काठमाडौं । शुक्रबारदेखि हलमा नेपाली भाषाको ‘जाँड’ सहित दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् । राजु शाह निर्देशित ‘जाँड’ सामाजिक कुरीतिविरुद्ध सन्देश दिने कथावस्तुमा बनेको छ । अधिक मद्यमानले ल्याउने सामाजिक र पारिवारिक असरको कथा यसमा छ ।
यो फिल्ममा सान्वी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाललगायतको अभिनय छ । यसलाई पारिवारिक कथावस्तु भनिएको छ ।
हलिउड फिल्म ‘सुपरगर्ल’ पनि प्रदर्शनमा आएको छ । १०८ मिनेट रनटाइमको यो फिल्म डीसी स्टुडियोको सुपरहिरो फिल्म हो, जसको निर्देशन क्रेग गिलेस्पी ले गरेका हुन् ।
यो फिल्म चर्चित कमिक सुपरगर्लः वुमन अफ टुमरो बाट प्रेरित छ । कथामा कारा जोर–एल (सुपरगर्ल) आफ्ना शक्तिशाली काका सुपरम्यानभन्दा फरक र निकै कठोर जीवन अनुभवबाट गुज्रिएकी नायिकाका रूपमा प्रस्तुत हुन्छिन् ।
आफ्नो जन्मदिनको अवसरमा अन्तरिक्ष यात्रामा निस्किएकी काराको भेट रुथी मेरी नोल नामकी किशोरीसँग हुन्छ । रुथीको परिवारलाई निर्दयी अपराधी क्रेम अफ द येलो हिल्स ले हत्या गरेपछि उनी बदला लिन दृढ हुन्छिन् । सुरुमा कारा यस अभियानमा सहभागी हुन चाहँदैनिन्, तर परिस्थितिले उनलाई रुथीको साथ दिन बाध्य बनाउँछ ।
त्यसपछि उनीहरू आकाशगंगाभर फैलिएको जोखिमपूर्ण यात्रामा निस्किन्छन्, जहाँ शक्तिशाली शत्रु, कठिन संघर्ष र नैतिक द्वन्द्वहरूको सामना गर्नुपर्छ । बदलाको खोजीबाट सुरु भएको यो यात्रा अन्ततः न्याय, करुणा, क्षमा र आत्मत्यागको भावनात्मक कथामा परिणत हुन्छ, जसले सुपरगर्ललाई आफ्नै पहिचान र जिम्मेवारीलाई नयाँ दृष्टिकोणबाट बुझ्न मद्दत गर्छ ।
आजैदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘वेलकम टु द जंगल’ लोकप्रिय ‘वेलकम’ शृंखलाको तेस्रो भाग हो, जसको निर्देशन अहमद खानले गरेका छन् । फिल्ममा अक्षय कुमार, सुनील शेट्टी, परेश रावल, अरशद वारसी, रविना टण्डन, लारा दत्ता, ज्याकलिन फर्नान्डिज, दिशा पटानी लगायतका कलाकारको अभिनय छ ।
कथामा प्रहरी अधिकारी जय बक्षी र सन्ध्यालाई कुख्यात अपराधी राज सोलन्की लाई पक्राउ गर्ने विशेष जिम्मेवारी दिइन्छ । उनीहरूको खोजी अभियानले अप्रत्याशित मोड लिन्छ, जब जयले राजसँग आफ्नो जीवन जोडिएको गहिरो रहस्य पत्ता लगाउँछन ।
त्यसपछि विभिन्न पात्रहरू एक जोखिमपूर्ण जंगल अभियानमा फस्छन्, जहाँ अपराधी, पूर्व डन, सैनिक शैलीका मिसन र हास्यास्पद घटनाहरू एकपछि अर्को हुँदै जान्छन् । अराजकता, धमाकेदार एक्सन र हल्का–फुल्का कमेडीले भरिएको यो यात्रामा सबै पात्रहरू बाँच्न, रहस्य सुल्झाउन र आफ्नो उद्देश्य पूरा गर्न एकजुट हुन बाध्य हुन्छन् ।
फिल्मले ‘वेलकम’ शृंखलाको परिचित हास्य शैलीलाई जंगलमा आधारित साहसिक कथासँग मिसाएर मनोरञ्जनपूर्ण अनुभव दिने प्रयास गरेको छ ।
प्रतिक्रिया 4