२२ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै कार्यालय खडा गरेर छलफल सुरु गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरेका छन् ।
उनीहरूले उक्त कार्यालयलाई पार्टीको १५औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय भनेका छन् । सोही कार्यालयमा नेताहरूको छलफल जारी छ ।
आज यो समूहले १४औं महाधिवेशनबाट निर्वाचित आफू पक्षीय केन्द्रीय समितिका नेताहरूलाई बैठकमा बोलाएको हो ।
छलफलमा खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह, एनपी साउद, प्रकाशशरण महतगायत नेताहरू सहभागी छन् ।

सचिवालयका अनुसार बैठकमा काठमाडौंमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरू बोलाइएको थियो ।
गत शुक्रबार निवर्तमान कार्यबाहक सभापति खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो ।
बैठकपछि नेता मीन विश्वकर्माले सोमबार चुनदवीमा सम्पर्क कार्यालय सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिएका थिए ।
नेताहरूले सातै प्रदेशको भेला सकिएको र अब राष्ट्रिय भेलाको तयारी गरिएको बताएका छन् । आजको बैठकले राष्ट्रिय भेलाको मिति तोक्ने तयारी छ ।
प्रतिक्रिया 4