+
+
Shares
स्थलगत भिडियो रिपोर्ट :

‘भाइभतिजाहरू मारिएको मोबाइलमा देखें, खान सुत्न सकिनँ’

अनलाइनखबरको टिमले तीन दिनसम्म सुनसरी र सिरहाका तनावग्रस्त क्षेत्रमा जे देख्यो, त्यसको समग्र चित्र यो भिडियो रिपोर्टमा सामेल छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८३ साउन २० गते २१:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी र सिरहाको कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा चारजनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।
  • स्थानीयले सरकारको ढिलो प्रतिक्रिया र प्रशासनिक उदासीनताका कारण सामान्य विवादले भयावह रूप लिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
  • डिजिटल प्रविधि र सामाजिक सञ्जालमार्फत फैलिएको उत्तेजनाले धार्मिक विवादलाई मलजल गरेको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्।

जनकपुरधाम– चार युवाको ज्यान, दर्जनौं घाइते अनि अकल्पनीय र अथाह क्षति निम्त्यायो, कप्तानगञ्ज घटना र यसको परकम्पले । तत्काललाई सेना पुलिसका बलमा शान्ति बहाल गर्न खोजिए पनि स्थिति त्यो भन्दा भयावह छ । जमिनमै आएपछि त्यसको प्रष्ट छनक पाइन्छ ।

समयमै सरकारी रेस्पोन्स भएको भए कप्तानगञ्जको झिल्को अन्यत्र सल्किन पाउँदैनथ्यो । तर तत्कालको उदासीनता अनि ढिलो तदारुकता नै परस्परमा आशंका बढाउने र आक्रोशित तुल्याउने कारक बन्न पुग्यो ।

अनलाइनखबरको टिमले तीन दिनसम्म सुनसरी र सिरहाका तनावग्रस्त क्षेत्रमा जे देख्यो, त्यसको समग्र चित्र यो भिडियो रिपोर्टमा सामेल छ । जस्तो कि, कप्तानगञ्जका स्थानीय खुर्सिद मियाँले हामीलाई भेट्ने बित्तिकै रुँदै भने, ‘आफ्नै भाइभतिजाहरू मरेको मैले मोबाइलमा हेरें । खाना पनि खान सकिनँ ।’

यस्तै भावना त्यहाँका हिन्दुहरूको पनि छ । मुस्लिम र हिन्दुको नाममा आपसमा लडाउने प्रयास कसले गर्‍यो, खोजी हुनुपर्ने माग छ ।

हाम्रा मधेश ब्युरो प्रमुख शैलेन्द्र क्रान्ति भन्छन्, ‘सुरुमा गृहमन्त्री आउन् भनेर माग भएको देखियो, तर तिनले पीए पठाए । धार्मिक विवाद बढ्दै मधेश नै अशान्त भएपछि बल्ल गृहमन्त्री आए ।’

सुनसरीको कोशी कटान क्षेत्रमा हामी पुग्दा सरजुग गोइत खन्डहरबाट आफ्ना सामान मिलाउँदै थिए । किराना र मदिराको पसल तोडफोड गरेको, अझै केही जनप्रतिनिधि नै आफूलाई धम्क्याउँदै आएको तिनले दु:खेसो गरे । हिन्दुको घर जलाउँदा त्यसैमा मुस्लिमले खडा गरेको फ्रेस हाउन दनदनी बलिरहेको थियो ।

गोलबजारकी एक स्थानीय महिलाले हामीलाई भनिन्, ‘प्रशासनले हामीलाई धेरै नै धरपकड गर्‍यो ।’

काठमाडौंबाट हामीसँगै गएकी सहकर्मी बिनु सुवेदीको अवलोकनमा, सानो निहुँमा झगडा बढ्दै जाँदा कुनै कारण नै नभई क्षति भयो । राज्यको गोली लागेर प्रदर्शनकारी बिते । सिरहासम्म आगो फैलिएर आउन नै नहुने थियो । कोशी कटानमा जलेका घर, सिरहामा पसल र घर जलेका छन् । राजनीतिक रूप दिन खोज्दा समस्या भएको हो ।

गोलबजारको अवस्था अझै दयनीय थियो । हाम्रा सहकर्मी सुरेश रायका अनुसार पार्किङ गरिएका १९ वटा मोटरसाइकलमा आगजनी गरेर, गोली चलेको क्याम्पस रोडमा ढुंगामुढा प्रहार हुँदा गोली चलेर गणेश यादवको मृत्यु भयो ।

हामी गोलबजार वडा नम्बर ४ का ५८ वर्षीय कलाम खान र ५५ वर्षीया सबाना खातुनलाई भेट्न पुग्यौं । पतिसँगै कुटिएकी उनले भनिन्, ‘म बिरामी भएर सुतिरहेको बेलामा रडले हान्यो, रगतै रगत छ भित्र, गएर हेर्नुहोस् ।’

गोलबजारकै अरुणकुमार मण्डलले यो घटना आफसेआफ नभई नियोजित प्रकृतिको भएको बताए । निष्पक्ष छानबिन र कारबाही बेगर समाजमा शान्ति र न्यायको अनुभूति हुन कठिन पर्नेे उनको भनाई छ ।

हाम्रो समाज कस्तो छ भने, जनकपुरमै हेरौं न । जानकी मन्दिरसँगै पछिल्तिर मस्जिद छ । हिन्दु, मुसलमान, बुद्धिस्टलगायत सबै धर्म आपसमा अस्तित्वमा छन् । तर वैरभाव कसले बढाइरहेछ चिन्न आवश्यक छ ।

सूचना प्रविधिको क्षेत्रमा एक दशकभन्दा लामो अनुभव सँगालेका जनकपुरका अमित झा भन्छन्, ‘डिजिटल प्रचारले यो विवादलाई थप मलजल भयो । कन्टेन्ट भाइरल भएपछि दुई वटै समुदाय यसबाट प्रभावित भए ।’

अमित जनकपुरमा बसेर इन्टरनेट मार्केट टुडे चलाउँछन् । अनि उनको सामाजिक फिड नामक पेज पनि छ । यसपल्ट अनेक किसिमका पेजले उत्तेजना फेलाएको उनले सुनाए ।

हामीले भिडियोमा धेरैसँग कुरा गर्न खोज्यौं । तर उनीहरूमध्ये थुप्रै परिचय खुल्ने डरले बोलेनन् । बोल्न चाहेनन् । यो त्रासको वातावरण कतिन्जेल लम्बिने हो थाहा छैन । यसको अपजस जान्छ राज्यलाई ।

यसको कारण के हो त ? कोशी ब्युरो प्रमुख हरि अधिकारी भन्छन्, ‘समुदायले आपसमा मिल्न सहजीकरण खोजिरहेको थियो । अझै पनि राज्यले यो काम गराउन सकेको छैन ।’

अघि हामीले सुरुमा कुराकानी गरेका कप्तानगञ्जका खुर्सिद मियाँसँग यसको जवाफ छ । उनी छिटोभन्दा छिटो आपसमा मिल्न चाहे पनि त्यो समय नआएकामा दुःखी छन् ।

खुर्सिद भन्छन्, ‘हामी मिल्न खोजिरहेका छौं । हामीलाई मिलाइदिनुहोस् । किनकि, हामीहरूको बीचमा धेरै समस्या भयो ।’

भिडियो : कमल प्रसाईं/अनलाइनखबर

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?