+
+

४ दशकपछि पोखरा फर्किएको राष्ट्रिय खेलकुद : ३९३ स्वर्ण, १० लाखको ट्रफी

विकास रोकामगर विकास रोकामगर
२०७९ साउन २३ गते १६:२६

२३ साउन, पोखरा । दुई वर्षअघि नैै पोखरामा हुनु पर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक पटक तोकिँदै र सर्दै आयो । कुनैबेला तयारी नपुगेको भन्दै त कुनैबेला कोभिड महामारी देखाएर राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिता सार्दै आएको छ ।

यसअघि आठौं राष्ट्रिय ०७५ चैतमा बाँकेमा भएको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद २०७७ सालमै भइसक्नु पर्ने थियो । निर्धारित मितिभन्दा करिब २ वर्षपछि नवौं राष्ट्रिय खेलकुद असोजमा पोखरामा हुने तय भएको छ । प्रताियोगिताको मिति असोज २८ देखि कात्तिक ३ गते तोकिएको छ ।

गण्डकी प्रदेश राजधानी पोखरामा झन्डै ४ दशकपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि ०४० मा दोस्रोे राष्ट्रिय खेलकुद प्रतियोगिता भएपछि कुनै पनि खेल गण्डकीमा भएका थिएनन् ।

दोस्रो खेलकुद भएको ३९ वर्षपछि पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि पहिलो चरणका तयारी पूरा गरिसकेको राखेपले जनाएको छ । तर, खेलप्रेमि फेरि पनि मिति सर्ने हो कि भन्ने संशयमा छन् । कारण हो, मंसिरमा तोकिएको आम चुनाव ।

सरकारले हालैमात्र संघ तथा प्रदेशको चुनाव पनि मंसिर ४ गते गर्ने निर्णय गरेको छ । प्रतियोगिता सकिएको ठिक एक महिनापछि चुनाव मिति भए पनि त्यसले प्रतियोगितालाई असर गर्ने हो कि भन्ने खेलकुद सम्बद्ध संगठनहरुको चिन्ता छ ।
शुक्रबारमात्रै कांगेस निकट लोकतान्त्रिक खेलकुद संघले चुनाव, दसैंतिहार लगायत ठूला चाडपर्व र राष्ट्रिय खेलकुद प्रतियोगिता एकै समयमा हुन लागेको भन्दै पत्रकार सम्मेलन गरेर प्रश्न गरेको थियो । उनीहरुले पोखरामा लामो समयपछि दोस्रो पटक हुन लागेको प्रतियोगितामा गण्डकीका बासिन्दाको अपनत्व हुने गरी सहभागी नगराएकोसमेत आरोप लगाएका थिए ।

तर, राखेपका सदस्य सचिव टंकलाल घिसिङ भने प्रतियोगितालाई चुनावले असर नपार्ने बताउँछन् । चुनाव र राष्ट्रिय खेलकुद दुवै मन्त्रिपरिषद्ले नै निर्णय गर्ने भएकाले परामर्श र समन्वय भइरहेको उनको दाबी छ । ‘निर्वाचन मिति पनि तय भएको छ । तर, त्यसले कुनै असर नगर्ने गरी आवश्यक परामर्श पनि भइरहेको छ,’ सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘प्रतियोगिता घोषित समयमै हुन्छ । लागिरहेका छौं ।’

प्रतियोगिता सकिएको एक महिनापछिमात्रै चुनाव हुने भए पनि खेलको विशेष दिनमा चुनावकेन्द्रित कार्यक्रमहरु नगर्न र नराख्न पनि निर्वाचन आयोगसँग सल्लाह भइरहेको घिसिङ सुनाउँछन् । प्रतियोगिताको उद्घाटन असोज २८ र कात्तिक ३ गते समापन समारोह हुने भएकाले कुनै विशेष कार्यक्रम नराखिदिन अनुरोध गरिएको उनको भनाइ छ ।

‘नवौं सकिएको एक महिनापछिमात्रै चुनाव छ । तर, त्योभन्दा अघि चुनाव केन्द्रित जस्तो नाम नोमिनेसनलगायत कार्यक्रमहरु नजुधाइ राख्न अनुरोध गरेका छौं,’ सदस्य सचिव घिसिङले भने, ‘उहाँ सकारात्मक नै हुनुहुन्छ ।’

प्रतियोगिता हुने मुख्यस्थल पोखरा रंगशालाको प्यारापिटसमेत अझै पूरा नभएका कारण ठेकेदार कम्पनीबाट हस्तान्तरण भइसकेको छैन । सन् २०१९ मा भएको १३ औं साग प्रतियोगिता पनि अधुरै रंगशालामा भएको थियो । ‘यसबारे पनि ठेकेदार कम्पनीसँग कुरा गरिसकेको छु । हप्तादशदिनभित्रै पूरा गर्ने वचन दिनु भएको छ,’ घिसिङले भने, ‘भीआईपी प्यारापिटमा केही प्राविधिक त्रुटि देखिएको थियो ।’

१० लाखको नयाँ ट्रफी

राष्ट्रिय खेलकुदमा नवौं संस्करणदेखि राखेपले नयाँ ट्रफी भित्र्याउने भएको छ । सुन र चाँदीजडित ‘राखेप ट्रफी’को मूल्य १० लाख रुपैयाँ रहेको सदस्य सचिव घिसिङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । ‘त्यो ट्रफीलाई ७ वटै प्रदेशमा ट्रफी टुर गर्नेछौं । सबै प्रदेश लगिसकेपछि सबैभन्दा अन्तिममा पोखरा ल्याइनेछ । गण्डकीमा खेलको टुंगो नलाग्दासम्म यहीं राखिनेछ,’ उनले भने ।

प्रतियोगितामा ३६ आधिकारिक र दुई प्रदर्शनीसहित २८ खेलका ४०७ स्पर्धामा प्रतिस्पर्धा हुने छ । ३६ आधिकारिक खेलमा खेलाडीले ३९३ स्वर्ण, ३९३ रजत र ६०१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताका लागि ११ वटा टिमलाई परिपत्र जारी गरिसकेको राखेपले जनाएको छ । ‘एउटा स्पर्धामा कम्तिमा ४ टिमको सहभागिता हुनुपर्ने छ । नत्र प्रतियोगिताका रुपमा आयोजना गरिने छैन,’ घिसिङले भने ।

भदौ २५ गतेसम्म दर्ता भएका टिमलाई मात्रै मान्यता दिइने राखेपले सुनाएको छ । प्रतियोगिताका लागि एउटा अनुगमन समितिसहित १४ वटा उपसमिति गठन गरिएको छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?