मुम्बई । ऐतिहासिक सफलता हासिल गरेका दक्षिण भारतीय फिल्महरू ‘बाहुबली’ र ‘बाहुबली २ः द कन्क्लुजन’ पछि ‘बाहुबली ३’ बन्ने सम्भावनाबारे फेरि चर्चा सुरु भएको छ ।
हालै नेटफ्लिक्समा सार्वजनिक भएको डकुमेन्ट्री ‘बाहुबलीः द टर्चबेयरर’ मा अभिनेता प्रभास र राणा दग्गुबातीले दिएका अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा नयाँ अड्कलबाजी सुरु भएको हो । यद्यपि, फिल्म निर्माणबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।
सन् २०१५ मा प्रदर्शन भएको ‘बाहुबली’ र त्यसको सिक्वेल ‘बाहुबली २ः द कन्क्लुजन’ ले भारतीय सिनेमालाई विश्वव्यापी पहिचान दिलाएको मानिन्छ ।
एसएस राजामौलीको निर्देशनमा बनेका यी दुवै फिल्मले बक्स अफिसमा पनि ऐतिहासिक सफलता हासिल गरेका थिए । पहिलो फिल्मले भारतमा ४२१.०० करोड भारतीय रुपैयाँ नेट कमाइ गर्दै विश्वभर ६५०.०० करोड भारतीय रुपैयाँ ग्रस कमाइ गरेको थियो ।
त्यसपछि सन् २०१७ मा आएको ‘बाहुबली २’ ले विश्वभर १,७८८ करोड भारतीय रुपैयाँ ग्रस कमाइ र भारतमा १,०३० करोड भारतीय रुपैयाँ नेट कमाइ गर्दै भारतीय सिनेमामा पहिलो पटक १,००० करोड क्लबको सुरुआत गरेको थियो ।
नेटफ्लिक्समा सार्वजनिक डकुमेन्ट्रीमा प्रभास, राणा दग्गुबाती र अनुष्का शेट्टीले फिल्म निर्माणको अनुभव सुनाइरहेका बेला राणा दग्गुबातीले सम्भावित ‘बाहुबली ३’ तर्फ संकेत गरेका छन् ।
उनले भने, ‘मलाई थाहा छैन, यो कुरा सबैका अगाडि भन्नु उचित हो कि होइन । तर राजामौली र शोबु गारु (निर्माता) यहाँ नभएकाले मनमा लागेको कुरा भन्छु । सायद संसार अहिले यसको लागि तयार छैन, तर ‘बाहुबली’को यात्रा अगाडि बढ्नेछ ।’
राणाको यो भनाइपछि प्रभास र अनुष्का शेट्टी हाँस्न थालेका थिए । त्यसपछि प्रभासले तीन औंला देखाएको दृश्य पनि डकुमेन्ट्रीमा देखिन्छ । यही दृश्यलाई आधार बनाएर धेरै प्रशंसकले ‘बाहुबली ३’ बन्ने संकेतका रूपमा व्याख्या गरेका छन् । डकुमेन्ट्रीको अन्तिम भागमा प्रभासले ‘यो विरासत निरन्तर अगाडि बढिरहनेछ’ भनेपछि पनि यस्ता अनुमानलाई थप बल पुगेको छ ।
आधिकारिक अवस्था के छ ?
राणा दग्गुबाती र प्रभासको अभिव्यक्तिपछि ‘बाहुबली ३’ सम्बन्धी चर्चा चुलिए पनि निर्देशक एसएस राजामौली वा निर्माता शोबु यार्लागड्डाले अहिलेसम्म नयाँ फिल्म निर्माणबारे कुनै आधिकारिक घोषणा गरेका छैनन् ।
यद्यपि, सन् २०२५ मा ‘बाहुबलीः क्राउन अफ ब्लड’ एनिमेटेड सिरिज सार्वजनिक हुँदा राजामौलीले माहिष्मती साम्राज्यको कथा आगामी वर्षमा विभिन्न माध्यमबाट विस्तार हुने बताएका थिए ।
उनले भनेका थिए, ‘हलिउडमा कुनै फिल्म ब्रान्ड बनेपछि त्यो मल्टिमिडिया फ्रेन्चाइजमा रूपान्तरण हुन्छ । हामीले ‘बाहुबली’का लागि गेम, भीआर फिल्म र सिरिज बनाउने प्रयास गरिसकेका छौं । ‘बाहुबली’ केवल एनिमेटेड सिरिजमा मात्र सीमित रहने छैन । यसको कथा अन्य धेरै माध्यमबाट पनि अगाडि बढ्नेछ ।’
त्यस्तै, ‘बाहुबली’ र ‘बाहुबली २’ लाई समेटेर तयार गरिएको ‘बाहुबलीः द एपिक’ रिलिजका क्रममा निर्माता शोबु यार्लागड्डाले पनि अघिल्लो फिल्मको कथा र विरासतलाई भविष्यमा निरन्तरता दिने संकेत दिएका थिए । तर त्यो एनिमेसन, नयाँ फिल्म वा अन्य कुनै माध्यमबाट हुनेछ भन्नेबारे उनले कुनै विवरण दिएका थिएनन् ।
हाल ‘बाहुबली ३’ निर्माणबारे निर्देशक एसएस राजामौली वा निर्माता शोबु यार्लागड्डाबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा नभएकाले ‘बाहुबली ३’ निर्माणको विषय पुष्टि भएको मान्न सकिँदैन ।
प्रतिक्रिया 4