+
+
Shares

रास्वपा महाधिवेशनले गुल्जार चितवन : ६ दिनमा ५० करोडको कारोबार

मकै पोल्ने साना व्यापारीदेखि अटो चलाउने र ठूलाठूला होटलसम्मले रास्वपा महाधिवेशनमा राम्रो कारोबार गरेका छन् । भरतपुर क्षेत्रका अधिकांश होटल ७ देखि ९ गतेसम्म भरिभराउ थिए ।

लिलु डुम्रे दिनेश गौतम सुवास पण्डित लिलु डुम्रे, दिनेश गौतम, सुवास पण्डित
२०८३ असार १२ गते १७:०३

१२ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनका कारण चितवन गुल्जार बनेको छ । रास्वपा महाधिवेशनकै कारण चितवन तथा आसपासका क्षेत्रमा करिब ५० करोड बढीको कारोबार भएको छ ।

मकै पोल्ने साना व्यापारीदेखि अटो चलाउने र ठूलाठूला होटलसम्मले रास्वपा महाधिवेशनमा राम्रो कारोबार गरेका छन् । भरतपुर क्षेत्रका अधिकांश होटल ७ देखि ९ गतेसम्म भरिभराउ थिए ।

चितवन मात्रै हैन, पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रका होटलहरू पनि भरिए । खाजा-खाना खाने सानातिना रेस्टुरेन्टहरूमा पनि ग्राहकको भिड थियो ।

सौराहा, पटिहानी, मेघौली, कविलास, कालिका नगर क्षेत्रका होटलहरूमा पनि रास्वपाका प्रतिनिधि तथा सर्मथकहरू बसेका थिए ।

असार ७, ८, ९ गते गरी दिनमा सकिने भनिएको महाधिवेशन ३ दिन बढेर असार १२ गतेसम्म चल्यो । जसका कारण रास्वपा र उसका प्रतिनिधिहरूको खर्च बढाएको भए पनि चितवनको आर्थिक क्षेत्रमा भने सकारात्मक प्रभाव पारेको छ ।

रास्वपाको चितवन महाधिवेशन असार ७ गतेबाट भनिए पनि त्यसभन्दा अघिल्लो दिनदेखि नै नेता-कार्यकर्ता, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरू चितवन आएका थिए ।

देशका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट झण्डै ४ हजार २०० जना प्रतिनिधि मात्रै थिए । उनीहरूको साथमा आएका समर्थक, शुभचिन्तक, पर्यवेक्षक र आफन्तहरूको संख्या झण्डै प्रतिनिधि बराबरकै हाराहारीमा रहेको रास्वपाका एक नेताले जानकारी दिए ।

रास्वपा महाधिवेशन आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमले ६ दिन चलेको महाधिवेशनका कारण चितवनमा मात्रै झण्डै ५० करोडको कारोबार भएको बताए ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्षसमेत रहेका गौतमले रास्वपा महाधिवेशनले चितवनको हरेक क्षेत्र चलायमान बनेको बताए ।

‘हरेक होटल, रेस्टुरेन्ट, चिया पसल, अटो, म्याजिक, फलफूल तरकारी, मासु, मदिरा सबै क्षेत्र एकसाथ चल्यो । हरेकले यसको लाभ भएको देख्छु,’ संयोजक गौतमले भने, ‘महाधिवेशन लम्बिँदा पार्टीलाई असर गरे पनि यहाँको हरेक क्षेत्रलाई भने फाइदा भएको छ ।’

रास्वपाको महाधिवेशन बन्द सत्र हल नजिकैका होटल तथा रेस्टुरेन्ट, स्टेसनरी, ठेला व्यापारीले सबैभन्दा राम्रो कारोबार गरेका छन् । ‘असार महिनामा वर्षा र गर्मी हुने भएकोले अन्य वर्षहरूमा चितवनमा खासै कारोबार भएको देखिँदैनथ्यो,’ गौतमले भने, ‘कुनै त्यस्तो ठाँउ छैन जहाँ रास्वपाको महाधिवेशनले कुनै न कुनै रूपमा प्रभाव नपारेको होस् । यसपटक चितवन चलायमान भएको छ ।’

असार ७ गतेबाट महाधिवेशन भने पनि ५-६ गतेदेखि नै रास्वपाका नेता-कार्यकर्ता तथा केही प्रतिनिधिसमेत चितवन आएको उनले बताए ।

उद्घाटनको दिन २० हजार जति बाहिरी जिल्लाबाट मानिसहरू आएको अनुमान रास्वपाले गरेको छ ।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले पनि रास्वपा महाधिवेशनका कारण चितवनका होटलहरूले राम्रो कारोबार गरेको बताए ।

‘अहिले पूरै अफसिजन हो । हामीलाई गाह्रो पर्ने बेला हो,’ अध्यक्ष अर्यालले भने, ‘तर रास्वपाको महाधिवेशनले निकै राम्रो गर्‍यो । हरेक क्षेत्र चलायमान बनायो भन्ने लाग्छ । भरतपुर, नारायणगढ क्षेत्रका सबैजसो होटल भरिभराउ थिए ।’

रास्वपा महाधिवेशन एक दिन लम्बिँदा पार्टीको मात्रै भोजन तथा सामान्य व्यवस्थापनमा झण्डै १ करोड जति खर्च थप भएको रास्वपाका केन्द्रीय सदस्य गौतमले दाबी गरे । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सबै क्षेत्रलाई महाधिवेशनले राम्रो गरेको उनले बताए ।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र वलीले रास्वपा महाधिवेशनले चितवनको आर्थिक इकोसिस्टमलाई राम्रो बनाएको बताए । दूध, मोही, माछा, केरा, च्याउ, कुखुरा, हाँस, तरकारी लगायतका चितवनका प्रमुख उत्पादनको खपत राम्रो भएको वरिष्ठ उपाध्यक्ष वलीले बताए ।

चितवनको पर्यटन क्षेत्रका जानकार तथा प्यासिफिक एसिया ट्राभल एसोसियनस (पाटा) नेपालका कार्यकारी सदस्य हिम्मत पुरीले देशको तेस्रो पर्यटकीय केन्द्र चितवनलाई रास्वपा महाधिवेशनले निकै सकारात्मक प्रभाव पारेको बताए ।

‘असारमा सबैभन्दा कम पर्यटक चितवन आउने र निकुञ्ज घुम्ने गरेका थिए । तर यसपटक असारको मध्य हुँदा पनि आन्तरिक पर्यटकको संख्या उल्लेख्य देखिन्छ,’ पुरी भन्छन्, ‘रास्वपा महाधिवेशनको जबरजस्त प्रभाव परेको छ । महाधिवेशन सकिएपछि शनिबार र आइतबार पनि कतिपयले आफ्ना परिवारका सदस्यलाई समेत बोलाएर घुमाउन खोजेको बुझेको छु ।’

उनले यसपटक महाधिवेशनमा बसेर घुमेर गएको व्यक्ति अर्को पटक परिवार वा आफन्त लिएर चितवन घुम्न आउने बताए ।

भरतपुर मात्रै होइन, सौराहा क्षेत्रका होटल तथा रेस्टुरेन्टहरूलाई पनि रास्वपा महाधिवेशनले राम्रो गरेको छ । क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनालले तीन दिनसम्म सौराहा क्षेत्रमा महाधिवेशनले होटल तथा रेस्टुरेन्टलाई फाइदा गरेको बताए ।

२०७८ सालमा भएको एमालेको १०औँ महाधिवेशनपछि चितवनमा ठूलो इभेन्ट रास्वपाको महाधिवेशन हो । जिल्लामा साना-ठूला सभा सम्मेलन भने भइरहन्छन् ।

अटो चलाउनेदेखि मकै पोल्नेसम्म खुसी

रास्वपा महाधिवेशनस्थल नजिकै विगत २३ वर्षदेखि गीता स्टेसनरी चलाउँदै आएकी कल्पना चालिसेले महाधिवेशनले निकै राम्रो गरेको बताइन् । पहिले दैनिक २५ हजार जति दैनिक कारोबार भएकोमा महाधिवेशनका क्रममा ५० हजारसम्म कारोबार भएको कल्पनाको भनाइ छ ।

‘एक दिन त राति १ बजेसम्म पनि सुतिएन । मनोनयन दर्ताको फाराम लिन आउनेको भिड थियो,’ कल्पना भन्छिन्, ‘अरू दिन पनि १० बजेसम्म बसेर काम गरियो, व्यापार राम्रो भयो ।’

रास्वपा महाधिवेशनमा अटो चलाउनेहरूलाई पनि धेरै फाइदा भएको छ । महाधिवेशनस्थलदेखि होटलसम्म जान-आउन यिनै अटोले सहायता गरेका थिए । एक जनाको दुरी हेरेर न्यूनत्तम ५०, १०० देखि १ हजारसम्म लिने गरेको अटो चालकहरू बताउँछन् ।

भरतपुर-५ का अटो चालक केशव लम्सालले पहिले दैनिक १ हजारदेखि १५ सयसम्म कमाउने गरेको तर महाधिवेशन सुरु भएपछि दैनिक ३ हजारदेखि ४ हजारसम्म कमाएको सुनाए । विगत ९ वर्षदेखि अटो चलाएका लम्सालले भरतपुरबाट सौराहासम्म पनि रास्वपाका प्रतिनिधिलाई अटोमा हालेर पुर्‍याएको बताए ।

‘मलाई मात्रै हैन, सबै अटो चालकलाई राम्रो भएको छ । सबैले कमाइ गरेका छन्,’ लम्साल भन्छन्, ‘अटो त यहाँ राउन्ड गरेर कुदेको कुद्यै छन् ।’ कतिपय आर्थिक रूपमा कमजोर र पैसा छैन भन्नेलाई नि:शुल्क सेवा पनि गरेको लम्सालले बताए ।

सर्लाहीकी कानुदेखि महतोले महाधिवेशन स्थलमा तीन दिनसम्म ठेलामा मकै बेचिन् । पहिले दैनिक २० घोगा मकै बेच्ने गरेकी उनले महाधिवेशनस्थल सुरु भएपछि दैनिक २०० घोगासम्म बेचेको सुनाइन् । महाधिवेशनस्थल अगाडि कानुदेवी जस्तै ४-५ वटा ठेला लगाएर मकै बेच्नेहरू थिए ।

रास्वपाको महाधिवेशनस्थल नजिकै उखुको जुस बनाएर बेच्नेहरू पनि थिए । श्रीमतीसहित ठेलामा मेसिन राखेर उखुको जुस बेचेका महोत्तरीका नथुनी साहले पहिले दैनिक १ हजारदेखि १५ सयसम्मको जुस बेचेकोमा महाधिवेशन सुरु भएपछि ३ हजारदेखि ३५ सयसम्मको जुस बेचेको बताए ।

रास्वपाले महाधिवेशनस्थलमा बिहान र बेलुकाको खाना प्रतिनिधिहरूलाई व्यवस्थापन गरेको थियो । तर उनीहरूसँग आएका पार्टीका अन्य व्यक्तिहरूले भने वरपरका होटलमा नै खाना खाए । केन्द्रीय सदस्यको उम्मेदवार बन्नेहरूले कतिपय कार्यकर्तालाई आफ्नै खर्चमा होटलमा राख्ने र खुवाउने गरेकोसमेत पाइयो ।

महाधिवेशनस्थल नजिकै दूरसञ्चार रोडमा अन्नपूर्ण खाजा घर चलाएका कृष्ण सुवेदीले महाधिवेशनको ५ दिन खाना खुबाएरै नभ्याएको सुनाए ।

दैनिक ४० हजार माथिको व्यापार गरेको बताउँदै उनले भने, ‘पहिले जम्मा १०-१२ जनालाई दैनिक खाना खुवाउँथे । महाधिवेशन सुरु भएपछि भ्याइनभ्याइ भयो । दैनिक १०० जना जतिलाई खाना खुवाएँ होला । चिसो, चिया, चुरोट, रक्सीको त अलग हिसाब भयो ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?