+

महिनावारी रोक्ने औषधिको जथाभावी प्रयोगले ज्यानै जाने जोखिम रहन्छ : डा.रिजाल

२०७८ कात्तिक  १६ गते १२:०२ २०७८ कात्तिक १६ गते १२:०२
महिनावारी रोक्ने औषधिको जथाभावी प्रयोगले ज्यानै जाने जोखिम रहन्छ : डा.रिजाल

१४ कात्तिक, काठमाडौं । हिन्दु धर्मावलम्बीहरूमध्ये कतिपयले महिनावारी हुनुलाई अछुत मान्छन् । यही मान्यताका कारण महिनावारी भएको अवस्थामा महिलाहरू पूजापाठ, चाडपर्व मान्नबाट बञ्चित हुने गरेका छन् । विशेष चाडपर्वहरू दशैं, तिहार, पूजापाठबाट बञ्चित हुने डरले महिनावारी हुने समय भएको अवस्थामा कतिपय महिलाहरूले महिनावारी पछाडि सार्न अथवा अगाडि सार्नका लागि औषधि खाने गरेको पाइन्छ । त्यसरी जथाभावी औषधि खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालसँग कुराकानी गरिएको छ ।

महिनावारी पछि सार्न अथवा अघि सार्न महिलाहरूले विभिन्न खालको औषधि खाने गर्छन् यसले असर गर्दैन ?

त्यसमा धेरै कुराहरु छन् । कुन औषधि कहाँबाट, कसरी, कत्ति मात्रामा खाने भन्ने थाहा पाएर खाँदा स्वास्थ्यमा त्यति असर गर्दैन । तर काउन्टर सेलिङमा गएर औषधि किनेर बिनाज्ञान खाँदा, औषधिको दुरुपयोग हुँदा अवश्य स्वास्थ्यलाई गम्भीर असर गर्छ ।

औषधिको दुरुपयोग भन्नाले ?

औषधिको दुरुपयोग मैले किन भनेको हो भने जेका लागि जुन औषधि दिनुपर्ने त्योभन्दा फरक औषधि पनि दिएको पाइन्छ । अथवा महिलाहरुले खाएको पाइन्छ ।

खाली महिनावारी पर सार्नको लागि पनि इमरजेन्सी कन्ट्रासेप्सनहरु पनि खुवाउँछन् । महिनावारी पर सार्नलाई निजो प्रोस्टोन, प्रोजेस्टेरोन पनि खुवाउँछन् र स्ट्रेजोन प्रोजेस्टेरोन कम्बाइन पिल्स पनि खुवाउँछन् । यसरी यो धेरै तरिकाको औषधिहरूको काम, त्यसले पर्नसक्ने असर जानेर, बुझेर, हिसाब गरेर नखानु भनेको दुरुपयोग गर्नु-हुनु हो ।

औषधि प्रयोग गर्ने व्यक्तिलाई अथवा मेडिकललाई यसको ज्ञान हुन जरुरी हुन्छ ।

दुवै पक्षलाई ज्ञान, जिम्मेवार हुन जरुरी छ । तर, सामान्य व्यक्तिलाई नहुँदा मेडिकल जसले औषधि विक्रेता अथवा दिने व्यक्ति अझ जिम्मेवारी बढी हुनुपर्छ । औषधि मागेपछि केही नबुझी दिनुहुँदैन । किन, केको लागि बुझेर दिनुपर्छ ।

प्रयोग गर्ने व्यक्तिले पनि आफूलाई आवश्यक परेको बेला मेडिकलमा गएर माग्ने र जाँच नगरी दिन्छ भने सचेत हुन जरुरी छ । औषधि विक्रेताले पनि डाक्टरको सिफारिसको आधारमा दिनुपर्छ ।

औषधि विके्रताले के-कस्ता कुरा सोधेर दिनुपर्ने हुन्छ । अथवा कस्तो अवस्थामा मात्रै औषधि दिन सक्छन् ?

औषधि किन्न आउने व्यक्तिले केका लागि औषधि खान खोजेको हो बुझ्नुपर्ने हुन्छ । महिनावारी अगाडि सार्न अथवा पछाडि सार्न, अथवा कति दिन अगाडि अथवा पछाडि सार्न खोजेको हो भन्ने जानकारी लिनुपर्छ । कति दिन भो महिनावारी भएको, सामान्य समयमा कत्ति दिनमा महिनावारी हुने गरेको छ जस्ता जानकारी लिनुपर्छ । गर्भवती भएको हुनसक्ने सम्भावना पनि रहन्छ । त्यसैले विक्रेता अथवा चिकित्सक एकदम सचेत हुन जरुरी हुन्छ ।

कुन औषधि खाँदा कति दिन पर अथवा अगाडि सार्छ, महिनावारी भएको कति दिनपछि कुन औषधि दिने भन्ने कुरा महत्वपूर्ण हो । जसले महिलाको शरीरको हर्मोनसँग ट्याली गर्नुपर्छ । केही थाहै नपाई दिनमा तीनवटा खानु अनि छोड्नु भन्ने गरेको पाइन्छ । छोडेपछि रगत बगेको बगै भएर समस्या भएको अवस्था आउने जोखिम हुन्छ ।

सामान्य महिनावारी रोक्नको कुन औषधि र कत्ति मात्रामा खान सकिन्छ ?

सकेसम्म औषधि खाएर, महिनावारी पर अथवा वर सार्नु ठीक होइन । तर कतिपय अवस्थामा विशेषगरी महिनावारी हुँदा धेरै पेट दुख्ने, केही गर्नै नसक्ने हुने महिलाको हकमा यात्राहरू गर्दा समस्या हुन सक्छ ।

त्यस्तो अवस्थामा हामीले सबै जानेर, बुझेर औषधि दिने हो भने सबैभन्दा सुरक्षित चाँहि प्रोजेस्टेरोन हो । यसको सही सदुपयोग भयो भने धेरै हानि गर्दैन । तर कसरी, कति दिन, कति मात्रामा दिने भन्ने कुराचाँहि महिनावारी हुन कति दिन बाँकी छ र प्रयोग गर्ने व्यक्तिको शरीरको हर्मोन लेबल कति पुगेको छ-हुन्छ बुझेर मात्रै भन्न सकिन्छ ।

जथाभावी औषधिको प्रयोगले कस्ता समस्या आउन सक्ने जोखिम हुन्छ ?

जथाभावी यस्ता औषधिको प्रयोग गर्दा ज्यान जानसक्ने खतरा हुन्छ । केहीदिन खाने र छोडेपछि अत्यधिक रक्तस्राव भई महिलाको ज्यान जाने जोखिम हुन्छ । त्यस्तै, गर्भवती भएको अवस्था रहेछ भने गर्भ खेर जाने र भविष्यमा गर्भाधारण गर्न सक्ने अवस्था नरहन सक्छ । थाहा नपाई दिएको-खाएको औषधिले जे पनि हुनसक्ने जोखिम भएकोले एकदम सचेत भएर बुझेर औषधिको प्रयोग गर्नुपर्छ ।

औषधि
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय