
१५ मंसिर, काठमाडौं । चीनमा एमबीबीएस अध्ययन गरेर आएका विद्यार्थीहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा प्रदर्शन गरेका छन् ।
चिकित्साशास्त्र कोर्ष पूरा भएपनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि प्रदर्शनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । नेपाल मेडिकल काउन्सिलले २०१५ र १६ औं व्याजका चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमा इन्टर्नसीप गर्नको लागि स्वीकृति दिएको छैन।
विद्यार्थीहरुको अन्तिम वर्षको सैद्घान्तिक कक्षा केही समय बाँकी रहेको र त्यो अनलाईन कक्षाबाट पूरा गरेकाले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
चीन सरकारको छात्रवृतिमा पढ्न गएका विद्यार्थीको ६ महिना, बाईलिङिग्वील (द्विभाषिक) युनिभर्सिटीमा पढ्न गएकाहरुको ९ महिना र अंग्रेजी माध्यमको विश्वविद्यालयमा पढ्न गएकाहरुको तीन महिना सैद्घान्तिक कक्षा कोभिडका कारण प्रत्यक्ष पढ्न पाएका थिएनन् । ती बाँकी रहेका सैद्घान्तिक कक्षा उनीहरुले अनलाईन मार्फत पढेर परीक्षा समेत दिइसकेको दाबी गरेका छन् ।
तर काउन्सिलले गत १० गते सूचना जारी गर्दै ‘सन् २०१६ र त्यसपछि भर्ना भएकाहरुको हकमा प्रयोगात्मक कक्षा बिना गरिएको अनलाईन अध्ययन अवधिलाई मान्यता दिन नहुने ।’ भनेको छ । उक्त निर्णयले दोहोरो मारमा परेको विद्यार्थीहरुको भनाइ छ । उनीहरुले सन् २०१५ का विद्यार्थीलाई भाषा र कोर्ष भनी काइते भाषामा परिभाषित गर्दै विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
नेपाल मेडिकल काउन्सिलले बाँकी रहेको सैद्घान्तिक कक्षा प्रयोगात्मक सहितको कक्षा लिनुपर्ने र त्यसपछि मात्रै इन्टर्नसीप गर्न दिने बताउँदै आएको छ । सम्बन्धित विश्वविद्यालयले अनलाईन कक्षालाई मान्यता दिँदै परीक्षा लिइसकेको अवस्थामा नेपाल मेडिकल काउन्सिलले पनि मान्यता दिनुपर्ने उनीहरुको माग छ ।
फेरि सैद्घान्तिक कक्षा दोहोर्याएर पढ्दा दोहोरो खर्च हुने र अर्को एक वर्ष समय खेर जाने भएकोले थप ६ महिना गरी डेढ वर्ष इन्टर्नशीप गर्न पाउनुपर्ने माग गरेका छन् । गत असोज १० गते प्रतिनिधि सभाको संसदीय समितिले २०१५ र १६ ब्याचका विद्यार्थीलाई पनि इन्टर्नसीपको व्यवस्था गर्न निर्देशन दिएको थियो ।
तस्वीरहरु: आर्यन धिमाल
प्रतिक्रिया 4