News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी र सिरहाका घटनाबारे बनेका दुई समितिले बाहिरी घुसपैठ नभएको र प्रहरीकै गोलीबाट चार युवाको ज्यान गएको निष्कर्ष निकालेका छन्।
- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले २० राउन्ड गोली चलाएको र तीन जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।
- सिरहामा प्रहरीले चलाएको गोलीबाट गणेश यादवको मृत्यु भएको र अर्को गोलीबाट एक जना घाइते भएको समितिको निष्कर्ष छ।
- दुवै समितिले गोली चलाउने सुरक्षा अधिकारीलाई कारबाही गर्न र भिड नियन्त्रणमा बडीवर्न क्यामेरा तथा गैरघातक हतियार प्रयोग गर्न सुझाव दिएका छन्।
२ भदौ, काठमाडौं । सुनसरी र सिरहामा भएका घटनाको छानबिन गर्न बनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपैठ नभएको निष्कर्ष निकालेका छन् ।
दुई घटनाका लागि बनेका दुई छुट्टाछुट्टै समितिले बुझाएको प्रतिवेदनमा बाहिरी घुसपैठ नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै चार युवाको ज्यान गएको निष्कर्ष निकालिएको हो ।
१० साउनमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जबाट सुरु भएको विवाद अन्यत्र जिल्लाहरूमा फैलिँदा बाहिरी घुसपैठ भएको हुनसक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने किसिमका भ्रमहरू फैलिएका थिए ।
तर, दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण चार युवाको मृत्यु भएको निष्कर्ष निकालेको हो । छानबिन समितिका एक सदस्यका अनुसार सुनसरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट जम्मा २० राउन्ड गोली चलेको पाइएको छ । दुवैले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको बताइएको छ ।
कप्तानगञ्जमा सुरुमा सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घाइते भई उपचाररत रहेका जयप्रकाश मेहता र रवीन्द्र मेहताको पनि मृत्यु भएको थियो ।
कप्तानगञ्जमा भएको झडप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाशकुमार श्रेष्ठ फिल्डमा खटिएका थिए ।

१० साउन राति १० बजे चर्को आवाजमा डिजे बजाएको विषयमा विवाद हुँदा झडप भएको थियो । हिन्दू र मुस्लिमको यो तनावमा घरेलु हतियारसहित आक्रमण सुरु भएको र प्रहरीले बल प्रयोग गरेको बताइएको थियो ।
त्यसपछि प्रहरीले गोली चलाएको थियो । तनाव बढ्दै भएपछि सशस्त्र प्रहरीको टोली पनि पुगेको र सशस्त्रले पनि गोली चलाएको बताइएको छ । दुवैतर्फको गोली लागेर कप्तानगञ्ज घटनामा तीन जनाको मृत्यु भएको थियो ।
त्यसैगरी, सिरहामा पनि प्रहरीले चलाएको गोलीका कारण गणेश यादवको मृत्यु भएको निष्कर्ष समितिले निकालेको छ । सिरहामा घटना भएको ठाउँमा जम्मा ९ राउन्ड गोली चलेको समितिको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ७ राउन्ड डमी र २ राउन्ड पेस्तोलबाट गोली चलेको बताइएको छ ।
पेस्तोलबाट चलेको एउटा गोलीबाट गणेश यादवको मृत्यु भएको र अर्को गोलीबाट अर्का व्यक्ति घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सिरहामा पनि प्रहरी जवानलाई गोली लागेको दाबी गरिएको थियो । तर छानबिन समितिले ती जवानलाई गोली नलागेको बताएको छ ।

‘मेडिकल्ली गोली लागेको भन्ने पुष्टि हुँदैन । छर्रासम्म लागेको हुनसक्छ,’ एक सदस्यले अनलाइनखबरसँग भने, ‘त्यहीअनुसार हामीले प्रतिवेदन बुझाएका छौं ।’
गोलबजारमा प्रहरी इन्स्पेक्टर सुदन केसी भिड नियन्त्रणमा खटिएका थिए । त्यतिबेलै गोली चलेको थियो ।
कप्तानगञ्ज घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन बनेको थियो । सिरहा घटनाको छानबिन गर्न गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो । यी दुवै समितिले आजै प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन अध्ययनपछि कारबाहीमा जाने मन्त्रालयमा सहप्रवक्ता रमा आचार्यले बताइन् । ‘समितिले आज प्रतिवेदन बुझाएको छ । अध्ययनपछि कारबाहीमा जान्छ,’ आचार्यले अनलाइनखबरसँग भनिन् ।
गोली चलाउनेलाई कारबाही सिफारिस
दुवै घटनामा गोली चलाउने सुरक्षा अधिकारीलाई कारबाहीको सिफारिस गरिएको छ । ‘दुई फरक घटनामा जसले गोली चलाएको छ, उनीहरूलाई आवश्यक कारबाही गर्नुपर्ने सुझाव दिएका छौं,’ समितिका एक सदस्यले भने ।
कारबाही सिफरिस गरिए पनि कस्तो कारबाही भनेर प्रष्ट रूपमा उल्लेख भने गरिएको छैन । प्रतिवेदनमा आवश्यक कारबाही मात्रै उल्लेख गरिएको छ । प्रतिवेदनमा कसको भूमिका–के भन्नेबारे पनि प्रष्ट रूपमा उल्लेख गरिएको बताइएको छ ।
घटना भएका बेला जिल्ला प्रहरी प्रमुखदेखि स्थानीय फिल्ड कमान्डरसम्मको भूमिका के थियो, सीडीओको भूमिका के थियो भन्नेबारे पनि प्रतिवेदनमा समेटिएको छ ।

गोली चलाउने बडीवर्न क्यामेरा लगाउनुपर्ने
यसका साथै समितिले आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन सुझाव पनि दिएको छ । सामाजिक, धार्मिक र सुरक्षाको समेत विश्लेषण गरी आगामी दिनमा अपनाउनुपर्ने विषयहरू समेटेर सुझाव दिइएको बताइएको छ ।
जसमा भिड नियन्त्रणमा जाने सुरक्षाकर्मीले गैरघातक हतियार बोक्नुपर्ने, रबरको गोली चलाउनुपर्ने सुझाव दिइएको छ । यसका साथै हतियार बोक्नेले बडीवर्न क्यामेरा लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
भिड नियन्त्रणको क्रममा भिडियो तथा फोटो खिच्नुपर्नेसम्मको सुझाव समितिले दिएको छ । विधि विज्ञिान प्रयोगशालालाई थप सुदृढीकरण गर्नुपर्ने, भिड नियन्त्रणको तालिमदेखि स्रोतसाधनयुक्त हुनुपर्नेसम्मका सुझावहरू प्रतिवेदनमा दिइएको छ ।
प्रतिक्रिया 4