+
+
नवौं राष्ट्रिय खेलकुद :

भलिबल खेलाडी दैनिकजसो घाइते, चन्दा उठाएर उपचार

विकास रोकामगर विकास रोकामगर
२०७९ कात्तिक १ गते १४:५१

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा २८ गतेबाट सुरु भएको पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीका खेलाडी प्रेम कुमाल घाइते भए । उद्घाटन खेलको दोस्रो सेटमै खुट्टा भाँचेका उनी मैदान फर्किने कुरै भएन ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा घाइते भएका कुमालको दुर्घटना बीमा थिएन, उनले आफ्नै खर्चमा उपचार गर्नुपर्ने बाध्यता आइलाग्यो । तर, आर्थिक अवस्था कमजोर भएका उनले आफ्नै खर्चमा उपचार गर्न सकेनन् ।

खेलकै क्रममा घाइते भए पनि आयोजकले खर्च नव्यहोरेपछि कुमालको उपचार गर्न देशविदेशबाट आर्थिक सहयोग संकलन गर्न थालियो । र, नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रंगशालामै १ लाख ३२ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरियो ।

जारी प्रतियोगितामा घाइते हुने उनी एक्ला होइनन् । प्याराग्लाइडिङ खेलाडी निसिम थापाको त दुर्घटनामा परेर मृत्यु नै भएको छ । भलिबलकै र अन्य खेलका अरु खेलाडी पनि घाइते भएका छन् ।

मंगलबारमात्रै लुम्बिनी प्रदेश र विभागीय टिम एपीएफबीच भइरहेको भलिबल खेलमा लगालग ३ जना घाइते भए । घाइते हुनेमा लुम्बिनी प्रदेशका विजय परियार, एपीएफका देवराज अवस्थी र रुपेन्द्र गैह्रे गम्भीर घाइते छन् । खेलकै क्रममा खेलाडी घाइते भएपछि खेलै रोकिएको छ ।

भलिबलका खेलाडी दैनिक जसो नै घाइते भइरहेका छन् । यसरी किन दैनिक खेलाडी घाइते भइरहेका छन् त ?

लुम्बिनी प्रदेशका टिम क्याप्टेन लोकेन्द्र भण्डारी भन्छन्, ‘आउटडोरमा पनि म्याट राखेर खेलाइएको छ । हामीले सुरुदेखि नै यस्तो म्याट हुँदैन, दुर्घटना हुन्छ भन्दै आयौं । तर, लापरबाही गरियो ।’ त्यसअघि पनि लुम्बिनीकै खेलाडी चिरञ्जीवी खड्का खेलकै क्रममा घाइते भएका थिए ।

भण्डारीले राष्ट्रिय खेलमा सहभागी हुन आए पनि आफूहरुलाई सुरक्षा प्रत्याभूति नहुँदा दुख लागेको सुनाए । ‘हाम्रो लाइफको ग्यारेन्टी खै त ? राष्ट्रिय खेलकुदमा आएजस्तै लागेको छैन,’ उनले भने, ‘खेलमा घटना नघट्ने भन्ने होइन । तर, इन्सुरेन्स पनि नहुँदा आफ्नै खर्चमा उपचार गर्नुपर्ने अवस्था छ ।’ उनले अरु खेलमा बीमा भए पनि भलिबलमा नभएको दाबी गरे ।

खेलाडी र टिमले म्याट नहटाएसम्म नखेल्ने अडान लिएपछि अहिले म्याट हटाइएको छ ।

भलिबल कोर्टमा रहेको म्याट हटाएपछि मात्रै खेल सुरु गर्न आफूहरुले माग राखेको लुम्बिनीका कप्तान भण्डारीले बताए । ‘इन्डोरमा भए ठिकै हो । तर, आउटडोरमा यो म्याट ठिक होइन,’ उनले भने ।

प्रदेश खेलकुद परिषद्का सदस्य तथा नवौं राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमिति सदस्य केशव पाठकका अनुसार भलिबल कोर्टमा बिच्छ्याइएको म्याट पुरानो हो । ‘यहाँ आएको म्याट नवलपुरमा सेपाकटाक्रोका लागि पठाइएको छ । यो म्याट र नेट पुरानै हो,’ उनले भने, ‘यसबारे पहिले नै जानकारी दिएको हो । तर, वास्ता भएन ।’

गण्डकीमा सबैभन्दा लोकप्रिय रहेको भलिबल खेलका प्रतिस्पर्धा पोखरा रंगशालामा चलिरहँदा १०० रुपैयाँको टिकट काटेरै दर्शकले हेर्ने गरेका छन् । अन्य खेल निशुल्क हुँदा खेलस्थल खाली हुने गरे पनि भलिबलमा टिकट काटेरै पनि दर्शकको घुइँचो लाग्ने गरेको छ ।

भलिबल संघले खेललाई व्यवस्थित बनाउन टिकट लिइरहेको दाबी गरेको छ । गण्डकी प्रदेश भलिबल संघ गण्डकीका महासचिव टहलसिंह थापाले भने, ‘खेललाई व्यवस्थित गराउन र कोषवृद्धिका लागि राखेपसँगकै अनुमतिमा टिकट दिन थालेका हौं ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?