काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध पुनरागमन जितसहित इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउदै पीएसजीलाई २-१ ले पराजित गरेको हो । यस जितपछि सिटी समूह ए को विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।
सिटीको घरेलु मैदान एतिहाडमा भएको खेलमा किलिएन एमबाप्पेले ५०औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
तर ६३औं मिनेटमा सिटीका रहिम स्ट्रर्लिङले बराबरी गोल फर्काए । ७६औं मिनेटमा गाब्रीएल जेससले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
समूह ए मा सिटी ५ खेलबाट १२ अंक जोडेर समूह विजेता बनिसकेको छ । पीएसजी ८ अंकसहित दोस्रो स्थानमा छ ।
यस समूहको अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५-० ले पराजित गरेपछि पीएसजी पनि समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
लाइपजिग र क्लब ब्रुग दुवैको समान ४ अंक छ । यी दुईले अन्तिम खेल जितेपछि पीएसजीलाई भेट्टाउने छैन ।
प्रतिक्रिया 4