+
+
Shares

विनोद शाही हत्या : उच्चले उल्ट्यायो फैसला, कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते ६:५१
हत्या गरिएका विनोद शाही ।

९ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही हत्या प्रकरणमा उच्च अदालत दिपायलले जिल्लाको फैसला उल्ट्याएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले जिल्लाको फैसला उट्याउँदै ६ जनालाई जन्म कैदको फैसला सुनाएको हो ।

अदालतका प्रवक्ता नरबहादुर नेगीले प्रतिवादी सज्जन शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जन्म कैदको सजाय सुनाइएको बताए । उनीहरू मध्येका सज्जन शाही नेपाली कांग्रेसका नगर सभापति समेत हुन् ।

उनकाअनुसार उनीहरूलाई जनही एक/एक लाखका दरले पीडित पक्षलाई क्षतिपूर्ति पनि भराउन आदेश दिइएको छ ।

अन्य चारजना प्रतिवादी पानमति बम शाही, द्रोपति शाही, कर्णबहादुर शाही र शान्ति कुमारी शाहीको हकमा भने जिल्लाकै निर्णय सदर हुने ठहर गरिएको छ ।

४ मंसिर २०८२ मा जिल्ला अदालत अछामले यो मुद्दाको सुनवाइ गर्दै सबै प्रतिवादीलाई सफाइ हुने फैसला सुनाएको थियो ।

३० वैशाख २०७९ को स्थानीय तह चुनावको दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो । सोही विषयलाई लिएर एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा एमाले कार्यकर्ताले अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको थिए ।

२१ जेठमा घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो तर जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहितका तीन जना आरोपितविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?