एसिया रग्बी यू-२० सेभेन्स शनिबारदेखि, नेपालको लक्ष्य उपाधि जित्ने
१ भदौ, काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बीको संघको व्यवस्थापनमा यही भदौ २ र ३ गते एसिया रग्बी यू-२० सभेन्स महिला र तथा पूरुष प्रतियोगिता हुँदैछ ।
उक्त प्रतियोगिताको लागि लामो समय क्लोज क्याम्प बसेर तयारी गरेकोले नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ ।
नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र नेपाली टिम पनि तयार रहेको जानकारी गराएको छ ।
नेपाली रग्बी इतिहासमा नेपालमा आयोजना हुन लागेको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
यसअघि नेपालमा यू-१८ सेभेन्स आयोजना भएको थियो भने यू-२० पहिलो पटक हुन लागेको हो ।
यस प्रतियोगिताको लागि नेपाली यू-२० महिला तथा पुरुष राष्ट्रिय टोलीले पोखरामा ५० दिनको बन्द प्रशिक्षण राखेको थियो । श्रीलंकन प्रशिक्षक विजेलाथ सनले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए ।
लामो समयको प्रशिक्षणले नेपाली टोलीले यस पटक राम्रो नतिजा ल्याउने विश्वास रहेको संघका महासचिव गोविन्द घिमिरेले जानकारी दए ।
संघका जनरल म्यानेजर विजय खड्काले महिला तर्फ नेपालले उपाधिको लक्ष्य राखेको बताए । उनले भने, ‘सबै टिम राम्रो छ । कडा प्रतिस्पर्धा हुनेछ । तर हाम्रो लक्ष्य उपाधि नै छ ।’
प्रतियोगितामा एसियाका ७ राष्ट्र नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेई, हङकङ र उज्वेकिस्तानको सहभागिता हुनेछ ।
जसमा पुरुषतर्फ सहभागि सातवटै राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ नेपालसहित थाइल्याण्ड, हङकङ र मलेसियाको सहभागिता हुनेछ ।
पुरुषतर्फ दुई पुलमा विभाजन गरेर लिगकम नकआउटका आधारमा खेल हुने र महिलातर्फ सिंगल राउण्ड रोविन लिगका आधारमा खेल हुने संघले जनाएको छ ।
पुरुषतर्फ नेपाल, भारत, मलेसिया र हङकङ समूह बी मा छन् भने थाइल्याण्ड, उज्वेकिस्तान र चाइनिज ताइपेई समूह ए मा छ ।
प्रतियोगिताको लागि सहभागी टिमहरु काठमाडौं आइसकेका छन् ।
उद्घाटन खेलमा नेपाल र भारत भिड्ने प्रतियोगिता उद्घाटन खेलमा पुरुषतर्फ नेपाल र भारत भिड्ने छन् । उक्त खेल शनिबार बिहान १० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।
पहिलो दिनै पुरुष टोलीले मलेसियासँग पनि खेल्नेछ । नेपाली महिला टोलीले पहिलो दिन हङकङसँग पहिलो खेल खेल्नेछ । महिला टिमले पहिलो दिनै मलेसिया र थाइल्याण्डसँग पनि खेल्नेछ ।
महिलातर्फ नेपालले दोस्रो दिन फेरि तीनवटै राष्ट्रसँग खेल्नेछ । दुई दिने प्रतियोगितामा कूल ३१ खेल हुनेछ ।
हरेक खेल १५ मिनेटको हुनेछ । पुरुषतर्फ लिग चरणको खेलपछि सेमिफाइनल र फाइनल हुनेछ । महिलातर्फ भने डबल राउण्ड रोविनपछि शीर्ष स्थानमा रहने टोली सिधै च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया 4