News Summary
Generated by OK AI. Editorially reviewed.- कतारको रस लाफान औद्योगिक क्षेत्रमा अवस्थित बार्जान ग्यास केन्द्रमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ५४ जना घाइते र १८ जना बेपत्ता भएका छन् ।
- इरानको आक्रमणपछि बन्द भएको सो प्लान्ट पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति यो दुर्घटना भएको हो ।
- दैनिक एक अर्ब ४० करोड घनफिट क्षमताको यो केन्द्रमा भएको क्षतिले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ ।
८ असार, काठमाडौं । कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा भएको विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् । कतारको गृह मन्त्रालयले सोमबार उक्त जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आइतबार भएको विस्फोट ‘प्राविधिक समस्या’का कारण भएको थियो । बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ ।
रास लाफान क्षेत्र विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन केन्द्रका रूपमा परिचित छ ।
यसअघि अमेरिका–इरान युद्धका क्रममा इरानले खाडी क्षेत्रको ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदा रास लाफान क्षेत्रमा पनि ठूलो क्षति पुगेको थियो । त्यसक्रममा कतारले ग्यास उत्पादनसमेत रोक्नुपरेको थियो ।
सरकारी स्वामित्वको कम्पनी कतार इनर्जीले जारी गरेको वक्तव्यमा रास लाफान औद्योगिक नगरमा सञ्चालन पुन: सुरु गर्ने क्रममा बरजान ग्यास आपूर्ति केन्द्रमा विस्फोट र आगलागी भएको जनाएको छ।
‘प्राविधिक समस्याले विस्फोट’
गृह मन्त्रालयले घटनालाई ‘आन्तरिक विस्फोट’ भनेको छ । पछि जारी अर्को वक्तव्यमा ‘प्राविधिक खराबी’का कारण दुर्घटना भएको उल्लेख छ ।
मन्त्रालयले एक्समार्फत जारी गरेको वक्तव्यमा भनेको छ, ‘रास लाफान औद्योगिक नगरको एक कारखानामा भएको घटनामा कुल ५४ जना घाइते भएका छन् । साथै १८ जना बेपत्ताको खोजी जारी रहेको छ ।’
अमेरिका, अष्ट्रेलिया र रुससँगै कतार पनि विश्वका प्रमुख एलएनजी उत्पादक राष्ट्र हुन् । इरानी ड्रोन आक्रमणले महत्वपूर्ण ऊर्जा संरचनामा क्षति पुर्याएपछि कतारले गत मार्च २ देखि एलएनजी उत्पादन बन्द गरेको थियो ।
मार्च १८ मा भएका थप आक्रमणका कारण एलएनजी निर्यात क्षमता १७ प्रतिशतसम्म घट्ने र पूर्ण मर्मतमा तीनदेखि पाँच वर्ष लाग्न सक्ने ऊर्जा मन्त्री साद अल काबीले त्यसबेला बताएका थिए ।
विश्व ऊर्जा बजारमा थप असर पर्ने चिन्ता
रास लाफान क्षेत्रमा भएको पछिल्लो विस्फोटले विश्व ऊर्जा बजारमा थप अस्थिरता ल्याउन सक्ने अनुमान गरिएको दोहा न्यूजले जनाएको छ । कतार विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादकमध्ये एक भएकाले यसको उत्पादन र निर्यातमा पर्ने असरले अन्तर्राष्ट्रिय बजारलाई प्रभावित पार्न सक्छ ।
इरानले स्ट्रेट अफ होर्मुजमाथि नियन्त्रण कडा बनाएपछि कतारले आफ्ना ग्राहकसम्म ग्यास पठाउन नसकेर उत्पादन बन्द गरेको थियो । युद्ध अन्त्यका लागि वार्ता अघि बढेसँगै इरानले जलमार्गमाथिको नियन्त्रण केही खुकुलो बनाएपछि कतारले पुन: निर्यात टर्मिनल सञ्चालनमा ल्याउने प्रयास गरिरहेको थियो ।
यद्यपि पछिल्लो विस्फोटले फेरि सन्चालन अनिश्चित बनेको छ । वास्तविक क्षतिको परिमाण पनि अझै सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया 4