News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका पूर्व सहायक प्रशिक्षक रायन टेन डोशाटे नाइट राइडर्स समूहको क्रिकेट रणनीति प्रमुखमा नियुक्त भएका छन् ।
- उनी अब नाइट राइडर्सका चारवटै फ्रेन्चाइजका लागि खेलाडी खोज, भर्ती र टोली निर्माणको रणनीतिक जिम्मेवारी सम्हाल्नेछन् ।
- सन् २०२४ मा कोलकाताको आईपीएल उपाधिमा भूमिका खेलेका टेन डोशाटेले सीपीएलबाट आफ्नो नयाँ जिम्मेवारीको थालनी गर्नेछन् ।
१३ साउन, काठमाडौं । भारतका पूर्व सहायक प्रशिक्षक तथा नेदरल्यान्ड्सका पूर्वकप्तान रायन टेन डोशाटेलाई नाइट राइडर्स समूहको क्रिकेट रणनीति प्रमुख (हेड अफ क्रिकेट स्ट्राटेजी) नियुक्त गरिएको छ।
नाइट राइडर्स समूहले बुधबार उनको नियुक्तिको घोषणा गरेको हो । यसअघि उनी दुई वर्ष भारतको पुरुष राष्ट्रिय टोलीका सहायक प्रशिक्षक थिए । भारतको जिम्मेवारीबाट बाहिरिएको एक दिनपछि उनी नाइट राइडर्स समूहमा नयाँ भूमिकामा फर्किएका हुन् ।
टेन डोशाटेले अब इन्डियन प्रिमियर लिग (आईपीएल) को कोलकाता नाइट राइडर्स, क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ट्रिनबागो नाइट राइडर्स, अन्तर्राष्ट्रिय लिग टी–२० (आईएलटी–२०) को अबुधाबी नाइट राइडर्स तथा मेजर लिग क्रिकेट (एमएलसी) को लस एन्जलस नाइट राइडर्स गरी समूहका चारै फ्रेन्चाइजको क्रिकेट रणनीति सम्हाल्नेछन् । उनको पहिलो जिम्मेवारी अगस्ट ७ देखि सुरु हुने सीपीएलमा ट्रिनबागो नाइट राइडर्ससँग हुनेछ ।
नियुक्तिपछि उनले नाइट राइडर्स परिवारमा फर्किन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिए । उनले प्रशिक्षक तथा विश्लेषण टोलीसँग मिलेर खेलाडी खोज, प्रतिभा विकास प्रणाली सुदृढ बनाउने र दीर्घकालीन क्रिकेट रणनीति निर्माणमा काम गर्ने बताए ।
४६ वर्षीय टेन डोशाटेको नाइट राइडर्ससँग लामो सम्बन्ध छ । उनले सन् २०११ मा कोलकाताबाट आईपीएल खेलेका थिए भने २०१२ र २०१४ मा टोलीलाई उपाधि जिताउन योगदान दिएका थिए । त्यसपछि २०२२ देखि २०२४ सम्म प्रशिक्षक टोलीमा रहेर सन् २०२४ मा कोलकाताको तेस्रो आईपीएल उपाधिमा पनि भूमिका खेलेका थिए ।
२०२४ मा भारतले टी–२० विश्वकप जितेपछि गौतम गम्भिर भारतको मुख्य प्रशिक्षक नियुक्त हुँदा उनले टेन डोशाटेलाई सहायक प्रशिक्षकका रूपमा राष्ट्रिय टोलीमा लगेका थिए ।
नाइट राइडर्स समूहका प्रमुख कार्यकारी अधिकृत भेन्की मैसोरले टेन डोस्चाटेले फ्रेन्चाइज र अन्तर्राष्ट्रिय क्रिकेट दुवै क्षेत्रमा हासिल गरेको अनुभवले समूहको आगामी रणनीतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नयाँ भूमिकामा उनले खेलाडी खोज, भर्ती, टोली निर्माण, प्रदर्शन मूल्याङ्कनलगायत सम्पूर्ण क्रिकेट रणनीतिको नेतृत्व गर्नेछन् । साथै ट्रिनबागो, अबुधाबी र लस एन्जलस नाइट राइडर्सका सहायक प्रशिक्षकको जिम्मेवारी पनि सम्हाल्नेछन् ।
आईपीएलमा भने उनले कोलकाता नाइट राइडर्सका मुख्य प्रशिक्षक अभिषेक नायरसँग पुनः सहकार्य गर्नेछन् । यी दुईले यसअघि कोलकाता र भारतीय राष्ट्रिय टोलीमा पनि सँगै काम गरिसकेका छन् ।
प्रतिक्रिया 4