News Summary
Generated by OK AI. Editorially reviewed.- आज 'जलवायुमैत्री प्रविधि, धानबालीमा आत्मनिर्भरता र समृद्धि' भन्ने मूल नाराका साथ २३औँ राष्ट्रिय धान दिवस देशभर मनाइँदै छ।
- कृषिमा जलवायुजन्य असर न्यूनीकरण गर्न सुक्खा वा डुबान सहन सक्ने धानका उन्नत जातहरूको प्रयोग गर्नु अपरिहार्य देखिएको छ।
- धान उत्पादन बढाउन तथा खाद्य सुरक्षा सुनिश्चित गर्न जलवायुमैत्री प्रविधि र आधुनिक यान्त्रीकरणको अवलम्बन गर्नु नै आजको मुख्य आवश्यकता हो।
धानबाली हाम्रो नेपाली समाजमा एक अन्नबाली मात्र नभई परम्परा, संस्कृति तथा हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको छ। जन्ममा न्वारनको रातो टीका होस् या आशीर्वादको रातो अक्षता, अन्नप्राशन होस् या मृत्युशय्यामा सेतो चामल- यो हाम्रो खाद्य व्यवहार मात्र होइन। हामी जीवनदेखि मरणपर्यन्त धानसँग कतै न कतै जोडिएका छौँ।
आज असार १५, मानो रोपेर मुरी फलाउने दिन। दहीचिउरा खाँदै, बेँसीका खेतहरूमा असारे गीतहरू गाउँदै माटोमा बीउसँगै पसिना रोप्ने दिन। आज दिनभर विभिन्न कार्यक्रम गर्दै ‘जलवायुमैत्री प्रविधि, धानबालीमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ २३औँ राष्ट्रिय धान दिवस मनाइँदै छ।
प्रत्येक वर्ष लाखौँ मेट्रिक टनको आयात र अर्बौँ रुपैयाँको कारोबारका बिच यस वर्ष तय गरिएको धान दिवसको नाराले आफैँमा हालको खेतीमा हाम्रो चुनौती, त्यसको समाधान, भावी कार्यदिशा र लक्ष्य सबै समेटेको देखिन्छ।
हाल नेपालको कृषि मुख्यतः जलवायुजन्य समस्याबाट ग्रसित छ। मौसम विभागले यसअघि नै यस वर्ष सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिसकेको छ। अघिल्ला वर्षहरूमा पनि सुक्खा मौसमका कारण ठुलो नोक्सानी व्यहोर्नुपरेको कुरा सर्वविदितै छ। हाल नेपाल जलवायुजन्य समस्याबाट निरन्तर गुज्रिरहेको अवस्थामा यस वर्षको धान दिवसले ‘जलवायुमैत्री खेती प्रविधिको उपाय’ अगाडि सार्नु अत्यन्तै सापेक्ष देखिन्छ।
खडेरी, डुबान, खण्डवृष्टि, अतिवृष्टि तथा बढ्दो जलवायुजन्य रोगकिराको प्रकोपले हामीलाई ग्रसित गरेको छ र यसको समाधान जलवायुमैत्री खेतीमै लुकेको छ। सुक्खा सहन सक्ने धानका जातहरू (सुक्खा-३, सुक्खा-५, सुक्खा-६ आदि) प्रयोग गर्ने, डुबान सम्भावित ठाउँमा डुबान सहन सक्ने जातहरू (स्वर्णा सब-१, सावाँ मन्सुली सब-१, गङ्गासागर आदि) को प्रयोगलाई प्रोत्साहन गर्ने र रोगकिरा प्रतिरोधी उन्नत जातहरूको प्रयोग गर्ने जस्ता सामान्य व्यावहारिक परिवर्तन गर्न सके धेरै हदसम्म जलवायुजन्य असरहरू न्यूनीकरण गर्न सकिन्छ।
यसका अलावा छरुवा विधिबाट उत्पादन (डीएसआर), सघन धान खेती प्रविधि (एसआरआई), खेतलाई भिजाउने र सुकाउने विधि (अल्टरनेटिभ वेटिङ एण्ड ड्राइङ) लगायत हाल पूर्वी तराईमा प्रचलनमा आइसकेको ‘ट्रे’ मा बीउ राखी मेसिनको सहायताले धान रोप्ने प्रविधि (राईस ट्रान्सप्लान्टर) जलवायुमैत्री धान खेतीका राम्रा अभ्यास हुन्।
मेसिनको सहायताले धान रोप्ने प्रविधिको प्रयोगले छरुवा विधि वा सघन धान खेती झैँ जलवायुमैत्री धान खेतीसँग सिधा सम्बन्ध नदेखिए पनि नर्सरीमा बिरुवा हुर्काउने, कम बीउदर लाग्ने, कलिलो बिरुवा रोपिने आदि जस्ता अभ्यासले यो यान्त्रीकरण मात्र नभई समयसापेक्ष जलवायुमैत्री अभ्यासको रूपमा उदाउँदो छ।
जलवायुमैत्री धान खेतीको अभ्यासले विकराल बन्दै गएको समस्यामा मलम लगाई बढ्दो धानको आयात घटाउन र उत्पादन बढाउन सकारात्मक भूमिका खेल्नेछ भन्नेमा हामी प्राविधिकहरू आशावादी छौँ। उत्पादन बढाउँदै आत्मनिर्भरतातर्फ लैजाने र दिगो खाद्य सुरक्षामा टेवा पुर्याउने बाटो अब जलवायुमैत्री धान खेती हुँदै तय गर्नुपर्ने आजको आवश्यकता बनेको छ।
अतः आत्मनिर्भरता हुँदै समृद्धिको बाटो तय गर्न तथा समग्र देशको सम्भावित खाद्य सङ्कट टार्ने मुख्य चाबी नै जलवायुमैत्री प्रविधि अपनाउनुमा छ।
(सुवेदी कृषि ज्ञान केन्द्र, झापाका बागवानी विकास अधिकृत हुन् ।)
प्रतिक्रिया 4