२४ असार, सुनसरी । विभिन्न जिल्लाबाट उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय हस्त श्रेष्ठ, धरान उपमहानगरपालिका–१५ बस्ने २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ बस्ने २९ वर्षीय सान्विन किराती छन् ।्
यसैगरी, धरान उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी नगरपालिका–५ बस्ने ४० वर्षीय उमेशकुमार चौधरी, धरान उपमहानगरपालिका–१७ बस्ने ३५ वर्षीय धिरोज निरौला, सुनसरी इनरुवा नगरपालिका–२ बस्ने ३१ वर्षीय रोहित मेहता र धरान उपमहानगरपालिका–११ बस्ने १८ वर्षीय विनोद भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यसअघि मंगलबार प्रहरीले झापा दमक नगरपालिका–१ कुमालचोकका ४२ वर्षीय प्रवीण पोखरेल र सुनसरी हरिनगरा गाउँपालिका–४ का २७ वर्षीय दीपक रामलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरू सबैलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न वार्ड, ओपीडी, इमर्जेन्सी कक्ष, रेडियोलोजी विभाग र ल्याव कक्षबाट पक्राउ गरेको हो । पक्राउ परेका बिचौलियाहरूमध्ये पोखरेल र रामविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दुवैलाई १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पोखरेल र राम पनि बीपी प्रतिष्ठानको आकस्मिक (इमर्जेन्सी) भवन अगाडि उभिएर बिरामीका कुरुवालाई फकाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । बुधबार पक्राउ परेका १० जनालाई भने प्रहरीले इलाका प्रहरी कार्यालयमा राखेको छ ।
लामो समयदेखि बीपी प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सहयोग गर्ने विभिन्न बहानामा निजी अस्पताल जान प्रेरित गर्ने, त्यसवापत आर्थिक लाभ लिने तथा संगठित रूपमा बिचौलियाको गतिविधि सञ्चालन भइरहेको भन्ने जनगुनासो र गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले पोखरेल र रामबाट विराटनगरस्थित आर्या न्यूरो अस्पतालका दुई थान भिजिटिङ कार्ड, मोबाइल फोनमा विभिन्न सरकारी अस्पतालबाट बिरामीलाई दिइएका प्रेस्क्रिप्सन तथा डिस्चार्ज कागजातका तस्वीर, बिरामीहरूको नाम, उमेर, रोगलगायतका विवरण अन्य व्यक्तिलाई पठाइएका सन्देश तथा विभिन्न एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजका तस्वीरहरू समेत फेला परेका थिए ।
बीपी प्रतिष्ठानमा कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न जिल्लाबाट दैनिक ४ हजार बढी बिरामीहरू उपचारका लागि आउने गरेका छन् । बिचौलियाहरूले उपचार गर्न आउने बिरामीमध्ये कतिपयलाई प्रवेशद्वारमै र कतिपयलाई अस्पताल भित्र भौंतारिइरहेको बेला ‘यहाँ उपचार राम्रो हुँदैन, मेसिन र चिकित्सक राम्रा छैनन्, उपचार भए पनि ढिलो हुन्छ, पालो आउँदैन, विराटनगर र बिर्तामोडका अस्पतालमा तत्काल उपचार हुन्छ’ जस्ता भ्रम छरेर झुक्याउने गरेका छन् ।
बिचौलियाहरूले अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण र टाढा–टाढाबाट आउने सोझा–सिधा बिरामीहरूलाई निसाना बनाउने गरेका छन् । उनीहरूले बीपी प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी वा तिनका आफन्तलाई ललाइफकाइ निजी अस्पताल, नर्सिङ होम वा डायग्नोस्टिक क्लिनिकतर्फ पठाएर कमिसन लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका बिचौलियाहरू एक्लै नभएर संगठित गिरोहकै रूपमा सक्रिय रहेको अनुमान गरिएको छ । प्रतिष्ठान बाहिरका केही औषधि पसल (फार्मेसी), एम्बुलेन्स चालक, केही निजी अस्पतालका प्रतिनिधिहरूको समेत भित्री साँठगाँठ हुने आशंकामा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
बीपी प्रतिष्ठानको इमर्जेन्सी कक्ष, जनरल ओपिडी, इन्टर्नल मेडिसिन, मानसिक रोग, हाडजोर्नी, आँखा, चर्म, स्त्री तथा प्रसूति, बालरोग, श्वासप्रश्वास, कार्डिलोलोजी, पेट तथा आन्द्रा र कलेजो, सर्जिकल, नाक कान घाँटी, फिजियोथेरापी, अंकोलोजी, न्युरोलगायत ओपीडी र रेडियोलोजीमा ५० जनाभन्दा बढी बिचौलिया लामो समयदेखि सक्रिय रहेको प्रतिष्ठान स्रोतले बतायो ।
प्रतिष्ठान स्रोतले भन्यो, ‘बीपी प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई चिकित्सकले रिफर गर्नुपर्नेमा बिचौलियाले बीचबाटै अर्कै अस्पताल रिफर गरिदिने गरेका छन् । प्रतिष्ठानले पुर्जीमै यहाँ उपचार हुने सबै लेखिदिएको छ । तर सर्वसाधारणले त्यो आफ्नै हातमा भएको पुर्जी सबै पढ्दैनन् । त्यसको फाइदा बिचौलियाले लिँदै आएका छन् । सक्रिय बिचौलियाको सञ्जाल समाप्त पार्न सकिएमा बीपी प्रतिष्ठानको दैनिक आयस्रोतमा ३ लाख रुपैयाँ बढी जोड्न सकिन्छ ।’
प्रतिक्रिया 4