी अन्तत सभापतिमा उठे र निर्वाचित भए । केन्द्रको आग्रह स्वीकारेर उम्मदेवारी नदिन त्रिपाठीले निवर्तमान गण्डकी सभापति गौतमलाई आग्रह गरेका थिए ।

‘पार्टीले दिएका निर्देशन वा अनुरोध मान्नु पार्टीका साथीहरूको उत्तरदायित्व हुन्छ हिजोको दिनमा मैले निर्देशन वा अनुरोध मान्दै आएको थिएँ,’ गौतमतर्फ संकेत गर्दै त्रिपाठीले अधिवेशन हलमा भने, ‘निर्देशन वा अनुरोध मान्नुपर्ने कोही व्यक्ति हुनुहुन्छ भने कृपया मानिदिनुस् ।’

रास्वपाको विधानअनुसार तहगत संरचनामा बढीमा दुई पटक सभापति हुन पाउने व्यवस्था छ । तर पहिलो अधिवेशनको क्रममा रहेको हुँदा यसअघिका सबै समिति तदर्थ समिति थिए । त्यसअनुसार गण्डकी र बागमतीमा सभापतिमा पराजित दुवै जना अधिवेशनबाट एक कार्यकाल पनि बिताउन पाएनन् ।

पार्टी निर्देशनप्रति आपत्ति जनाउँदै गण्डकीमा पराजित गौतमले अधिवेशन हलमै भनेका थिए, ‘म शून्य कार्यकालमा छु । शून्यबाट एकमा जाने प्रयास गरेको छु । एकबाट दुईमा जाने प्रयास गर्दिनँ ।’

सांसद भएको व्यक्तिले तल्लो तहको संरचनामा प्रतिस्पर्धा गर्न नहुने केन्द्रको निर्देशन विवादमा समेत परेको छ । प्रदेश सभापतिमा पराजित लामिछाने र गौतमले ‘एक व्यक्ति, एक जिम्मेवारी’ प्रणाली लागु भए भोलिका दिनमा पार्टी संरचनाको जिम्मेवारीमा रहने कसैले पनि प्रतिस्पर्धा गर्न नपाउने बताएका छन् ।

गण्डकीमा सभापतिमा पराजित गौतम भन्छन् ‘पार्टी र सांसदको भूमिकालाई एउटै आँखाले हेरिदिनु भयो भने त्यो अन्याय हुन्छ ।’ जिल्ला अधिवेशनमा सांसदहरूलाई सभापति हुन नरोकिएकोप्रति गौतमले आपत्ति जनाए ।

नेतृत्वलाई उनले प्रश्न गरे, ‘सांसदहरू जिल्ला सभापति हुनुभएको छ । त्यहाँ किन रोक्न सक्नु भएन ?’ सांसदलाई प्रदेश सभापति उम्मेदवार बन्न नदिए भोलिका दिनमा तल्लो तहको पार्टी नेतृत्व गर्नेहरू चुनावमा प्रतिस्पर्धा गर्न नपाउने स्थिति बन्ने गौतम बताउँछन् ।

बागमतीमा सभापतिमा पराजित लामिछाने पार्टी शिक्षालय हुने र त्यसबाट प्राप्त ज्ञानहरू समाजमा विस्तार गर्ने हुँदा एक व्यक्ति एक जिम्मेवारीको अवधारणा अनुपयुक्त हुने धारणा राख्छन् । एक पद एक जिम्मेवारीले पार्टी संरचनामा काम गर्नेहरूलाई निरुत्साहित गराउने उनले बताए ।

पाँच वर्षको लागि सांसद पद खान मात्रै नआएको उल्लेख गर्दै मतदान स्थानमा लामिछानेले राजनीतिक निरन्तरताले भोलि थप भूमिकाहरू प्राप्त हुँदै जाने बताए । उनले, ‘हाम्रो महामन्त्री नै सांसद हुनुहुन्छ । पार्टीको महामन्त्री हुनुहुन्छ, मुख्य सचेतक हुनुहुन्छ ।’

केन्द्रको आग्रहलाई चुनौती दिँदै उठेका दुई प्रदेश सभापति पराजित भए भने लुम्बिनीका सभापतिले प्रतिस्पर्धा गरेनन् । लुम्बिनीका निवर्तमान सभापति देवराज पाठकले सर्वसम्मतको सबै विकल्प खुला राख्ने र त्यसमा सहमति जुट्न नसके उम्मेदवार नहुने अधिवेशन अघि जानकारी गराएका थिए । अन्य ६ जनाले सभापतिमा प्रतिस्पर्धा गरे ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान गर्ने कार्यतालिका बनाइएको थियो । पहिलो चरणमा सबैभन्दा धेरै मत प्राप्त गरेका शालिकराम घिमिरेलाई अन्य सबै उम्मेदवारले समर्थन गरेपछि दोस्रो चरणको मतदान गर्नु परेन ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?