१० असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मंगलबार विभिन्न स्थानबाट एक विदेशी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रहरीको जनसम्पर्क तथा मिडिया समन्वय शाखाका अनुसार धनगढी उपमहानगरपालिका–१६ बाट १ ग्राम ६४० मिलिग्राम खैरो हेरोइनसहित सुरेश बोहरालाई पक्राउ परेका छन् ।
यस्तै वडा नम्बर १७ बाट खैरो हेरोइन ३१० मिलिग्रामसहित २५ वर्षीय सुरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलारी गाउँपालिका–७ हौसलपुरबाट २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित भारतको लखिमपुर खिरी बेलापर्शुवाका ४७ वर्षका हरिचन्द्र कठरिया पक्राउ परेका छन् ।
त्यसैगरी टिकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हिरोइन र ५७० मिलिग्राम चरेशसहित टिकापुर नगरपालिका–२ राजीपुरका ३३ वर्षीय सञ्जय नगार्जीसहित चारलाई प्रहरीले पक्राउ गरेको छ ।
लम्कीचुहा नगरपालिका–४ भल्काबाट २ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय ३१ वर्षका गणेश थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ७ असारमा मात्रै धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट ११ युवालाई लागूऔषध खैरो हिरोइन, चरेश र गाँजासहित पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4