
२ मंसिर, काठमाडौं । काठमाडौंको झोरस्थित श्रीकृष्ण बौडेश्वर मन्दिरमा वैकुण्ठ चतुर्दशी अवसरमा बिहीबार विशेष मेला सम्पन्न भएको छ । पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रको रुपमा विकास भएको यस मन्दिरमा हरेक वर्षको कात्तिक शुक्ल चतुर्दशीका दिन श्रद्धालुहरुले पारिवारिक सुख एवं सन्तान प्राप्तिको लागि दीपदान गर्ने गर्छन् ।
यो मन्दिरको महत्व जनाउने विभिन्न किंवदन्तीहरु छन् । भगवान् श्रीकृष्णले यही ठाउँमा लामो समयसम्म शिवको तपस्या गरेपछि ‘संसारका सबै स्त्रीहरु मोहित होऊन्’ भन्ने बरदान पाएका थिए भन्ने विश्वास रहेको वैकुण्ठ चतुर्दशी मेला समारोह समितिका सचिव किशोर अधिकारीले जानकारी दिए । त्यसैले श्रीकृष्ण र बौडेश्वर महादेव दुवैलाई मिलाएर मन्दिरको नाम श्रीकृष्ण बौडेश्वर राखिएको अधिकारी बताउँछन् ।
सचिव अधिकारीका अनुसार नीलकण्ठ विष सेवनपछि छट्पटिएका भगवान् शिव गोसाइँकुण्डतर्फ जाने क्रममा यो गुफामा समेत बसेका थिए भन्ने स्थानीयको विश्वास छ । यो ठाउँको बारेमा श्री स्वस्थानी व्रत कथामा समेत उल्लेख छ । स्वस्थानीको १२ औं अध्यायमा सतिदेवीको स्तन पतन भएको ठाउँको रुपमा सो मन्दिरको समेत उल्लेख रहेकोले यसको झनै महत्व बढी रहेको अधिकारी बताउँछन् ।
विशाल ढुंगाभित्र रहेको यस मन्दिरमा कात्तिक शुक्ल चतुर्दशीका दिन घरघरबाट बत्ती ल्याएर बाल्दा पारिवारिक सुख एवं सन्तान प्राप्ति हुन्छ भन्ने जनविश्वास छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनको लागि मेला
शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको यो मन्दिर धार्मिक पर्यटनको हिसाबले विशेष महत्व छ । काठमाडौंको मूल शहरबाट नजिकै रहेको झरनामा कपडासहित भिज्दा छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।
यस क्षेत्रमा रहेको १०८ कुण्ड, रामसीताको आकृति रहेको शिला जस्ता आकर्षणलाई व्यवस्थित गर्दै यसलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रयासमा रहेको श्रीकृष्ण बौडेश्वर मन्दिर व्यवस्थापन समितिका सदस्य प्रमोद अधिकारीले जानकारी दिए । उनले मन्दिर क्षेत्रमा पर्यटकीय आकर्षण बढाउन बालमैत्री पार्क, पिकनिक स्पट आदिको निर्माण गर्ने काम चलिरहेको पनि जानकारी दिए ।
प्रतिक्रिया 4