+
+
Shares

तेलमा साङ्लो भेटिएपछि न्युरोडको कर्नर पोइन्टलाई २ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते २०:०४

१९ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गम्भीर लापरबाही गर्ने विभिन्न फर्महरूलाई जरिबानासहित कारबाही गरेको छ।

विभागले शुक्रबार गरेको अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने र नियम पालना नगर्ने ४ वटा फर्महरूलाई कुल ४ लाख २६ हजार रुपैयाँ जरिबाना तिराएको हो।

विभागका अनुसार काठमाडौंको न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई सबैभन्दा धेरै २ लाख १ हजार रुपैयाँ जरिबाना तिराइएको छ । उक्त रेस्टुरेन्टमा पिज्जाका लागि प्रयोग गरिने तेलमा साङ्लो भेटिएको र म्याद नाघेका ‘साल्सा सस’ तथा ‘फ्रुट सिरप’ प्रयोग भएको पाइएको थियो ।

त्यस्तै, कीर्तिपुरको चोभारस्थित ओरिजिन भेन्चर्स ग्रुप प्रालिलाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ । उक्त फर्मले म्याद नाघेका सेन्चुरी सेकुवा मसला, लेमन आइस टी र लेभल नभएका पाउरोटीहरू बिक्रीका लागि राखेको भेटिएको थियो । विभागले ती सामानहरू जफत गरी नष्ट समेत गरेको छ।

अनुगमनकै क्रममा खरिद बिल नराखेको पाइएपछि टेकुस्थित इन्द्रेणी पेन्ट्स एन्ड हार्डवेयरलाई २० हजार रुपैयाँ र नयाँ बानेश्वरको पोखरेली लुम्बिनी तन्दुरी भोजनालय लाई ५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

शुक्रबार जम्मा १२ वटा उद्योग तथा फर्महरूमा अनुगमन गरिएको थियो । जरिबाना बाहेक विभागले मध्यपुर थिमीको एकेआर फुड्स र ललितपुरको सानेपास्थित म्याट्रिक्स प्रालिलाई व्यवसाय दर्ता प्रमाणपत्र, प्यान र खरिद – बिक्री बिलसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अनुगमनका क्रममा कैफियत कम देखिएका अन्य ६ वटा फर्महरूलाई भने सुधारका लागि सामान्य निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?