२५ साउन, काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेले भारतीय महिला लिगको छनोट प्रतियोगिता खेल्ने भएका छिन् ।
नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने दीपा भारतीय महिला लिग छनोट खेल्ने आज दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन् ।
दीपाले केरेला प्रिमियर लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् । केरेला प्रिमियर लिगको विजेता महिला लिगमा छनोट हुनेछ ।
‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसरसमेत हो,’ दीपाले भनिन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाइटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो ।
दीपाले सम्झौता एक सिजनको लागि भएको र सम्झौता रकम भने गोप्य रहेको बताइन् । ‘प्रतियोगिताको लागि सम्झौता भएको हो । महिला लिगमा छनोट भएमा, त्यसमा पनि अवसर मिल्ने कुरा भएको छ’ दीपाले भनिन् ।
अगस्ट १० बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्नेछन् ।
डन बोस्कोले आफ्नो पहिलो खेलमा बिहीबार लड्र्स पीआरविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया 4