२३ असार, काठमाडौं । झन्डै ६ महिना लामो नेपाली कांग्रेसको आन्तरिक विवाद पछिल्लो समय निर्णायक मोडमा पुगेको देखिएको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार बसेको इतर समूहको बैठकमा नेताहरूले पार्टी एकता नभए वैकल्पिक संगठन निर्माणमा जानुपर्ने अभिव्यक्ति दिएका छन् ।
मंगलबारको बैठकले ६ साउनमा बीपी स्मृति दिवस भव्य रूपमा मनाउने निर्णय गरे पनि नेताहरूले पार्टीको भविष्य, संस्थापन पक्षसँगको वार्ता र अबको राजनीतिक रणनीतिलाई नै छलफलको केन्द्रमा राखेका छन् ।
दोस्रो दिनको बैठकमा बोल्ने नेताहरूको अभिव्यक्तिले संस्थापत इतर समूह दबाबको राजनीतिमात्रै नभएर निर्णयको राजनीतितर्फ अघि बढ्न खोजिरहेको संकेत गरेको छ ।
बैठकमा बोल्ने अधिकांश नेताले सभापति गगन थापाले पार्टी एकताका लागि आवश्यक पहल नगरेको आरोप लगाएका छन् । पार्टी एकताका लागि अब धेरै समयसम्म सभापति थापालाई पर्खिने अवस्था नरहेको उनीहरूको भनाइ छ ।
‘एकता पहिलो रोजाइ, तर अन्तिम विकल्प होइन’
बैठकपछि नेता मीन विश्वकर्माले पार्टी एकताकै पक्षमा आफूहरू रहेको स्पष्ट पार्दै त्यसका लागि साझा निर्णय आवश्यक रहेको बताए ।
तर, उनले एकता असम्भव बने लोकतान्त्रिक आन्दोलनको विरासत जोगाउन वैकल्पिक संगठन निर्माणका लागि पछि हट्न नहुने बताए ।
‘एकता हुन सकेन भने नेपालको लोकतान्त्रिक आन्दोलनमा आजसम्म जति पनि हाम्रा श्रद्धेय नेताहरूले योगदान पुर्याउनुभएको छ, त्यसलाई इतिहासमा नमेटिने गरी, फेरि यसलाई निरन्तर लिएर जानका लागि अब हामीले पनि पाइला सार्नुपर्छ,’ बैठकपछि उनले भने, ‘त्यो साहस गर्नुपर्छ ।’
नेता विश्वकर्माले बैठकमा धारणा राखेका अधिकांश नेताहरूको अभिव्यक्ति पनि यही दिशामा केन्द्रित रहेको जानकारी दिए ।
‘वैकल्पिक शक्ति निर्माण गर्नुपरेमा अर्थात संगठन नै निर्माण गर्नु परेमा पनि हामी हच्किनु हुँदैन,’ उनले भने, ‘धेरै आशंकाहरू गर्नु हुँदैन । अगाडि जानुपर्छ भन्ने कुराहरू अधिकांश वक्ता साथीहरूले राख्नुभएको छ ।’
मंगलबारको बैठकमा बोलेका नेताहरू सबैले पार्टी एकताको चिन्ता गरेको नेता विश्वकर्माको भनाइ थियो ।
‘पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ, एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ,’ उनले भने, ‘र राष्ट्रिय– अन्तर्राष्ट्रिय परिस्थितिलाई जोडेर आज बोल्ने क्रममा वक्ताहरू सबैले नै पार्टी एकताको चिन्ता पनि गर्नुभएको छ ।’
शशांकको आशा, अरू नेताको निराशा
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी विभाजनको मुखमा रहेको बताए । ‘पार्टी विभाजनको मुखमा छ । हामी एकता चाहन्छौं,’ उनले अनलाइनखबरसँग भने, ‘हाम्रो प्रयास नै रहन्छ पार्टी एक होस । टुट्यो भने कमजोर भएर जान्छ ।’
अझै पनि कांग्रेस एक रहने सम्भावना रहेको नेता कोइरालाको भनाइ थियो । उनले दुवै पक्ष संवादमा बस्नुपर्ने र पार्टी एक बनाउने कि अलग बाटो रोज्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक रहेको धारणा राखे ।
‘म त पार्टी एक हुने सम्भवना देख्छु । तर, दुवै पक्ष संवादमा जानु पर्छ,’ नेता कोइरालाले भने, ‘पार्टी एक गर्ने कि नगर्ने ? छुट्टाछुट्टै हुन्छौं भने त्यहीअनुसार जानु पर्यो । पहिले स्पस्ट हुनु पर्यो ।’
संस्थापन पक्षले पार्टी एक बनाउन नचाहे आफूहरूले केही गर्न नसक्ने पनि नेता कोइरालाले बताए । ‘पार्टी एकताका लागि गगनजीको मनसाय छ कि छैन ?,’ उनले भने, ‘उहाँ एक्लै जान चाहनु हुन्छ भने हामी केही गर्न सक्दैनौं ।’
पूर्वमहामन्त्री कोइरालाले अझै पनि कांग्रेस एक रहने सम्भावना रहेको प्रतिक्रिया दिए पनि अन्य नेताहरू भने त्यति आशावादी देखिँदैनन् । बैठकबाट बाहिरिने क्रममा पूर्वकेन्द्रीय सदस्य श्याम घिमिरेले संस्थापन पक्षले पहल नगरेकाले एकताको सम्भावना दिनप्रतिदिन कमजोर बन्दै गएको बताए ।
‘विस्तारै कांग्रेस एक रहने सम्भावना कमजोर हुँदै गएको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘किन भने एकताको पहल कदमी संस्थापन पक्षले गर्नुपर्ने हो ।’
उनका अनुसार १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई समायोजन गर्ने र क्रियाशील सदस्यताको अद्यावधिक विवाद समाधान गर्नेबाहेक अन्य विषयमा लगभग सहमति भइसकेको छ ।
संस्थापन इतरका माग स्वीकार नगर्नु संस्थापन पक्षको अनिच्छा भएको नेता घिमिरेको आरोप थियो । ‘यो दुईवटा कुरा उहाँहरूलाई स्वीकार गर्न कुनै अप्ठ्यारो विषय होइन,’ उनले भने, ‘तर, उहाँहरू कुनै दबाबमा हुनुहुन्छ जस्तो लाग्छ । उहाँहरूले यो कुरालाई स्वीकार गर्न सक्नु भएन ।’
‘अब सानेपाको माया छोड्नुस्’
बैठकमा सुदूरपश्चिम सभापतिका नेता वीरबहादुर बलायर र पूर्व केन्द्रीय सदस्य शिव हुमागाईंले सबैभन्दा आक्रामक अभिव्यक्ति दिएका छन् । बलायरले अब चुप लागेर बस्ने अवस्था सकिएको भन्दै कार्यक्रम घोषणा गरेर अघि बढ्न नेतृत्वलाई आग्रह गरे ।
उनले शीर्ष नेताहरूलाई ‘खुट्टा टेक्न’ आग्रह पनि गरे । सभापति थापाले ‘अद्यावधिक नगरेका नेता–कार्यकर्ताहरूलाई महाधिवेशनमा सहभागी नगराउने भनिसकेको अवस्थामा इतर समूह अब अगाडि बढ्नुपर्नेमा जोड दिए ।
केही दिनअघि झापाको एक कार्यक्रममा सभापति थापाले सदस्यता अद्यावधिक नगरेका नेतालाई पार्टीको सदस्यका रूपमा नचिन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तितर्फ इंगित गर्दै प्रदेश सभापति बलायरले भने, ‘अद्यावधिक बाहेक नो भनिसकेपछि के भनेर रोक्ने ?’
उनले संस्थापन पक्षलाई इतर समूहले चुप बसेर दिएको मौकालाई कमजोरी नठान्न चेतावनीसमेत दिए । बलायरले भने, ‘हामी थन्किएका छौं, चुप छौं । व्यवहारमुखी छौं । मौका दिएका छौं । यसलाई कमजोरी नठानियोस् ।’
इतर समूहले चुनदेवीमा सम्पर्क कार्यालय खोलेपछि कार्यकर्ताहरूबाट ‘खुट्टा टेक्न’ भन्दै फोन आइरहेको उनले बैठकमा सुनाए । ‘यहाँ लड्डु खाएपछि कम्तीमा खुट्टा टेक्नुभयो, बेइज्जतीपूर्ण अवस्थामा थियौं, अब पछि नहट्नुहोला भनेर फोन आइरहेका छन्,’ बलायरले भने, ‘अब बाटो लियौं, गति लिन्छौं । रुख अस्ति हेरेकै हो, के भयो ? अब पनि रुख भनेर माया मारेर बस्न जरुरी छैन ।’
शीर्ष नेताहरूलाई इतिहास भनेर नझुक्न पनि प्रदेश सभापति बलायरले चेतावनी दिए । ‘इतिहासमा के हुने हो ? सन्यास लिनुस्, चन्दन लगाउनुस् । होइन भने हामीले सम्मान गरेकै छौं, न झुक्नु होला,’ उनले भने ।
बलायरले विशेष महाधिवेशनको नाममा शीर्ष नेताहरूको स्वाभिमानमाथि चोट पुर्याइएको पनि बताए । ‘अब जे गर्ने हो, गर्ने । हिजो पनि गरेका हौं । तपाईंहरूको स्वाभीमानमाथि चोट लगाइएको छ,’ उनले भने, ‘तपाईंहरूको बेइज्जत गरिएको छ । त्यसले हाम्रो मन दुखेको छ । त्यसकारण हामी तपाईंका पछि हौं । तपाईंको साथमा छौं ।’
अब सानेपा नसम्झेर सानेपाको अस्तित्व आफूसँग छ भन्ने सम्झेर अघि बढ्न उनले नेताहरूसँग आग्रह गरे । ‘सानेपा नसम्झिनुस्,’ उनले इतर समूहका शीर्ष नेताहरूलाई भने, ‘सानेपाको अस्तित्व आफूसँग छ सम्झिनुस् ।’
नेता हुमागाईंले अझै एक कदम अघि बढ्दै नेताहरूलाई सानेपाको माया मार्न आग्रह गरे ।
‘तपाईं नेताहरू सानेपाको माया गरिरहनु भएको छ । तर, सानेपाले तपाईंहरूलाई माया गर्दैन,’ उनले भने, ‘सानेपा साइनो टुटेको आत्मा हो । टुटेको आत्माबाट न सम्मान प्राप्त गर्नु हुन्छ, न माया प्राप्त गर्नु हुन्छ ।’
हुमागाईंले ६ साउनमा राष्ट्रिय भेला घोषणा गर्नुपर्ने प्रस्ताव राख्दै कार्यकर्तामा ऊर्जा अझै बाँकी रहेको दाबी गरे । ‘६ साउनमा राष्ट्रिय भेला घोषणा गरेर यो हलबाट निस्कौं,’ उनले भने, ‘यसले नयाँ सञ्चार ल्याउँछ । हामीमा ऊर्जा मरेको छैन । हामी एक पटक फेरि देशभर मकै भटमास, आधा पेट गएर हाम्रा विचार कार्यकर्ता माझमा लैजान सक्छौं ।’

साउनभित्रै निर्णयको दबाब
नेता मोहनबहादुर बस्नेतले बैठकमा १५ साउनभित्र राष्ट्रिय भेला गरेर अन्तिम निर्णय लिनुपर्ने प्रस्ताव अघि सारे । एकताका लागि निश्चित समयसीमा तोकिनुपर्ने उनको भनाइ थियो ।
तोकिएको समय सीमाभित्र सहमति नभए महाधिवेशनको मिति घोषणा गरेर नयाँ अभियान सुरू गर्नुपर्नेमा बस्नेतको जोड थियो ।
‘१५ साउनभित्र राष्ट्रिय भेला गर्नु पर्छ । साउन महिनाभित्र अन्तिम निर्णय गर्नु पर्छ । यो मेरो प्रस्ताव हो,’ उनले भने, ‘खुट्टा कमाउने काम नेतृत्वले गर्नु हुन्न । एकताका लागि डेट तोकेर लागौं । हुँदैन भने महाधिवेशनको डेट तोकौं ।’
पूर्वकेन्द्रीय सदस्य किरण शर्मा पौडेलले पनि नेतृत्व अब अलमलमा बस्न नहुने भन्दै कार्ययोजनासहित अघि बढ्न आग्रह गरे । भदौभित्र महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
‘अगाडि बढ्ने विषयमा ‘कन्फ्युज’ हुन आवश्यक छैन,’ नेता पौडेलले भने, ‘भदौ अन्तिमको कार्यतालिका ल्याएर महाधिवेशन गर्न तिर लागौं । अर्को विकल्प छैन ।’
पौडेलले शीर्ष नेताहरूलाई आपसी सहमति गरेर अबको नेतृत्व लिने व्यक्ति टुंग्याउन पनि आग्रह गरे । नेतृत्व लिन नसक्ने अवस्था भए युवालाई अघि बढाउन उनले माग गरे ।
‘तपाईं मध्ये को हो निर्णय गर्नुस् । कार्ययोजनासहित अघि बढ्नुस्,’ पौडेलले बैठकमा शीर्ष नेताहरूतर्फ संकेत गर्दै भने, ‘होइन भने अगाडि बढ् भाइ भन्नुस् । कसैलाई जिम्मेवारी दिनुस् । यसरी अघि बढ् भन्नुस् ।’
देउवा स्वदेश फर्किनुपर्ने माग
नेता गुरु बरालले निवर्तमा सभापति शेरबहादुर देउवा तत्काल नेपाल फर्किनुपर्ने आवश्यकता औंल्याए । राष्ट्रिय राजनीति, लोकतन्त्र र व्यवस्थामाथि चुनौती देखिएको वर्तमान अवस्थामा देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
‘लोकतान्त्र र राष्ट्रितामाथि प्रहार भइरहेको छ । यसबारे आदरणीय शेरबहादुर देउवाले स्वदेश फर्किएर स्टेटमेन्ट दिनु पर्छ,’ नेता बरालले भने, ‘विषम् परिस्थितिलाई लिकमा ल्याउनका लागि उहाँले अभिभावकीय भूमिका निर्वाह गर्यो भने देश र लोकतन्त्रले गति लिन्थ्यो ।’
अहिले राष्ट्रियता र व्यवस्थामाथि प्रहारहरू देखिन थालेको, सरकार निरंकुशतातिर अगाडि बढेको अरू राजनीतिक दलहरू पनि अलमलिएको अवस्थामा रहेको बरालको भनाइ थियो ।
नेता गोविन्दबहादुर शाहले समूहका तर्फबाट संस्थापनसँग राखिएका मागमा कुनै मतभेद् नरहेको बताए । १४औं महाधिवेशनबाट निर्वाचित सबै १११ जनालाई केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने उनको भनाइ थियो ।
‘केन्द्रीय समितिमा सबै १११ जनालाई समायोजन गरिनु पर्छ । पूर्णबहादुर खड्काबाहेक समायोजन हामी मान्दैनौं,’ शाहले भने, ‘रमेश लेखकबाहेकको, कृष्णप्रसाद सिटौलाबाहेकको समायोजन हामीलाई स्वीकार्य हुन्न ।’
नेता शाहले इतर समूहको राष्ट्रिय भेलाका लागि तयारी अझै अपुग देखिएको टिप्पणी गर्दै अब आन्दोलनलाई निर्णायक चरणमा लैजानुपर्नेमा जोड दिए ।
‘निर्णायक भेलाका लागि तयारी पुगेको छैन । नेतृत्व गर्नु भएका तपाईं सात जनाको पनि तयारी पूरा भएको देखिन्न,’ उनले भने, ‘उनीहरू (संस्थापन) महाधिवेशन गर्छन् भन्ने मलाई लागेको छैन । हामी महाधिवेशन केन्द्रित भएर कुरा गरिरहेका छौं ।’
कांग्रेस संस्थापन इतर समूहको बैठक बुधबार फेरि बस्ने पूर्वकेन्द्रीय सदस्य जीतजंग बस्नेतले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो २ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बस्ने छ । इतर समूहले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर सोमबारबाट बैठक बोलाएको थियो ।
प्रतिक्रिया 4