+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भक्तपुरमा तयार हुँदैछ तिहारको पाला

रासस रासस
२०७९ असोज २५ गते १५:३३

२५ असोज, भक्तपुर । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । ‘तिहार आउन अझै दुई साता बाँकी छ । मागअनुसारको पाला एक हप्ताभित्र पठाउनुपर्छ’, भक्तपुर तालाक्वका गङ्गालक्ष्मी प्रजापतिले भने।

तिहार नजिकिएसँगै तालक्वका कुमाले समुदायको दिनचर्या नै पाला तयार गर्नेमै बित्ने गरेको गङ्गालक्ष्मी बताउँछिन् । तिहारमा पालाको माग अत्यधिकमात्रामा उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन् । तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट माग आउने भएकाले अन्य भाँडा बनाउने कामलाई थाती राखेको गङ्गालक्ष्मीले बताइन् ।

‘बिहान ५ बजेदेखि अघिल्लो दिन नै तयार गरी राखेको माटोले पाला बनाउने, सुकाउने, रातो माटोको रङ लगाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा दिन बित्छ । अहिले अन्य भाँडाकुँडा बनाउने समय छैन’, गङ्गालक्ष्मीले भनिन् ।

अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह, सूर्यविनायक र चुनदेवीका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।

तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा पालामा दियो बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ ।

पछिल्लो समय तिहारमा पालासँगै बत्ती बाल्न विद्युतीय बत्तीको मागसमेत उच्च छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्यरुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा बर्सेनि पालाको माग बढ्ने गरेको अर्का व्यवसायी रामप्रसाद प्रजापति बताउँछन्।

उनले केही वर्ष पहिले मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि पालाको माग बढेको जानकारी दिए । ‘विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षाको दृष्टिकोणले पालालाई अत्यन्तै राम्रो र उत्तम मानिने भएकाले बजारमा यसको माग बढेको हो’, रामप्रसादले भने ।

कुमाले टोलमा तयार गरिएका पाला होलसेल व्यापारीलाई बिक्री गरिन्छ । होलसेल व्यापारीले पालाको साइजअनुसार ठूलो सानो हेरी मूल्य निर्धारण गरेर त्यसमा केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्तामाझ पुर्‍याउने गरेको रामप्रसादले बताए ।

भक्तपुरको कुमाले टोलमा तयार गरेको पाला काभ्रेको बनेपा, धुलिखेल, पनौती, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले पनि लिन आउने गरेको रामप्रसादले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?