२६ माघ, काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पीजीटीआई) को फुल कार्ड प्राप्त गर्न सफल भएका छन्।
जम्सेधपुरस्थित ७१ पारको गोलमुरी गल्फ क्लवमा आज सम्पन्न टाटा स्टील पीजीटीआई क्वालिफाइङ स्कुलको अन्तिम दिन ४–अन्डर ६७ को स्कोर कार्ड बनाउँदै उनले ७२ होलको प्रतिस्पर्धामा १३–अन्डर २ सय ७१ को रवाफिलो स्कोर खडा गर्दै सम्युक्त रुपमा दोश्रो स्थान बाँडे।
क्वालिफाइङ स्कुलमा पहिलो दिनदेखि नै उत्कृष्ट प्रदर्शन गरेका सुवासले अन्तिम दिन पनि लोभलाग्दो प्रदर्शन गरे। उनले फ्रन्ट नाइन १–अन्डर ३४ मा पुरा गरे। दोस्रो, चौथो र नवौं होलमा बर्डी प्रहार गरे र पाँचौ र सातौं होलमा एक–एक सट खेर फाले। यसपछि ब्याक नाइन बोगी फ्री खेले।
१०औं, ११औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्दै उनले ३–अन्डर ३३ को स्कोर दर्ज गरे। सुवासले पहिलो दिन ४–अन्डर ६७, दोश्रो दिन ५–अन्डर ६६ र तेस्रो दिन इभन–पार ७१ मा खेल सकाएका थिए।
प्रभावशाली प्रदर्शनमा सुवासले सन २०२४ को भारतीय गल्फ टुरको लागि फुल कार्ड प्राप्त गरेका छन। यो सँगै उनको प्रोफेसनल गल्फ करियरको सुरुवात हुनेछ। सुवास नेपाली एमेच्योर गल्फका अहिलेसम्मकै सर्वाधिक सफल गल्फर हुन। उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक दुई स्वर्ण जितेका थिए।
यसपछि बङ्गलादेश ओपनमा सदभाव आचार्यसँग मिलेर टिमतर्फ पनि स्वर्ण जितेका थिए। सो प्रतियोगितामा उनले व्यक्तिगततर्फ रजत हात पारेका थिए। टुरिजमा कपमा पनि उनले नेपाललाई टिमतर्फ स्वर्ण दिलाएका थिए।
सुर्य नेपाल गल्फ टुरमा सुवासले प्रोफेसनल गल्फरहरूलाई कयौं पटक पछि पारे। उनले ५ पटक प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितिसकेका छन। यसरी एमेच्योर रहँदै उनले घरेलु टुरमा सनसनी मच्चाएका थिए। पछिल्लो समय नेपाल गल्फ संघले सुवासलाई विशेष प्रशिक्षणको लागि भारतको तरूण सरदेशाई एकेडेमीमा पठाएको थियो। अहिले पनि उनी सोही एकेडेमीमा प्रशिक्षणरत रहेका छन। उनले २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीबाट स्कलरशिप समेत पाएका छन।
अब सुवासले नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईसँगै भारतीय गल्फ टुरमा प्रतिस्पर्धा गर्नेछन। शुक्रले गत सिजनको अर्डर अफ मेरिटमा ५२औं स्थानमा रहँदै आफ्नो कार्ड सुरक्षित राखेका छन्।
प्री क्वालिफाइङको तीन प्रतियोगिता पश्चात कुल १ सय २३ गल्फरले भाग लिएको अन्तिम चरणमा ३६ होलको समाप्तीमा उत्कृष्ट ८० जनाले कट बनाएका थिए। जहाँ कूल ४–अण्डर २ सय ८० को स्कोरमा उत्कृष्ट ३७ जनाले पीजीटीआईको फुल कार्ड प्राप्त गरे।
यो प्रतियोगिताको उपाधि चील्लीका माटियास डोमिङग्वेजले हात पारे। अन्तिम दिन ७–अन्डर ६४ खेल्दै उनले समग्रमा २०–अन्डर २ सय ६४ को स्कोर निकाले।
नेपालका सुवाससँगै भारतीयद्वय मोहम्मद सन्जु र एमेच्योर अंशुल कब्थियाल कुल १३–अन्डर २ सय ७१ सहित संयुक्तरुपमा दोस्रो भए। यो पटक पीजीटीआई क्यु–स्कुलमा सहभागी ४ सय १९ गल्फर मध्ये भारत बाहेक १७ देशका ६१ खेलाडीले दाबेदारी प्रस्तुत गरेका थिए।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4