+
+
Shares

रास्वपाका सहयोगीलाई नियुक्तिमा ग्रेसमार्क

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीलाई सहयोग गरेको व्यक्तिलाई एक नम्बर थपिने भनि दिएको अभिव्यक्तिले उनी विवादमा परेका छन् । महामन्त्री बुर्लाकोटीले विश्वविद्यालयको उपकुलपतिका लागि नभई पार्टीले प्रदान गर्ने टिकट प्राप्त गर्ने क्रममा एक नम्बर थपिने विचार राखेको स्पष्टीकरण दिएका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ असार १ गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीलाई सहयोग गर्ने योग्य व्यक्तिलाई छनोटमा १ नम्बर थपिने अभिव्यक्ति दिएपछि विवाद सिर्जना भएको छ ।
  • बुर्लाकोटीको अभिव्यक्तिको विरोध गर्दै त्रिवि स्ववियू र योजना आयोगकी सदस्य रेशु अर्यालले आपत्ति जनाएका छन् ।
  • महामन्त्री बुर्लाकोटीले सो भनाइ विश्वविद्यालयको नियुक्ति नभई आगामी निर्वाचनमा पार्टीको टिकट वितरणको मूल्याङ्कनसँग सम्बन्धित रहेको स्पष्ट पारे ।

१ असार, काठमाडौं ।  रास्वपा नेतृत्वको सरकारले विगतमा सरकारी निकायहरूमा राजनीतिकरण भएको भन्दै अध्यादेशमार्फत् करिब १५ सय राजनीतिक नियुक्तिहरू राखेज गर्‍यो ।

त्यसपछि खाली भएका स्थानहरूमा अहिले सरकारले खुला प्रतिस्पर्धा भन्दै विज्ञापनहरू मागिरहेको छ । कतिपय स्थानमा आवेदन दिएकाहरूको छनौटको प्रक्रिया चलिरहेको छ ।

यस्तो आवेदन प्रणालीबाट छान्ने प्रक्रियामा विश्वविद्यालयका उपकुलपतिदेखि राजदूतहरू समेत छन् ।

रास्वपाले जान्नेलाई छान्ने भन्दै विगतमा पनि दलीयकरणको विरोध गर्दै आएको थियो । त्यही एजेण्डा समेतको बलमा नयाँ राजनीतिक शक्तिको रुपमा उदाएको रास्वपाले अहिले चाहिँ त्यो एजेण्डा बदल्न लागेको हो कि भन्ने शंका पैदा भएको छ ।

शंका गर्नुपर्ने अवस्था आउनुको कारण हो- रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले हालै दिएको  अभिव्यक्ति ।

महामन्त्री बुर्लाकोटीले सरकारले बनाएको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि’ विपरीतको अभिव्यक्ति दिएका छन् ।

विश्वविद्यालयको उपकुलपति छनोट गर्न सरकारले बनाएको योग्यता प्रणाली भन्दा फरक हुने गरी रास्वपा महामन्त्री बुर्लाकोटीले अभिव्यक्ति दिएका हुन् ।

रास्वपालाई सहयोग गरेको कुनै व्यक्ति भए उक्त व्यक्तिको हकमा मेरिटोक्रेसीमा एक नम्बर थपिने बुर्लाकोटीले उल्लेख गरेका छन् ।

महामन्त्री बुर्लाकोटीको फेसबुक पेज ‘कबिन्द्र बुर्लाकोटीको सचिवालय’मा समेत शेयर गरिएको उक्त भिडियो अंशमा रास्वपालाई मत दिनका लागि प्रेरित गर्ने व्यक्ति भए उक्त व्यक्तिलाई थप एक नम्बर प्रदान हुने बताएका छन् ।

‘पार्टीमा नजोडिएको, इमान्दार भएर विश्वविद्यालयमा पढाएको योग्य व्यक्ति छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डा बोकेर हिँडेको छैन । अरु पार्टीको पनि झण्डा बोकेर हिँडेको छैन । त्यत्तिकै योग्य छ,’ रास्वपा महामन्त्री बुर्लाकोटीले भनेका छन्,‘तर, रास्वपाले जित्नुपर्छ भनेर अलिकति सहयोग पनि गरेको, क्षेत्रमा जाँदा आफ्नो घर वरिपरि भनिदिने पनि गरेको, जसले जितेपनि के फरक पर्छ भनेर काठमाडौंमै नबसेको, रास्वपाले नै जितोस् भनेर गाउँमा गएर भोट हाल्नलाई प्रेरित गरेको छ भने त्यस्तो व्यक्तिको नाममा एक नम्बर थपिन्छ ।’

शिक्षा तथा खेलकुद मन्त्रालयले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि’ अनुसार आठ विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन दिनेहरू मध्येको शर्ट लिष्ट सार्वजनिक गरिसकेको छ । त्यही कार्यविधि अनुसार सर्टलिस्ट अनुसार त्रिभुवन विश्वविद्यालयमा, पूर्वाञ्चल विश्वविद्यालयमा, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विद्यालयमा समान १० र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना शर्ट लिष्टमा छनोट भएका छन् ।

उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन परेको थियो । आवेदकहरू मध्येबाट शर्ट लिष्ट बनाउन विज्ञले नम्बर प्रदान गरे अनुसार सूची तय गरिएको थियो ।

प्रधानमन्त्री एवं  विश्वविद्यालयका कुलपति वालेन शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेका थिए ।

नयाँ कार्यविधिअनुसार नियुक्ति गर्दा पारदर्शिता र प्रक्रियागत निष्पक्षता सुनिश्चित हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जानकारी गराएको थियो ।

विश्वविद्यालयहरुको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधिमा उक्त पदका लागि आवेदन पेश गर्न योग्यताको मापदण्ड तय गरिएको छ ।

विद्यावारिधि पारित, राजनीतिक दलमा संलग्न नरहेको चालिस वर्ष उमेर पुगेको, विश्वविद्यालयसँग स्वार्थ नबाझिएको स्वघोषणापत्र गर्नुपर्ने, बौद्धिक चोरी नगरेको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा कौशलता प्रदान गरेको लगायतको मापदण्ड तोकिएको छ ।

कुलपतिका लागि सरकारले तय भएको मापदण्ड विपरीत रास्वपाका महामन्त्री बुर्लाकोटीले अभिव्यक्ति दिएपछि त्यसप्रति विरोध भएको छ । कुनैपनि दलको आवद्ध नभएका व्यक्ति मात्रै उपकुलपति हुनसक्ने कार्यविधि मध्ये एउटा मापदण्ड छ ।

तर, रास्वपा महामन्त्रीले सदस्यता नलिएको भएपनि आफ्नो पार्टीप्रति झुकाव राख्नेलाई एक नम्बर थप अंक प्रदान गर्न सकिने बताएका हुन् ।

 बुर्लाकोटीको यो भनाईप्रति योजना आयोगको सदस्य एवं काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समितिको सदस्य रेशु अर्यालले सामाजिक सञ्जालबाट आपत्ति जनाएकी छन् ।

बुर्लाकोटीको बोलीप्रति संकेत गर्दै अर्यालले भनेकी छन्,‘मर्यादित प्रक्रिया आफैंमा निष्ठावान हुन्छ । १ अंकका लागि बिकाउ वफादारीको कुनै अर्थ नै छैन । … र चिन्दैन ।’

रास्वपा महामन्त्री बुर्लाकोटीको बोलीप्रति त्रिभुवन विश्वविद्यालयको स्ववियूले पनि आपत्ति जनाएको छ ।

स्ववियू सभापति दिपकराज जोशीले विज्ञप्ति निकालेर बुर्लाकोटीको बोलीमा थप स्पष्टता माग गरेका छन् ।

‘यो अभिव्यक्ति सत्य हो भने यसले विश्वविद्यालयको स्वायत्तता, योग्यता प्रणाली र निष्पक्षताको मूल मर्ममाथि गम्भीर प्रहार गरेको छ,’ स्ववियुको विज्ञप्तिमा भनिएको छ,‘माननीय कविन्द्र बुर्लाकोटीको अभिव्यक्तिले हाल त्रिभुवन विश्वविद्यालयमा उपकुलपति लगायतका विभिन्न पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा समेत सत्ताधारी दलको अनुचित हस्तक्षेप हुँदै विश्वविद्यालय रास्वपाकरण हुने शङ्का उब्जिएको छ ।’

रास्वपा महामन्त्री बुर्लाकोटीले विश्वविद्यालयको उपकुलपति छनोटसँग सम्बन्धित आफ्नो बोली नरहेको स्पष्टीकरण दिएका छन् ।

आगामी निर्वाचनमा उम्मेदवार हुन ल्याटरल इन्ट्री भएका व्यक्तिहरूले पनि पुराना सदस्य बराबर अवसर पाउने सन्दर्भमा उक्त धारणा राखेको बुर्लाकोटीले अनलाइनखबरसँग बताए ।

बुर्लाकोटीले भने,‘पार्टी सदस्य बीचमा भएको चर्चा र गुनासोको बीचमा यदि योग्य र इमान्दार हुनुहुन्छ र साथै पार्टीमा पनि धेरैथोर योगदान गर्नुभएको छ भने त्यस्तो व्यक्तिले टिकट पाउने सन्दर्भमा एक नम्बर थप पाउनुहुन्छ भनेको हुँ । अहिले सार्वजनिक रुपमा भ्रम छरिए जस्तो सरकारले गर्ने राजनीतिक नियुक्तिमा एक नम्बर थपिने कुरा मैले गरेको होइन । पार्टीको यस्तो नीति छैन, र पार्टीले यस्तो नीति भविष्यमा समेत लिइँदैन ।’

विश्वविद्यालयमा पढेको योग्य, इमान्दार र सक्षम दुई व्यक्ति मध्ये एउटाले पार्टीमा धेरथोर योगदान पनि गरेको भए त्यस्तो व्यक्तिलाई निर्वाचनमा टिकट दिने क्रममा एक नम्बर थपिने आफ्नो विचार रहेको बुर्लाकोटीको भनाइ छ ।

‘विश्वविद्यालयको नियुक्ति सम्बन्धमा मैले कुनै पनि स्टेटमेन्ट दिएको छैन । र, विश्वविद्यालयमा योग्यताको आधारमा पर्फमेन्सको आधारमा नियुक्ति हुनुपर्छ भन्नेमा पार्टी र सरकार दृढ छ’ बुर्लाकोटीले भने ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?