+

भुवन कार्कीले ८ विकेट लिएपछि धनगढी स्पोर्ट्स एलपीएलको सेमिफाइनलमा

२०८० मंसिर  २८ गते २१:२३ २०८० मंसिर २८ गते २१:२३
भुवन कार्कीले ८ विकेट लिएपछि धनगढी स्पोर्ट्स एलपीएलको सेमिफाइनलमा

२८ मंसिर, काठमाडौं । देब्रे हाते स्पिनर भुवन कार्कीले ८ विकेट लिएपछि धनगढी स्पोर्ट्स क्लब कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल ) को आठौँ संस्करणको सेमिसफाइनल प्रवेश गरेको छ।

जित्नैपर्ने खेलमा धनगढीले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गरेको हो । एलपीएलको सेमिफाइनलमा यसअघिनै समूह ‘बी’ बाट युथ अफ टीकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी पुगिसकेका थिए ।

शुक्रबार प्रतियोगिताको दुईवटा सेमिफाइनल खेल सञ्चालन हुनेछन् । पहिलो सेमिफाइनल विहान ९ बजे धनगढी स्पोर्ट्स क्लब र घोडाघोडी क्रिकेट एकेडेमी तथा दिउँसो १ बजे सत्यवती एकेडेमी र युथ अफ टीकापुर प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।

फाप्ला क्रिकेट मैदानमा धनगढी स्पोर्ट्स क्लबले दिएको १६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोर ले १९.३ ओभरमा ९६ रन बनाउदा सबै विकेट गुमायो।

लक्ष्य पछ्याउने क्रममा ७९ रनमा १ विकेट गुमाएको अवस्थाबाट थप १७ रन जोड्दा खप्तड स्पोर्ट्सले सम्पूर्ण विकेट गुमायो ।

प्लेयर अफ द म्याच घोषित भएका भुवन कार्कीले ८ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिए । त्यस क्रममा कार्कीले इनिंग्सको पन्ध्रौँ ओभरमा ३ विकेट तथा सत्रौं ओभरमा ४ विकेट लिएका थिए। कार्कीले तिन पटक लगातार २/२ विकेट लिएता पनि ह्याट्रिक विकेट भने पूरा गर्न सकेनन्। कार्कीले तीन ब्याटरलाई बोल्ड तथा पाँच ब्याटरलाई क्याच आउट पारे। टीमका अर्का स्पिनर सुनिल धमलाले २ विकेट लिए।

खप्तड इन्डोर स्पोर्ट्सको ब्याटिङमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

टस हारेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

धनगढी स्पोर्ट्सको लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान दिए। धमलाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे।

कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमर सिंह रौटेलाले अविजित १२ रन योगदान दिए। धमलाले दोस्रो विकेटको लागि भुवन कार्कीसंग ८४ रनको तथा तेस्रो विकेटको लागि प्रनित थापासंग ५४ रनको साझेदारी गरे।

खप्तड इन्डोर स्पोर्ट्सको बलिङमा रवि विष्ट र आर्यन विष्टले २/२ विकेट तथा बिरेन्द्र बमले १ विकेट लिए।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

एलपीएल धनगढी स्पोर्टस्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय