 
																			३० वैशाख, धनगढी । अतिरिक्त भत्ता वापतको रकम नपाएको भन्दै जिल्ला अस्पताल बैतडीमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । उनीहरुले आकस्मिक र मातृ सेवातर्फका बाहेक अरु काम बहिस्कार गरेका छन् ।
जिल्ला अस्पतालका निमित्त प्रमुख समेत रहेका डा. हरिशचन्द्र विष्टले अतिरिक्त समय र सार्वजनिक बिदामा गरेको कामवापतको भत्ता माग गर्दा समेत बेवास्ता गरिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको सुनाए ।
‘हामीले एकपटक होइन पटक–पटक प्रदेशको सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्यकर्मीले पाउनुपर्ने अतिरिक्त भत्ता वापतको रकम माग गरेका छौं तर अहिलेसम्म कुनै सुनवाइ भएन’, डा. विष्टले भने, ‘चैत मसान्तभित्र रकम पठाउछौं भन्ने प्रतिवद्धता मन्त्रालयले जनायो तर नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको हो ।’
उनका अनुसार अस्पतालमा कार्यालय सहयोगीदेखि चिकित्सकसम्म ९३ जनाले अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामबापतको भत्ता पाउन बाँकी छ । स्वास्थ्यकर्मीले बुधबार प्रदेश सरकारलाई ९६ घण्टे अल्टिमेटम दिदै माग सम्बोधन नभए संघर्षमा जाने चेतावनी दिएका थिए ।
तर यो अवधिमा मन्त्रालयले माग सुनवाइ गर्न तदारुकता नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरु बताउँछन् । माग सम्बोधन नहुँदासम्म आकस्मिक र मातृ सेवा बाहेकका कुनै पनि सेवा नगर्ने स्वास्थ्यकर्मीको चेतावनी छ ।
डा. विष्टका अनुसार गत वर्ष अतिरिक्त भत्तामा सामाजिक विकास मन्त्रालयले ६० लाख रुपैयाँ बजेट पठाएको थियो भने यो वर्ष अस्पतालले ४९ लाख मात्र माग गरेको थियो ।
मन्त्रालयले १२ लाख रुपैयाँ निकासा गरेको भएपनि विभिन्न कारण देखाउदै थप बजेट पठाएको छैन । मन्त्रालयले अहिले मन्त्री नभएको कारण देखाउँदै माग सुनवाइ गर्नमा आलटाल गरिरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4