+
+
Shares

बैंकहरूलाई सेयर लगानीमा लगाइएको सीमा खुकुलो बनाउन रास्वपाको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा लगाइएको सीमा खुकुलो बनाउन नेपाल राष्ट्र बैंकसमक्ष सुझाव पेस गरेको छ ।
  • रास्वपाले सेयर धितो कर्जाको सीमा कुल कर्जा प्रवाहका आधारमा तय गर्न र कम्पनीको वित्तीय सबलता अनुसार फरक अनुपात तोक्न माग गरेको छ ।
  • बैंक, मेरो सेयर र ब्रोकर प्रणालीलाई एकीकृत गर्न तथा लघुवित्तको लाभांश वितरणमा लगाइएको सीमा खारेज गर्न समेत सो पार्टीले सुझाएको छ ।

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा लगाइएको सीमा खुकुलो बनाउन सुझाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई सुझाव दिँदै रास्वपाले सेयर लगानी सीमा पुनरावलोकन गर्न भनेको हो ।

रास्वपाको मुद्रा तथा पूँजीबजार विभागका प्रतिनिधिले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई भेटेर सेयर धितो कर्जामा कम्पनीको वित्तीय सबलता अनुसार फरक ऋण र धितो अनुपात निर्धारण गर्ने व्यवस्था गर्न सुझाएको हो ।

सेयर धितो कर्जाको सीमा कुल कर्जा प्रवाहको आधारमा निर्धारण गर्न समेत रास्वपाले सुझाएको छ । त्यसैगरी आगामी मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई पूँजीबजारमा लगाइएको लगानी बन्देज खुकुलो बनाउन सुझाएको हो । बैंकहरूले हाल प्राथमिक पूँजीको ३० प्रतिशत बराबर रकम सेयर बजारमा लगानी गर्न सक्छन् । यसरी गरिएको लगानी ६ महिना होल्ड गर्नुपर्ने व्यवस्था छ ।

पूँजीबजारमा संस्थागत लगानीकर्ताको विस्तार गर्न कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षाकोष, म्युचुअल फण्ड, नागरिक लगानी कोष लगायत संस्थालाई बजारमा सहभागिता गराउन आवश्यक सहजीकरण गरिदिन समेत रास्वपाले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

त्यसैगरी केन्द्रीय केवाईसी डिजिटल इन्ट्रीग्रेसनको व्यवस्था गर्न समेत सुझाएको छ । सेन्ट्रल बैंक केवाईसी प्लेटफर्म लागु गरी लगानी प्रक्रिया छिटो र सरल बनाउन रास्वपाले सुझाएको छ ।

रास्वपाले बैंक, मेरो सेयर र ब्रोकरबीच एकीकरण गर्न सुझाएको छ । त्यसैगरी ब्याजदर करिडोरलाई प्रभावकारी बनाइ ब्याजदरको अस्वभावित उतारचढाव नियन्त्रण गरी वैज्ञानिक विधिद्वारा पूर्वानुमानयोग्य बनाउन रास्वपाले सुझाएको छ ।

ब्रोकर मार्जिन ट्रेडिङ तथा नयाँ वित्तीय उपकरण सक्षम ब्रोकरहरूलाई छोटो अवधिको ऋणपत्र जारी गर्न अनुमति दिने व्यवस्था गर्न सुझाएको छ । ब्रोकर तथा ‘मार्जिन रिसिभेबल’लाई धितो मानेर अल्पकालीन कर्जा प्रदान गर्ने व्यवस्था गर्न सुझाइएको छ । लघुवित्त वित्तीय संस्थाहरूमा लगाइएको लाभांश वितरण सीमा खारेज गर्न रास्वपाले सुझाएको छ । बैंक तथा वित्तीय संस्थाहरूको पूँजी पर्याप्तता अनुपात सुधार तथा कर्जा प्रवाह बढाउने गरी नीति आउनु पर्ने रास्वपाले सुझाएको छ ।

पूँजी कोष दबाबमा भएका बैंक तथा वित्तीय संस्थालाई आवश्यकता र औचित्यका आधारमा हकप्रद सेयर जारी गर्न दिइ व्यवसाय विस्तार गर्ने वातावरण बनाउन रास्वपाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?