+
+
Shares

बडीमालिकाका १६ घर पहिरोको जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धमा अविरल वर्षाका कारण गएको पहिरोले ६ घर उच्च जोखिममा परेका छन् ।
  • पहिरोबाट थप १० घरधुरी सामान्य जोखिममा रहेको र मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
  • प्रहरी र नगरपालिकाको टोलीले घटनास्थल निरीक्षण गरी पीडितहरूलाई सहयोग उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिश गरेको छ ।

६ साउन, बाजुरा । अविरल वर्षाका कारण बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धमा पहिरोबाट ६ घर जोखिममा छन् । सोमबार राति परेको अविरल वर्षापछि पहिरो जाँदा कोर्धका ६ वटा घर प्रभावित भएका छन् भने १० घरधुरी उच्च जोखिममा परेका हुन् ।

अविरल वर्षापछि कोर्ध क्षेत्रमा पहिरो खसेर जमिन भासिएको सूचना प्राप्त हुनासाथ मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली तथा बडिमालिका नगरपालिकाको टोली खटिएर संयुक्त अनुगमन समेत गरेको छ ।

उक्त टोलीले दिउँसो घटनास्थल पुगेर स्थलगत निरीक्षण गर्दा अविरल वर्षासँगै घर तलमाथि पहिरो खस्दा ६ घरधुरी पूर्ण रूपमा जोखिममा रहेको र थप १० वटा घरधुरी सामान्य जोखिममा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार पूर्ण जोखिममा परेका घरधुरीमा बडीमालिका ६ कोर्ध बस्ने प्रसादे साउद, गोरे साउद, अम्मर साउद, भक्त साउद, लाल साउद र खडक साउद रहेका छन् । यस्तै स्थानीय बल साउद, मन साउद, शिव बडुवाल, जय साउद, नर साउद, भाने साउद, गोरख साउद, खन्टे ल्वार तथा पवन विकका घरधुरी सामान्य जोखिममा रहेको सूचना अधिकारी शाहीले बताए ।

हालसम्म उक्त घटनाबाट कुनै मानवीय क्षति वा चौपाया पशुको क्षति भएको छैन । जोखिममा रहेका परिवारहरू तत्काल विस्थापित नभए पनि निरन्तरको वर्षाले पहिरो खस्ने सम्भावना रहेकाले सुरक्षित स्थानमा स्थानान्तरण तथा राहतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनु पर्ने स्थानीयहरुले बताएका छन् ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक सर्जमिन मुचुल्का तयार गरी राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ । पहिरोका कारण बस्ती जोखिममा परेपछि स्थानीयवासीमा त्रास फैलिएको छ भने प्रभावित घरभित्र रहेका सम्पूर्ण सामानहरु सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । लगातारको बर्षाले जिल्लाका अन्य बस्तीहरु पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?