+
+
Shares

गण्डकी प्रदेश सभामा बजेटमाथि छलफल सुरु

गण्डकी प्रदेशसभामा प्रदेश सरकारको आगामी आव २०८३/८४ को बजेटमाथि छलफल सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते २१:४७

४ असार, पोखरा । गण्डकी प्रदेशसभामा प्रदेश सरकारको आगामी आव २०८३/८४ को बजेटमाथि छलफल सुरु भएको छ । बिहीबारको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले ‘बजेटमाथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरेका थिए ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले अघिल्ला बजेटको तुलनामा अहिलेको बजेटमा चालु खर्च घट्नु र पुँजीगत खर्च बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले बजेटमा समेटिएका रोजगारी सिर्जना, लगानी प्रवर्द्धन, कृषिको बजारीकरणलगायत कार्यक्रम कार्यान्वयनमा जोड दिए ।

प्रदेशसभा सदस्य लिलबहादुर थापा मगरले नागरिकको माग र आवश्यकतामा आधारित भएर बजेट ल्याउने प्रयास गरेको बताए । सरकारले चालु खर्च कम गर्दै जानुपर्ने उनको सुझाव थियो । यस्तै उनले बजेट निर्माण र वितरणमा प्रणाली बसाल्नुपर्ने पनि बताए ।

प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आन्तरिक राजस्व बढाउन नसक्दा घाटा बजेट बनाउनुपर्ने अवस्था रहेको बताए । उनले प्रदेश सरकारले वर्षौँअघि घोषणा गरेका लोकाहाखोला र पूँडीटार औद्योगिक क्षेत्र निर्माण अगाडि बढाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्य विन्दु पौडेलले ‘रिटर्न टु भिलेज’ लगायत आर्थिक उत्पादन र रोजगारी सिर्जनाका महत्त्वपूर्ण कार्यक्रमलाई बजेटले समेटेको बताए । पुँजीगत बजेट समयमा खर्च हुन नसक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनको जोड थियो ।

प्रदेशसभा सदस्य पार्वती तामाङले सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट आएको बताइन् । उनले नवप्रवर्तन, उद्यमशीलता, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई जोड दिइनु बजेटको सकारात्मक पक्ष भएको बताइन् ।

प्रदेशसभा सदस्य सीताकुमारी सुन्दास, महेश भट्टराई, भक्तबहादुर कुँवरलगायतले बजेटमाथिको छलफलका क्रममा आ–आफ्ना धारणा राखेका थिए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?