३० असार, काठमाडौं । मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको छ ।
राखेपले आइतबार एक कार्यक्रमकाबीच जापानमा हुने २०औं एसियाली खेलकुदलाई लक्षित गरी सञ्चालन गरेको मिसन २०२६ अन्तर्गत आव २०८०/८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विशेष प्रशिक्षणलाई राखेपको मुख्य कार्यक्रम भएको बताएका छन् ।
‘मिसन– २०२६ परिषद्को मुख्य कार्यक्रम हो । अर्को आर्थिक वर्षमा पनि यसलाई निरन्तरता दिइने छ’, सदस्य सचिव घिसिङले भने, ‘मैले सदस्य–सचिवको पदभार ग्रहण गरेकै दिन दुई वटा फाइल सदर गरेको थिएँ, पहिलो खेलकुद बीमालेख कार्यान्वयनमा ल्याउने, दोस्रो राष्ट्रिय टिमको तयारी नियमित र दिर्घायु रुपमा अगाडि बढाउने । यी दुवै योजना पूरा भएको छ ।’
उनले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा फिजिकल फिट्नेस सेन्टर बनाउन यसै हप्तामा टेन्डर आह्वान हुने पनि बताए । यसका लागि ७ करोड बजेट विनियोजन भएको घिसिङले जानकारी दिए ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबै खेलाडी, प्रशिक्षक र संघका पदाधिकारीले २०औं एसियाली खेलकुदमा पदक नै अन्तिम लक्ष्य हो भनी अगाडि बढ्नुपर्ने बताए ।
राखेपले २०८० साल माघ १५ देखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा कराँते, तेक्वान्दो, उसु, जुडो र बक्सिङलाई समावेश गरी राष्ट्रिय टिमको विशेष प्रशिक्षण सुरु गरेको थियो ।
दोस्रो चरणमा २०८१ साल जेठ ६ गतेदेखि महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स थप्दै खेल संख्या १० पुर्याइएको थियो ।
जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन– २०२६ को सुरुवात गरिएको हो ।
 
                    










 २०८१ असार  ३० गते २०:२१
                        २०८१ असार  ३० गते २०:२१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4