 
																			१५ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय तहको सिकाइ उपलब्धि अत्यन्तै कमजोर रहेको बताएका छन् । तुलनात्मक रुपमा पछिल्लो समय विद्यालय तहमा पढाइ छोड्ने विद्यार्थीको संख्या कम भएपनि सिकाइसहित कक्षा चढेको तथ्यांक नभएको उनको भनाइ छ ।
उनले भने ‘विद्यालय तहमा सिकाइ उपलब्धी अत्यन्तै दयनीय छ । विद्यार्थी कक्षा मात्रै चढेका छन् तर सिकाइसहित कक्षा चढेको तथ्यांक छैन ।
आइतबार शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) को आठौं वार्षिक साधारणसभामा मन्त्री खनालले विद्यालय तहमा सिकाइ कमजोर भएकोले उच्च शिक्षामा पनि त्यसको प्रभाव देखिन थालेको बताए ।
उनले भने, ‘विद्यालय तहमा सिकाइ उपलब्धि कमजोर थियो नै झन् कोभिड पछाडिको अवस्था दयनीय छ । त्यसको प्रभाव उच्च शिक्षामा पनि गुणस्तर घटेको देखिन्छ ।’
पछिल्लो २० वर्षयता शिक्षा क्षेत्रमा काम गर्ने निकायहरु, सरोकारवालाहरुले सबैको पहुँचमा शिक्षा पु¥याउनको लागि काम गरेको र एक हदसम्म सफल भएको पनि भएको र अब भने गुणस्तरीय शिक्षा वितरणको लागि काम गर्नुपर्ने बताए ।
मन्त्री खनालले अहिले सामान्य सुधारका लागि कामहरु भइरहेको जानकारी दिए । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी), समकक्षता प्रमाणपत्र अनलाइनमार्फत दिनको लागि अध्ययन सुरु भएको, शिक्षकहरुलाई मासिक रुपमा तलब दिन, समयमा पाठ्यपुस्तक पुर्याउन अपनाउनुपर्ने प्रक्रियाकाको विषयमा काम भइरहेको जानकारी दिए । उनले भने ‘अहिले हामी सामान्य सुधारको लागि काम गर्ने प्रयासमा छौं । त्यसपछि शिक्षा ऐन, विश्वविद्यालय छाता ऐन लगायतको विषयमा पनि काम गर्छौं ।’
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शैक्षिक गुणस्तर उकास्नको लागि तालिम, गुणस्तर निर्धारण मापदन्डको लागि काम भइरहेको जानकारी दिए । उनले भने ‘हाम्रो विद्यालय तहको सिकाइ उपलब्धी कमजोर छ । त्यो सुधारको लागि शिक्षकहरुलाई तालिमको आवश्यकता भएकोले तालिमको कामहरु भइरहेको छ ।’
इजोनका निवर्तमान अध्यक्ष प्रकृति अधिकारीले राष्ट्रिय शिक्षा दिवसको मिति तय गरिनुपर्ने बताए । २०७७ साल यता शिक्षा दिवस कहिले मनाउने भन्ने निश्चित नहुँदा मनाइएको छैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4