News Summary
Generated by OK AI. Editorially reviewed.- ‘कमेडी दरबार’ शोको तेस्रो सिजनको नवौं एपिसोडमा सभामुख र मर्यादापालकको भूमिका समेटिएको प्रस्तुति विवादित बनेको छ ।
- प्रेस काउन्सिलको निर्देशनपछि उक्त एपिसोडमा ‘सभामुख’ शब्दलाई ११ पटक बिप गरेर म्युट गरी युट्युबमा सार्वजनिक गरिएको छ ।
- निर्देशक श्रद्धा प्रसाईंले सो कार्यलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै आगामी श्रृंखलाहरूमा सजग रहने बताइन् ।
काठमाडौं । टिभी शो ‘कमेडी दरबार’को पछिल्लो श्रृंखला विवादित बनेको छ । पछिल्लो साता प्रसारित सिजन ३ अन्तर्गतको ९ औं एपिसोडको एक प्रस्तुति विवादित बनेको हो ।
शुक्रबार ओएसआर रियालिटीले उक्त एपिसोडलाई युट्यबुमा ल्याएको छ । उक्त एपिसोडको ३१ मिनेट २२ सेकेन्डमा कलाकारद्वय सरोज भण्डारी र सुजन जिम्बाले सभामुख र मर्यादापालकको भूमिकामा प्रस्तुति दिएका छन् ।
उक्त प्रस्तुतिमा ११ पटक बिप हालेर ‘सभामुख’ भन्ने शब्दलाई म्युट तुल्याइएको छ । प्रस्तुतिलाई लिएर कतिपय हाँस्य शोहरू विवादित बन्ने गरे पनि बिप हालेरै सेन्सरसिप हालिएको यो पहिलोपटक हो ।
प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र केही महिला सांसदलाई लक्षित गर्दै उक्त एपिसोडमा ती कमेडियनले प्रस्तुति दिएका थिए । संसदमा बोल्ने क्रममा पालो सकिएपछि माइक काटिने बेलाको मुखामुखको प्रसंगलाई ट्रोल बनाउँदै पछिल्लो समय सामाजिक सञ्जालमा भिडियो सेयर भैरहेका थिए । यो विषयले संसदमा प्रवेश समेत पाएको थियो ।

कार्यक्रमको ट्रेलर रिलिजपछि अधिवक्ता खगेन्द्र चापागाईंले प्रेस काउन्सिलमा उजुरी दिएका थिए । उनको उजुरीको आधारमा काउन्सिलले निर्देशक श्रद्धा प्रसाईं, प्राइम टिभी र ओएसआरमा फोनमा गरेर विवादित शब्द र दृश्य हटाउन निर्देशन दिएको थियो ।
त्यसपछि बिप हालेर कार्यक्रम प्रसारण गरिएको हो । यसप्रति शोका जज, निर्देशक र कलाकारसम्मले सिर्जनात्मक कार्यमा हस्तक्षेप भएको भन्दै सामाजिक संजालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।
निर्देशक प्रसाईंले यस्तो कार्य अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताइन् । यद्यपि, आइन्दा एपिसोडमा विषयवस्तु र प्रप्समा समेत सजग हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4