९ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको लोकतन्त्रलाई नेतातन्त्रले चपाइरहेको र नेतातन्त्रलाई विचौलियाले नचाइरहेको भन्दै तीव्र आलोचना गरेका छन्।
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा पेस गरिएको ‘राजनीतिक प्रतिवेदन तथा प्रस्ताव’ मा लामिछानेले विगतको समीक्षा गर्दै रास्वपाको उदयबारे उल्लेख गरेका छन् ।
आफ्नो प्रतिवेदनको ‘चार वर्षमा शून्यबाट सिंहदरबारसम्म’ शीर्षकको खण्डमा उनले रास्वपा राजनीतिमा किन आयो भन्ने तथ्यलाई ऐतिहासिक दस्ताबेजमा रेकर्ड गराउन चाहेको उल्लेख गरेका छन्।
सभापति लामिछानेका अनुसार रास्वपा स्थापनाकालका अधिकांश साथीहरूको कुनै परम्परागत राजनीतिक पृष्ठभूमि थिएन। सञ्चारकर्म र समाजका अन्य पेसागत क्षेत्रबाट राज्यलाई प्रश्न गर्न र सुधारका लागि दबाब सिर्जना गर्न सकिन्छ भन्ने विश्वासमा उनीहरू सक्रिय थिए।
‘तर समयसँगै हामीले थाहा पायौं, राज्य संरचना न सुन्न चाहने ठाउँमा छ, न सुन्न सक्ने,’ प्रतिवेदनमा भनिएको छ, ‘सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार र जवाफदेहिताको कमी, खुला अवसरवाद र अस्थिर गठबन्धन अनि विचौलियाको जगजगी। लोकतन्त्रलाई नेतातन्त्रले चपाइरहेको थियो, नेतातन्त्रलाई विचौलियाले नचाइरहेको थियो।’
परिवर्तन बाहिरबाट होइन प्रणालीभित्रै प्रवेश गरेर मात्र सम्भव हुने निष्कर्ष निकाल्दै आफूहरूले राजनीतिमा प्रवेश गर्ने र राज्य संरचनालाई क्रमशः सफा गर्ने संकल्प लिएको उनले बताएका छन्।
‘पुराना दल पहाड होइनन्, फोहोरका थुप्रा हुन्’
लामिछानेले राजनीतिमा होमिँदाका सुरुवाती दिनका अविश्वास, आलोचना र उपहासको पनि स्मरण गरेका छन्। स्थापित दल र पुरानो संरचनालाई पहाडसँग तुलना गर्दै धेरैले कुहिनो नजुधाउन र बरु यसैको हिस्सा बन्न सल्लाह दिने गरेको प्रसंग उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।
यसको जवाफमा आफूहरूले भन्ने गरेको कुरा स्मरण गर्दै उनले भनेका छन्, ‘हामी सम्झाउन खोज्थ्यौं, यी अब पहाड रहेनन्, फोहरका थुप्रामा परिणत भइसके, यी रहिरहे भने अब यो देश रहन्न।’
जनता परिवर्तनका लागि तयार भए पनि समाजका प्रभावशाली व्यक्ति, बुद्धिजीवी र सञ्चारकर्मी सुन्न तयार नभएको उनले गुनासो गरेका छन्। पार्टी सदस्य त परको कुरा, सुरुमा नेता बनिदिन पनि कोही तयार नभएको अवस्था उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।
बालेनको जित र रास्वपाको उदय
विगतमा ‘नयाँ शक्ति’ को प्रयास र ‘विवेकशील’ अभियानले राजनीतिलाई तरंगित पारे पनि बदल्न नसकेको विश्लेषण लामिछानेले गरेका छन्। यद्यपि, अपराजेय मानिएको दलहरूको सिन्डिकेटलाई हराएर काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाहको विजयले जनता परम्परागत दलप्रति विद्रोहका लागि तयार छ भन्ने देखाएको उनले प्रतिवेदनमा समेटेका छन्।
२००६ सालयता प्रख्यात गैर-राजनीतिक व्यक्तिले खोलेका दलहरू संसद् पुग्न नसकेको ऐतिहासिक अविश्वासलाई चिर्दै आफ्नो पार्टी उदाएको उनले दाबी गरेका छन्।
रास्वपाले स्थापनाको पाँच महिनामै करिब १२ लाख लोकप्रिय मतसहित देशकै चौथो ठूलो पार्टी बन्न सफल भएको र सङ्कल्पका साथ चार वर्षमा शून्यबाट सिंहदरबारसम्मको यात्रा तय गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया 4