काठमाडौं । लोकप्रिय सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामका प्रमुख कार्यकारी अधिकृत एडम मोसेरीले हालै आफ्नो असाधारण करिअर यात्राका विषयमा सोसल मिडियामा शेयर गर्दै आफ्ना फलोअर्स लगायतका इन्टरनेट प्रयोगकर्ताहरुलाई प्रभावित तथा प्रेरित गरे ।
सन् २०१८ को अक्टोबरदेखि इन्स्टाग्रामको प्रमुखका रुपमा रहँदै आएका मोसेरीले मेटाको स्वामित्वमा रहेको प्लाटफर्म थ्रेड्समा चलिरहेको एउटा भाइरल ट्रेण्डमा भाग लिएका छन् जहाँ प्रयोगकर्ताहरुले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा निर्वाह गरेका विभिन्न पाँचवटा भूमिकाको बारेमा खुलासा गर्नुपर्दछ ।
आफ्नो पोस्टमा मोसेरीले आफूले एक वेटरको रुपमा आफ्नो करिअरको सुरुवात गरेको र पछि वारटेन्डर बनेको बताएका छन् । आफ्नो तेस्रो जागिरका रुपमा उनले डिजाइनर तथा प्रबन्धकको पद सम्हालेका थिए भने इन्स्टाग्रामको सीईओको रुपमा आउनुअघि उनीे प्रडक्ट म्यानेजरको रुपमा काम गर्दथे ।
मोसेरीको थ्रेड्स पोस्टमा केही घण्टामै हजारौँ लाइक्स तथा प्रतिक्रियाहरु प्राप्त भए । इन्टरनेट प्रयोगकर्ताहरुले उनको दृढ संकल्प तथा कार्यनीतिको तारिफ गरेका छन् । कतिपय प्रयोगकर्ताले आफ्नो समेत जागिरको इतिहास शेयर गर्दै आफूहरु मोसेरीको वैयक्तिक विवरणबाट प्रभावित भएको उल्लेख गरेका छन् ।
एकजना प्रयोगकर्ताले लेखेका छन्– तपाईंले कहाँबाट सुरु गर्नुभयो भन्ने कुराले अर्थ राख्दैन । तपाईंले कहाँ अन्त्य गर्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
लिंक्डइन प्रोफाइलमा उल्लेख भएअनुसार मोसेरीले न्यूयोर्क विश्वविद्यालयबाट सूचना डिजाइन विषयमा स्नातक उत्तीर्ण गरेका छन् । सन् २००८ मा फेसबुक कम्पनीमा उत्पादन डिजाइनरको रुपमा सेवा प्रवेश गरेसँगै उनको करिअरले महत्वपूर्ण मोड लिएको थियो । अहिले उनी इन्स्टाग्रामका प्रमुख छन् र मेटाको नवीनतम प्लाटफर्म थ्रेड्स पनि हाँकिरहेका छन् ।
पछिल्लो पोस्टमा मोसेरीले हालै लण्डनमा एक वर्ष बिताएर आफू अमेरिका फर्किएको बताएका छन् । त्यहाँ उनले लण्डनस्थित इन्स्टाग्राम कम्पनीको नेतृत्व गरेका थिए । आफ्नो लण्डन सुरुवातसँगै कम्पनी तथा कर्मचारी टिमको रणनीतिमा भारी परिवर्तन आएको उनको दाबी छ ।
– एजेन्सी
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4