९ असार, काठमाडौं । अड्डा अदालतमा भएको बहसपैरवीको सामाजिक सञ्जालमा समेत प्रशारण गर्ने अभ्यासको सुरुवात भएको छ ।
सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ परेका एमाले नेता एवं पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराउँदा अदालत परिसरभित्रै प्रशारण भइरहेको सुनुवाइलाई विभिन्न सञ्चारमाध्यमहरूले ‘रिले’ गरेर प्रत्यक्ष प्रशारण गरेका हुन् ।
यसअघि अदालतको इजलासहरूमा हुने बहसपैरवीलाई अदालत परिसरभित्रै मोनिटर र स्पिकर राखेर प्रशारण गरिन्थ्यो । र, अदालत प्रशासनले त्यसलाई केहीबेर खिच्न दिएपछि प्रत्यक्ष प्रशारण गर्न दिने गरेको थिएन ।
विशेष अदालतले केही महिनादेखि नियमित रूपमा नै आफ्ना दुईवटा इजलासमा हुने सुनुवाइलाई अदालत परिसर भित्रका दुईवटा कक्षमा प्रशारण गर्छ । सुनुवाइको प्रत्यक्ष प्रशारण सुन्न अदालत परिसरमा दुइवटा कक्ष बनाइएको छ ।
त्यहाँसम्म पुग्ने जो कोहीले टेलिभिजनमा बहसपैरवीलाई प्रत्यक्ष रूपमा हेर्न सक्छन् । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको थुनछेक बहस लगायत महत्त्वपूर्ण सुनुवाइमा पटकपटक यस्तो अभ्यास भएको थियो ।
मंगलबार भने विशेष अदालतको इजलास–२ मा भएको बहसपैरवीको विभिन्न सञ्चारमाध्यमहरूमा प्रत्यक्ष प्रशारण भएको हो ।
‘अदालत परिसरमा आउने सेवाग्राही, पत्रकार र कानून व्यवसायीका लागि त केही महिनादेखि नै यो सुविधा थियो,’ विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले अनलाइनखबरसँग भनिन्, ‘आज भने सञ्चारकर्मीहरूले आग्रह गर्नुभयो, हामीले इजलासको अनुमती लिएर प्रत्यक्ष प्रशारणको अनुमती दिएका हौं ।’
आगामी दिनका सुनुवाईहरूमा पनि इजलासको अनुमति आवश्यक पर्ने उनले बताइन् ।
विशेष अदालतका अध्यक्ष हुँदा टेकनारायण कुँवरले अदालत परिसरभित्रै बहसपैरवीको प्रत्यक्ष प्रशारण सुनाउने अभ्यास गरेका थिए । उच्च अदालतको जनकपुरको कामू मुख्य न्यायाधीश भएका उनले त्यहाँ पनि बहसपैरवीको अदालत परिसरभित्रै प्रशारणको अभ्यास सुरु गरेका छन् ।
सर्वोच्च अदालतले पनि महत्वपूर्ण र सार्वजनिक महत्वको बहसपैरवीलाई अदालत परिसरभित्रै प्रत्यक्ष प्रशारण गर्दै आइरहेको छ । प्रतिनिधिसभा विघटन, संवैधानिक पदाधिकारीहरूको नियुक्तिको विवाद लगायतका मुद्दामा अदालत परिसरभित्रै प्रशारण हुने गरेको थियो ।
तर अहिलेसम्म पनि अदालत प्रशासनले परिसरभित्र मोनिटरमा देखाइने दृश्य र आवाजलाई प्रत्यक्ष प्रशारण गर्न दिने गरेको थिएन । मंगलबार भने पौडेललाई पक्राउ अनुमतिका लागि पेश गर्दाको सुनुवाईको प्रत्यक्ष प्रशारण भएको हो ।
प्रधानन्यायाधीश डा. मनोज शर्माले गतमहिना संसदिय सुनुवाईका क्रममा अदालतभित्र हुने बहसपैरवीलाई प्रत्यक्ष प्रशारणमार्फत आम जनमानसमा पुर्याउने प्रतिबद्धता जनाएका थिए । अदालत प्रशासनले सञ्चारकर्मीहरूलाई इजलास बाहिरै व्यवस्थापन गरिएको संयन्त्रमार्फत प्रत्यक्ष प्रशारणको पहुँच दिने गरेको हो ।
प्रतिक्रिया 4