२ असार, सिरहा । सिरहामा करिब २८ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारले करिब गोलबजार नगरपालिका–७ चोहर्वाबाट ५ किलो ७१५ ग्राम गाँजासहित दुई जना र गोलबजार–१० बाट थप २२ किलो गाँजासहित एक जनालाई सोमबार राति नियन्त्रणमा लिएको हो ।
गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धर्मपुरबाट चोहर्वातर्फ आउँदै गरेको नम्बर नखुलेको विद्युतीय अटोलाई रोकी जाँच गर्दा बोराभित्र लुकाइएको ५ किलो ७१५ ग्राम गाँजा बरामद गरेको थियो ।
अटो चालक गोलबजार–७ का ३६ वर्षीय रोकेन्द्र बहादुर सुनुवार र अटोमा सवार भारतको बिहार राज्य, पटना जिल्ला धनरुवा ग्राम पञ्चायत निवासी ३० वर्षीय रोहित कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रोहित कुमारसँगको सोधपुछका क्रममा प्राप्त जानकारीका आधारमा प्रहरी गोलबजार–१० निवासी छक बहादुरको घरमा पुगेको थियो ।
घरमा गरिएको खानतलासीका क्रममा चारवटा बोरामा राखिएको २२ किलो गाँजा बरामद भएपछि छक बहादुरलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख सुधन केसीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4