२२ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले नेपालको फुटबलमाथि फिफाको निलम्बनबारे सरकारको ध्यानाकर्षण गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेपालको फुटबलमाथि लागेको फिफाको निलम्बन केवल खेलकुदको विषय होइन, यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो।’
फिफा र एफसीले पटक–पटक निर्वाचन प्रक्रिया अघि बढाउन, तेस्रो पक्षको हस्तक्षेप नगर्न र अन्यथा नेपालमाथि प्रतिबन्ध लाग्न सक्ने स्पष्ट चेतावनी दिएको स्मरण गर्दै उनले भने, ‘सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएन । राष्ट्रिय खेलकुद परिषद्बाट निर्वाचन रोक्ने, एन्फालाई निलम्बन गर्ने र आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने काम भयो।’
यस निर्णयले हजारौँ खेलाडी, प्रशिक्षक, रेफ्री र नेपाली फुटबलप्रेमीको सपना प्रभावित भएको भन्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता समेत अन्योलमा परेको बताए । यसले राष्ट्रको प्रतिष्ठामा गम्भीर धक्का पुगेको भनेर सरकारको ध्यानाकर्षण गरे ।
उनले भने, ‘सरकारसँग मेरो स्पष्ट माग छ, तत्काल कूटनीतिक र संस्थागत पहलमार्फत फिफासँग विश्वास पुनर्स्थापित गरी नेपालमाथिको प्रतिबन्ध शीघ्र फुकुवा गरियोस्। । खेलकुद संस्थाको स्वायत्तताको सम्मान गर्दै यस्ता हस्तक्षेप फेरि नदोहोरिने सुनिश्चित गरियोस्।’
प्रतिक्रिया 4