News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको येल विश्वविद्यालयको नयाँ अध्ययन अनुसार ६५ वर्षभन्दा माथिका झन्डै आधा वृद्धवृद्धाहरूको समयसँगै शारीरिक वा मानसिक क्षमतामा उल्लेख्य सुधार आउने देखिएको छ ।
- वैज्ञानिक जर्नल 'जेरियाट्रिक्स' मा प्रकाशित यो अनुसन्धान ११ हजारभन्दा बढी अमेरिकी वृद्धवृद्धाहरूमाथि १२ वर्षसम्म गरिएको थियो ।
- बुढ्यौलीसम्बन्धी सकारात्मक सोचले वृद्धवृद्धाहरूको हिँड्ने गति र मानसिक प्रदर्शनमा उल्लेख्य सुधार ल्याउन सहयोग पुग्ने अध्ययनले देखाएको छ ।
७ असार, काठमाडौं । उमेर बढ्दै जाँदा मानिसको शारीरिक र मानसिक क्षमता लगातार कमजोर हुँदै जान्छ भन्ने आम मान्यतालाई चुनौती दिँदै अमेरिकाको येल विश्वविद्यालयले एउटा नयाँ अध्ययनको निष्कर्ष सार्वजनिक भएको छ ।
लामो समयसम्म गरिएको यस अनुसन्धान अनुसार ६५ वर्षभन्दा माथिका झन्डै आधा वृद्धवृद्धाहरूको समयसँगै शारीरिक, मानसिक वा दुवै क्षमतामा उल्लेख्य सुधार आएको पाइएको छ।
वैज्ञानिक जर्नल ‘जेरियाट्रिक्स’ मा प्रकाशित यो अध्ययन ११ हजारभन्दा बढी अमेरिकी वृद्धवृद्धाहरूमाथि १२ वर्षसम्म गरिएको थियो। अनुसन्धानका क्रममा उनीहरूको सोच्ने र सम्झने क्षमता तथा हिँड्ने गतिको मापन गरिएको थियो। नतिजा अनुसार ४५ प्रतिशत सहभागीहरूको कम्तीमा एउटा क्षेत्रमा सुधार आएको देखियो। यसमध्ये ३२ प्रतिशतको मानसिक क्षमता र २८ प्रतिशतको शारीरिक क्षमतामा सुधार आयो।
‘धेरै मानिसहरू उमेर बढ्नुलाई शारीरिक र मानसिक क्षमताको अनिवार्य क्षयका रूपमा बुझ्छन्,’ येल स्कुल अफ पब्लिक हेल्थकी प्राध्यापक एवं मुख्य अनुसन्धानकर्ता बेक्का आर. लेभीले भनिन्, ‘तर हाम्रो अध्ययनले ढल्किँदो उमेरमा पनि क्षमतामा सुधार आउनु कुनै दुर्लभ कुरा नभएर सामान्य प्रक्रिया भएको देखाएको छ।’
अध्ययनले उमेर बढ्ने प्रक्रियाप्रति मानिसको आफ्नै सोच कस्तो छ भन्ने कुराले यसमा ठुलो भूमिका खेल्ने तथ्य पत्ता लगाएको छ। बुढ्यौलीसँग जोडिएका सकारात्मक सोच राख्ने वृद्धवृद्धाहरूको हिँड्ने गति र मानसिक प्रदर्शनमा धेरै सुधार आएको देखियो।
मिडिया र विज्ञापनका माध्यमबाट समाजले बनाउने नकारात्मक धारणाले मानिसको स्वास्थ्यमा नराम्रो जैविक असर पार्ने र सकारात्मक सोचले भने शरीरलाई ऊर्जावान् बनाउने प्राध्यापक लेभीको भनाइ छ। ‘हाम्रो निष्कर्षले ढल्किँदो उमेरमा पनि सुधारका लागि आन्तरिक क्षमता बाँकी रहने देखाउँछ र सोचमा परिवर्तन गरेर यसलाई अझ राम्रो बनाउन सकिन्छ,’ लेभीले भनिन्।
यो सुधार केवल बिरामी परेर निको भएकाहरूमा मात्र सीमित थिएन । सुरुमा पूर्ण रूपमा स्वस्थ रहेका वृद्धवृद्धाहरूमा पनि समयसँगै थप सुधार देखिएको थियो। यस अध्ययनले बुढ्यौलीसँगै आउने निरन्तर ह्रास रोक्न सकिने प्रमाणित गरेकाले वृद्धवृद्धाहरूका लागि उपचारात्मक सेवासँगै सकारात्मक वातावरण र पुनःस्थापनाका कार्यक्रमहरूमा लगानी बढाउनुपर्ने अनुसन्धानकर्ताहरूले सुझाएका छन्।
प्रतिक्रिया 4