अहिले गर्मीको समय छ । गर्मीबाट राहत पाउनका लागि शरीरलाई शीतल बनाउने खानेकुरा खाने तथा विभिन्न उपाय अपनाउने गरिन्छ ।
प्रायगरी यो मौसममा हल्का वा सजिलै पचाउन सकिने खानाहरू रुचाइन्छ । तर केही मानिसहरू मौसम जस्तै भएपनि आफ्नो रुचिको खानेकुरा खानबाट पछि हट्दैनन् । गर्मी, जाडो, वा वर्षा सबै मौसममा मासु नभइ खाना नरुच्ने व्यक्तिहरू पनि धेरै हुन्छन् ।
स्वास्थ्य विज्ञहरूका अनुसार, गर्मीमा मांसाहारी खाना, विशेष गरी चिकेन र मटन खानबाट सावधान रहनु महत्त्वपूर्ण मानिन्छ । चिकेन र मटनमा प्रोटिन र बोसो बढी हुन्छ, जसलाई पचाउन शरीरलाई बढी प्रयास चाहिन्छ ।
गर्मीको समयमा दिउँसो चिकेन, मटन खानु स्वास्थ्यका हिसाबमा त्यति ठीक नहुने विज्ञहरू बताउँछन् ।
के हुन्छ समस्या ?
१.शरीरको ताप बढ्छ
जब हामी चिकेन वा मटन जस्ता उच्च प्रोटिनयुक्त आहार खान्छौं, शरीरमा ‘थर्मोजेनेसिस’ को प्रक्रिया तीव्र हुन्छ । वास्तवमा, शरीरलाई कार्बोहाइड्रेट वा बोसो भन्दा प्रोटिन तोड्न बढी ऊर्जा चाहिन्छ । यो प्रक्रियाले शरीर भित्र तापक्रम धेरै उत्पन्न हुन्छ ।
दिउँसो चिकेन वा मटन खाँदा शरीरको तापक्रममा अचानक वृद्धि हुन सक्छ, जसले गर्दा अत्यधिक पसिना आउने, बेचैनी हुने समस्या देखिन सक्छ ।
२.पाचनमा समस्या
विज्ञहरूका अनुसार गर्मीको मौसममा दिउँसो मेटाबोलिज्म सुस्त हुन्छ ।
रातो मासु, जस्तै मटनमा पनि ‘स्याचुरेटड फ्याट’ बढी हुन्छ, जुन पचाउन धेरै समय लाग्छ । चर्को घामको समयमा यसलाई खाँदा पेट भारी हुने, एसिडिटी हुने, पेट फुल्ने र अपच हुने समस्या हुन सक्छ ।
३.डिहाइड्रेसन बढ्न सक्छ
चिकेन र मटन पचाउन शरीरलाई धेरै पानी चाहिन्छ । जब मेटाबोलिज्म छिटो हुन्छ र शरीरको ताप बढ्छ, पानीको कमी पनि बढ्छ । त्यसकारण, यदि तपाईंले दिउँसोको खानामा मासु समावेश गर्नुहुन्छ र पर्याप्त पानी पिउनुहुन्न भने, तपाईंलाई डिहाइड्रेसन हुन सक्छ। र चक्कर लाग्ने, कमजोरी र पिसाब संक्रमण जस्ता समस्याहरू बढ्न सक्छन् ।
के गर्ने त ?
यदि तपाईं मासुको पाखरी हुनुहुन्छ भने गर्मीको मौसममा सुत्नु भन्दा कम्तीमा २-३ घण्टा अगाडि बेलुका खानु राम्रो हुन्छ । यो समयमा मासु तयार पार्दा कडा मसला र अतिरिक्त तेल प्रयोग गर्नु हुँदैन ।
दिउँसोको खानामा हल्का ग्रिल गरिएको चिकेन वा चिकेनको सुपसम्म खान सकिन्छ । तर खसीको मासु जस्तो रातो मासु नखानु नै धेरै राम्रो हुन्छ ।
प्रतिक्रिया 4