२० असार, काठमाडौं । रुसको प्रमुख सहरमध्येको एक पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा युक्रेनले भीषण हमला गरेको छ । शुक्रबार राति उक्त हमला सफल भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् ।
उनले रुसलाई युद्धका लागि राजस्व उत्पादन गर्ने एक प्रमुख आधारभूत ढाँचामा आफ्नो सेनाले सफल हमला गरेको दाबी गरेका छन् । यस्तै, उनले त्यसका साथै रुसको एक प्रमुख जलसैनिकको अड्डामा पनि हमला गरेको दाबी गरेका छन् ।
उता रुसी सहर सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जेन्डर बेग्लोभले आफ्नो सहरमा भीषण ड्रोन हमला भएको पुष्टि गरेका छन् । उनले उक्त हमलाबाट तेल टर्मिनलमा क्षति पुगेको पनि बताएका छन् ।
यद्यपि, मानवीय क्षति के कति भयो भन्नेबारे भने उनले खुलाएका छैनन् ।
युक्रेनले पछिल्लो समय रुसका महत्वपूर्ण ऊर्जा पूर्वाधारमा लामो दूरीका ड्रोन हमलालाई तीव्र पारेको छ । जसले रुसमा ठूलो मात्रामा ऊर्जाको कमी उत्पन्न भएका समाचार आइरहेका छन् ।
युक्रेनको दाबीअनुसार उसले रुसको ४३ प्रतिशथ तेल रिफाइनरी क्षमतालाई ध्वस्त पारिदिएको छ । युक्रेनको उक्त दाबीको हालसम्म कुनै स्वतन्त्र पुष्टि भने भएको छैन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता युक्रेनको हमलाका कारण इन्धनको कमी आएको कुरा स्वीकारेका थिए ।
प्रतिक्रिया 4