+
+
Shares

ग्यास वितरणमा भेदभाव : पहुँचवालालाई पुर्‍याउने, निमुखालाई कुराउने

‘पहुँचवाला, ठूला होटल, क्लब रेस्टुरेन्टहरूमा ठूलो संख्यामा दिने तर एक दुईवटाले भने नपाउने लाइनमा लाग्दा पनि नपाउने अवस्था छ,’ एक व्यवसायीले नै भने ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ साउन २१ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा खाना पकाउने ग्यासको चरम अभाव देखिएपछि सर्वसाधारण घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।
  • कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालले ग्यासको अनुगमनका क्रममा केही डिलरले लुकाएर राखेको अवस्था फेला परेको बताए ।
  • जिल्ला प्रशासन कार्यालय कास्कीले अब प्रत्येक दिन साँझ कति ग्यास भित्रियो र कहाँ वितरण भयो भन्ने विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

२१ साउन, पोखरा । पोखरा महानगरपालिका–५ मालेपाटन नजिकै बुलौंदी खोला छेउमा ट्रकबाट धमाधम ढुवानी भ्यानमा खाना पकाउने ग्यास सारिँदै थियो । बजारमा ग्यास नपाएका स्थानीयले त्यो दृश्य देखे । केहीबेरमै स्थानीयहरू त्यहाँ जम्मा भए । र, ग्यास आफूले पनि पाउनुपर्ने भन्दै घेराउ गरे ।

ट्रक चालकसँग स्थानीयले ग्यास कहाँ पठाइँदैछ भनेर सोधीखोजी गरेपछि बिक्रेतालाई दिइएको बताए । तर, स्थानीयले खाली सिलिन्डर बोकेर आएर आफूले पाउनुपर्ने, नत्र अवरोध गर्ने चेतावनी दिएपछि चालकले ग्यास साटिदिए ।

त्यसपछि थप हल्ला हुनुअगावै ट्रक हिँड्यो ।

यो एक दृश्यले पोखरामा ग्यासको अभावको अवस्था झल्काउँछ । पोखरामा खाना पकाउने ग्यासको चरम अभावको गुनासो उठ्न थालेको एकसाता भइसकेको छ । उता नेपाल आयल निगमले भने पर्याप्त ग्यास आयात भइरहेको भन्दै विज्ञप्ति निकालिरहेको छ । तर, बजारमा अभावको गुनासो भने दिनप्रतिदिन चुलिँदै छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बराल शुक्रबारयता पोखरामा ७–८ हजार सिलिन्डर आउँदा पनि बजारमा अभाव घटेको देखिएको छैन । बिहीबार पनि ६ हजार सिलिन्डर ग्यास पोखरा पुगेको छ ।

‘यति ठूलो मात्रामा ग्यास आउँदा पनि कहाँ गइरहेको छ ? किन अभाव भइरहेको छ भनेर अनुगमन गरिरहेको छौं,’ उनले भने । उनले बिहीबारको अनुगमनका क्रममा अभावको एक कारण फेला परेको दाबी गरे ।

उनले एउटा घटना सुनाए । उनका अनुसार पोखरा–५ मालेपाटनमा हिरन सप्लायर्समा अनुगमन टोली पुगेको थियो । त्यहाँ गृहलक्ष्मी ग्यास वितरण भइरहेको भन्दै उपभोक्ता लाइनमा थिए । केहीबेरमै पसलले ग्यास सकिएको जानकारी दियो । तर, अनुगमन गर्दा २६ सिलिन्डर कुटानी–पिसानी मिलमा लुकाइरहेको भेटियो ।

केहीदिनअघि सिर्जनाचोकको चेरिस्मा इम्पोरियममा अनुगमन टोली पुगेको थियो । त्यहाँ त्यो दिन ३२४ सिलिन्डर नेपाल र शक्ति ग्यास आएको भनिएको थियो । त्यो दिन २४ सप्लायर्सलाई कम्पनीले पठाउँदा चेरिस्मालाई सबैभन्दा बढी ३२४ सिलिन्डर दिएको भेटियो ।

तर, त्यहाँ वितरणमै अनियमितता देखिएको सहायक प्रमुख जिल्ला अधिकारी बराल बताउँछन् । ‘सप्लायर्सहरूले ठीक ढंगले वितरण गरिरहेको देखिएन । सामान्य नागरिक लाइन लाग्ने, पहुँचवालाको होटलमा ठूलो संख्यामा झारिदिने काम पनि भएको पाइयो । पहुँचवालाले धेरै लिएर स्टक राख्दा समस्या भइरहेको पाइन्छ,’ उनले भने ।

एकातिर यसरी स्टक गरेर, लुकाएर राख्ने र अर्कातिर पोखरामा ग्यास डिलरअघि खाली सिलिन्डर बोकेर लामालामा लाइन देखिएको उनी बताउँछन् ।

सर्वसाधारणलाई लाइनमा सास्ती

पोखराको रत्नचोकमा बुधबारदेखि लम्बेतान लाइन थियो । बिहीबार त्यहाँ पुग्दा अघिल्लै दिनदेखि लाइन लाग्दा पनि ग्यास नपाएको एक महिलाले गुनासो गरिन् । उनी छोरेपाटनबाट आएकी सीता भुजेल थिइन् ।

‘आउँछ–आउँछ भनेर हिजो रातिसम्म बस्दा ग्याँस आएन, रित्तै हात घर फर्किएँ,’ उनले दुखेसो गर्दैथिइन्, ‘आज बिहानै आउँछ भनेर आएँ, आउँदै छ भन्छन् । लाइन नलागी नपाइने । के गर्नु खानु त पर्‍यो ।’

उनीजस्तै लाइनमा छोरेपाटनबाटै आएकी अर्की महिलाको पनि उस्तै गुनासो थियो । ‘सरकारले ग्याँस नपाए फोन गर्नु भन्छ । कहाँ फोन गर्नु ? हामी यहाँ तीन दिनदेखि लाइनमा छौं,’ ती महिलाले आक्रोश पोखिन् ।

अहिले आफ्नो टोलभरिकै परिवार ग्यासको खोजीमा भौँतारिरहेको उनले बताइन् । ‘अभाव छ भनेपछि केही स्टक राख्न पनि दौडेको सुन्छु,’ उनले भनिन् ।

नियमित ग्यास आउने भएकाले स्टक नराख्न प्रशासनले आग्रह गरिरहेको छ । तर, उपभोक्ताले भने विश्वास गर्न सकेका छैनन् ।

रत्नचोकमा रहेका घिमेर र पोखरेली ग्याँस डिलर्समा बिहानैदेखि उपभोक्ताको लाम थियो । बिहीबार डिहिकोपाटनको डिएनआर ड्रेडर्समा ३ सय ग्याँस आएकोमा १ सय ग्याँस कहाँ वितरण भयो भनेर विवरण नै अनुगमन टोलीले प्राप्त गर्न सकेन ।

उपभोक्ता तथा केही सप्लायर्सहरुले नै ठूला होटलहरुमा धेरै ग्याँस दिँदा एउटा, दुईटा हुनेले नपाउँदा समस्या देखिएको गुनासो गरेका छन् । ‘पहुँचवाला, ठूला होटल, क्लब रेस्टुरेन्टहरुमा ठूलो संख्यामा दिने तर एक दुईवटाले भने नपाउने लाइनमा लाग्दा पनि नपाउने अवस्था छ,’ एक व्यवसायीले नै भने ।

हरेक दिन ग्यासको विवरण सार्वजनिक हुने

अनुगमनका क्रममा गडबडी देखिएका ठाउँका व्यवसायी, ग्यास विक्रेता संघ, सप्लायर्सहरूलाई बोलाएर जिल्ला प्रशासन कार्यालय कास्कीले छलफल गरेको छ ।

ग्यास वितरणमा कमजोरी देखिए कारबाही गर्ने र विक्रेता संघले सहजीकरण गर्ने गरी छलफल भएको सहायक सीडीओ बरालले बताए । ‘ग्यास वितरणमा तत्काल समास्या समाधान गर्न पारदर्शी गराउने भनेका छौं,’ बरालले भने, ‘प्रत्येक ग्यास बिक्रीको अब बिल दिने छलफल भएको छ । जसले कहाँ कहाँ वितरण भयो भन्ने एकीन हुन्छ ।’

प्रत्येक दिन पोखरामा कति ग्यास भित्रिए र ती कहाँ कहाँ वितरण भयो भन्ने हरेक साँझ सार्वजनिक गर्ने निर्णय गरेको अनुगमन समिति संयोजकसमेत रहेको बरालले बताए ।

‘जिल्ला प्रशासन कार्यालयमार्फत प्रत्येक दिन साँझ कति ग्यास वितरण भयो र कहाँ कहाँ भयो भन्ने सार्वजनिक गर्ने भनेका छौं,’ उनले भने ।

ग्यास बिक्रेता संघ कास्कीका अध्यक्ष नारायणदत्त दाहालका अनुसार अहिले पोखरामा १४ वटा कम्पनीमा ग्यास आउँछन् । पहिले १९ वटा कम्पनीका ग्यास पोखरामा आउँथे । विक्रेता संघमा आवद्ध हुनेमात्र ३६ वटा सप्लायर्सहरू छन् । तर, कम्पनीहरूले आ–आफ्नो हिसाबले बिक्रेताहरू तयार गरेका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?