२५ असार, काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्ष बाहिर दौडधुप गरिहेका छन्, मदन नेपाली । आँखाबाट आँसु बगिरहेको छ भने आवाज मलिनो छ ।
केही घण्टाअघि मात्रै आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका मदनका भाइ गणेश नेपालीलाई अस्पताल ल्याइएको थियो ।
‘साढे २ बजेतिर प्रहरीले खबरले गर्यो । अस्पताल आएर हेर्दा भाइको शरीर सबै जलेको थियो,’ गणेशले भावुक हुँदै भने, ‘भाइको आँखाबाट आँसु बगिरहेको थियो । सकिनसकी बोलिरहेको थियो ।’
त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका २६ वर्षीय गणेश नेपाली अहिले जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन् । अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भाग गम्भीर रूपमा जलेको छ । चिकित्सकले उनको उपचार गरिरहेका छन् भने अस्पताल बाहिर परिवारका सदस्यहरू चिन्तामा डुबिरहेका छन् ।
गणेश अहिले बोल्न सक्ने अवस्थामा छैनन् । तर अस्पताल ल्याइएपछि उनले निकै मुस्किलले उच्चारण गरेका केही शब्द भने दाइ मदनको मनमा गहिरो गरी गढेको छ ।
‘उसले मलाई एउटै कुरा भन्यो,’ मदन भक्कानिँदै भन्छन्, ‘यो सबै महानगर प्रहरीले गर्दा भएको हो…। आमा–बुवालाई राम्रो गर्नू । त्यसपछि उसले केही बोल्न सकेन ।’
त्यो वाक्य मदनका कानमा निरन्तर गुञ्जिरहेको छ ।
‘हामी धेरै कमजोर परिवार हौँ । फार्मेसीमा एक जना डाक्टरले उधारो मिलाइदिनु भएको छ । भाइको उपचार कसरी गर्ने भन्ने चिन्ता छ,’ गणेशका दाजु मदनले सुनाए ।
परिवारका सदस्यका अनुसार गणेशको व्यवहार कहिल्यै अस्वाभाविक थिएन । बरु उनी भविष्यका योजना बनाइरहेका थिए । विदेश जाने तयारीबारे परिवारसँग छलफल गर्थे । ‘तपाईंभन्दा पहिले म विदेश जान्छु दाइ, तपाईं घर सम्हाल्नू,’ गणेशले केही दिनअघि मदनसँग भनेका थिए ।
बिहीबार बिहान पनि गणेश दाइ बसेको कोठामा आएका थिए । ‘बिहान मेरै कोठाबाट निस्किएको हो,’ मदन सम्झिन्छन्, ‘बुहारी पनि सँगै आएकी थिइन् । कोठा सार्ने कुरा थियो । त्यतिबेला उसको व्यवहार अस्वाभाविक थिएन ।’
भक्तपुरको कमलविनायकमा बस्दै आएका गणेश पछिल्लो साढे दुई वर्षदेखि पठाओ चलाउने काम गर्थे । त्यही कामबाट परिवार चलिरहेको थियो ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश ७ वर्ष अगाडि काठमाडौं छिरेका थिए । कृषि विषयमा जेटी (जुनियर टेक्निसियन) अध्ययन गरेका गणेशले जीवन सजिलो होला भन्ने आशामा काठमाडौं रोजेका थिए । तर रोजगारी मिलेन ।
गणेशका श्रीमती, दुई वर्षकी छोरी र वृद्ध आमा–बुबा गाउँमा छन् । ६ वर्षअघि विवाह गरेका गणेशको कमाइले नै परिवार धानिन्थ्यो । श्रीमती गृहिणी हुन् । ‘भाइले कमाएर ल्याउँथ्यो । त्यसैले बच्चाको खर्च चल्थ्यो, स्कुल पठाउने सोच थियो,’ मदन भन्छन् ।
परिवार आर्थिक रूपमा सम्पन्न छैन । अस्पतालमा उपचार खर्च जुटाउन पनि उनीहरूलाई समस्या छ ।
‘हामी धेरै कमजोर परिवार हौँ । फार्मेसीमा एक जना डाक्टरले उधारो मिलाइदिनु भएको छ । भाइको उपचार कसरी गर्ने भन्ने चिन्ता छ,’ मदनले भने ।
मदन एउटा कुरा पटक–पटक दोहोर्याउँछन् । गणेश आर्थिक ऋण वा पारिवारिक तनावका कारण यस्तो कदम चाल्ने व्यक्ति थिएनन् ।

उनी सधैं शान्त स्वभावको मानिसका रूपमा चिनिएका थिए । धेरै नबोल्ने, अनावश्यक विवादमा नपर्ने, आफ्नो काममा मात्र केन्द्रित रहने बानी थियो ।
‘ऊसँग ठूलो ऋण थिएन । मानसिक तनाव पनि देखेको थिइनँ । धेरै सहनशील थियो,’ मदन भन्छन्, ‘म चाँडै रिसाउने मान्छे हुँ । ऊ कहिल्यै कसैसँग झगडा गर्ने, जिद्दी गर्ने वा रिसाउने खालको थिएन ।’
अहिलेको घटनाले परिवारलाई स्तब्ध बनाएको छ ।
घटनाबारे परिवारले पनि अझै स्पष्ट बुझ्न सकेको छैन । गणेश राहदानी विभाग किन पुगेका थिए ? आफ्नै कामका लागि कि सेवाग्राहीलाई लिएर ? त्यो अझै खुलिसकेको छैन ।
मदनका अनुसार भाइले आफूलाई महानगर प्रहरीसँग विवाद भएको मात्र संकेत गरेका थिए ।
उसले ‘बिना कारण लफडा भयो’ भन्ने कुरा गरेको थियो,’ मदन भन्छन्, ‘पछि के भयो, कसरी यति ठूलो घटना भयो, त्यो उसले विस्तारमा भन्न सकेन ।’
गणेशका जेठान विकास उक्त घटना सञ्चार माध्यमबाट थाहा पाएको बताउँछन् ।
‘म त ड्युटीमै थिए,’ उनी भन्छन्, ‘न्युज हेर्दा यस्तो भएको थाहा भयो ।’
विकास आफैं स्वास्थ्यकर्मी हुन् । तारकेश्वर सिटी अस्पतालमा कार्यरत उनी अस्पतालमा बिरामीको उपचारमा व्यस्त थिए । त्यही बेला गणेशको आत्मदाह प्रयासको खबर थाहा पाए । अस्पतालमा बिरामीको जीवन बचाउने काम गरिरहेका विकासले आफ्नै परिवारको सदस्य मृत्यु र जीवनको दोसाँधमा पुगेको खबर सुनेका थिए ।
‘के कारणले यस्तो भयो, हामीलाई पनि थाहा छैन,’ विकास भन्छन्, ‘प्रहरीले बाइक लक गर्दा यस्तो भएको सुनेका छौं । तर वास्तविक कारण के हो, केही थाहा छैन ।’

गणेशबारे बोल्न थालेपछि विकासको स्वर केही बेर रोकिए जस्तो हुन्छ । उनी कुनै ठूलो परिचय दिन खोज्दैनन् ।
काम गरेर खाने मान्छे हो । उनले भने, ‘ऊ झगडा गर्ने, धेरै कुरा गर्ने मान्छे होइन ।’
परिवार आर्थिक रूपमा सम्पन्न थिएन । तर अभावमा बाँचिरहेका हजारौं नेपाली परिवारभन्दा धेरै फरक पनि थिएन ।
‘ऋण धेरैथोर सबैको हुन्छ । तर अहिले ऋण नभएको घर कहाँ छ र ? सबैजसो ऋणमै चलिरहेका छन्,’ विकास भन्छन्, ‘प्रहरीको व्यवहारले यस्तो घटना भयो कि भन्ने अनुमान हो ।’
ऋण, जिम्मेवारी र भविष्यको खोजीबीच गणेशले विदेश जाने तयारी पनि गरिरहेका थिए । राम्रो अवसरको खोजीमा उनी वैदेशिक रोजगारीको प्रक्रियामा थिए ।
अहिले गणेशको आईसियूमा उपचार भइरहेको छ । शरीरमा गहिरा जलनका घाउ छन् । चिकित्सकले उनलाई बचाउन प्रयास गरिरहेका छन् ।
चिकित्सक भन्छन् : अवस्था गम्भीर छ
उपचारमा संलग्न चिकित्सक डा. पियुष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण गणेशलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार थालिएको छ ।
प्लास्टिक सर्जन डा. दाहालका अनुसार, बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ ।
शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

‘उहाँको अवस्था अहिले निकै गम्भीर छ । अनुहारदेखि छाती, घाँटी, हात र खुट्टासम्म जलेको छ । शरीरको करिब ६० प्रतिशत भागमा जलन देखिएको छ । अहिले आकस्मिक उपचारका सबै प्रक्रिया पूरा गरेर आईसीयूमा सारेका छौं,’ डा. दाहालले भने ।
जलनका कारण हुने सम्भावित जटिलतालाई मध्यनजर गर्दै चिकित्सकहरूको निगरानीमा सघन उपचार सुरु गरिएको छ ।
चिकित्सकका अनुसार शरीरको ठूलो भाग जलेका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने जोखिम उच्च हुने भएकाले प्रारम्भिक २४ देखि ७२ घण्टा अत्यन्त संवेदनशील मानिन्छ ।
प्रतिक्रिया 4