 
																			२३ माघ, काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–६ का माइकल डंगौरा उमेरले यतिबेला जम्माजम्मी २२ वर्षका भए । तर, यो उमेरमा उनले जोडेको सम्पत्ति देखेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारीहरू भने चकित बनेका छन् । १८ माघमा उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा करोडौंको सम्पत्ति र नगद भेटिएपछि सआईबीका अनुसन्धान अधिकृत अचम्मित छन् ।
करोडौंको सम्पत्ति पछिल्लो डेढ वर्षमै जोडेको प्रहरी समक्ष उनले बताएका छन् । माइकलले काठमाडौं बूढानीलकण्ठको भंगालमा हालसालै साढे ३ करोड मूल्यमा पक्की घर किनेका छन् । त्यतिमात्रै होइन, उनको बैंक खातामा समेत ४ करोड रुपैयाँ मौज्जाद भेटिएको छ । ठगीबाटै खरिद गरेको क्रेटा गाडी पनि प्रहरीले बरामद गरेको छ । कैलालीमा पनि करोड बढी खर्चेर आलिसान घर बनाएको सीआईबीका अधिकारीहरू बताउँछन् ।
माइकलले साढे ३ करोडमा किनेको घर र गाडी भने अरू नै व्यक्तिको नाममा रोखेको पाइएको छ । ‘बैंकको रकम रोक्का गरिसकिएको छ । घर, गाडी जफत हुनसक्ने भन्दै उनले अरू नै व्यक्तिको नाममा पास गरेको पाइएको छ । ‘यो पनि रोक्का गर्ने प्रक्रियामा छौं,’ सीआईबीका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
‘उमेर जम्मा २२ छ । सम्पत्ति हेर्दा करोडका करोड भेटिएको छ । त्यो पनि पछिल्लो डेढ वर्षकै अवधिमा खरिद गरेको भेटिएको छ,’ सीआईबीका प्रवक्ता एसपी सुधीरराज शाहीले भने ।
माइकललाई पक्राउ गरेपछि सीआईबी उनी बस्ने कोठमा गएर विभिन्न ब्रान्डका एक दर्जन मोबाइल, २ थान सीपीयू, १९ थान चेक र नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । पछि अनुसन्धान गर्दा माइकलले साढे ३ करोडमा घर नै खरिद गरेको भेटिएको हो ।
भर्खर २२ वर्षका उनी आईटीमा स्नातक तह अध्ययनरत छन् । जागिरका नाममा कुनै पेसामा आबद्ध नभएका उनी अनलाइन ठगी, क्रिप्टो कारोबार, बैंकिङ ‘फ्रड’ लगायतमा संलग्न रहेको खुलेको छ । अनलाइन ठगीमा विदेशी गिरोहका ‘मास्टर एजेन्ट’ रहेका उनले पछिल्लो विभिन्न प्रलोभन देखाएर अन्य युवालाई समेत ठगी गिरोहको सदस्य बनाएर काम गरेको देखिएको छ ।
माइकलको समूहका ७ सदस्यलाई सीआईबीले पक्राउ गरेर अहिले अनलाइन ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ । माइकलसँगै बर्दगोरिया गाउँपालिका–६ घर भएका २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठ–८ का पियुष श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाईं, रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी, भारत बिहारका २७ वर्षीय रोशन कुमार र बिहारकै ३६ वर्षीय मुन्ना कुमारमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका क्रममा अनलाइनको विदेशी ठगी गिरोहको सदस्य बनेर सुरुमा माइकलले ठगी धन्दा चलाएको खुलेको छ । पछि भने उनी आफैं पनि नाइके बनेर अन्य व्यक्तिहरू परिचालन गरेर ठगी गरेको भेटिएको एसपी शाही बताउँछन् ।
यसअघिसम्म प्रहरीले अनलाइन ठगीका नेपाली एजेन्ट मात्रै पक्राउ गरेको थियो । तर, माइकल भने आफैं अनलाइन ठगीको गिरोहको नाइके बनेर पछिल्लो समय काम गर्न थालेको पाइएको छ । माइकलले संगठित रूपमा व्यक्ति परिचालन गरेर ठगी तथा क्रिप्टोको कारोबार गर्ने गरेको पाइएको छ ।
माइकलले ह्वाट्स एप, टेलिग्राम, फेसबुकलगायत सामाजिक सञ्जालबाट अन्य व्यक्तिमार्फत सम्पर्क गरेर उनीहरूलाई काम लगाउने गरेको पाइएको छ । उनले विशेष गरी आश्विन चौलागाईंलाई काम दिने गरेका थिए । ठगी गरेको पैसा कलेक्सन गरेर उनै चौलागाईंले विभिन्न लेअरहरूमा ट्रान्सफर गरी पठाउने गरेको पाइएको छ ।
वालेट तथा बैंकको आधिकारिक व्यक्ति भन्दै सम्पर्क गरेर यो समूहले ओटीपी कोड पिन नम्बर समेत मागेर अनधिकृत रूपमा बैंक र वालेटमा पहुँच पुर्याएर रकम झिक्ने गरेको समेत पाइएको छ ।
सामाजिक सञ्जालहरूमा अनलाइन जब, घरमै बसेर काम गर्न सकिने जस्ता प्रलोभन देखिने विज्ञापन गर्ने, विभिन्न लिंकहरू पठाउने गरेका थिए । उक्त लिंक खोलेपछि साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटहरूमा पहुँच पुर्याउने गरेको समेत भेटिएको छ ।
‘अहिले धेरै युवा युवती बेरोजगार छन् । उनीहरूलाई नै केन्द्रमा राखेर अनलाइन जब भन्दै फिसिङ लिंक पठाएर अनलाइन स्क्यामिङ गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।
यसरी ठगी गरेको रकम माइकलले अन्य विभिन्न व्यक्तिहरूको बैंक खातामार्फत नगद बुझ्नेदेखि विदेश पुर्याउने गरेकोसम्म भेटिएको छ । यसका लागि बैंक खाता प्रयोग भएका व्यक्तिहरूलाई निश्चित कमिसन समेत दिने गरिएको थियो ।
अर्कातर्फ अनलाइन जागिरका लागि भन्दै बैंक खाता खोल्न लगाउने ती बैंक खाता तथा वालेटहरू समेत आफैंले प्रयोग गरेर ठगी गरेको रकम ती खातामा समेत जम्मा हुने गरेको खुलेको छ ।
यो समूहले क्रिप्टोको खरिद बिक्रीदेखि हुन्डीको कारोबार गर्ने गरेको समेत भेटिएको छ । ठगीबाट आर्जित रकम उनीहरूले क्रिप्टो र गेम पोइन्ट किन्ने गरेको पाइएको छ । यसरी अहिलेसम्म तीन अर्बभन्दा बढी ठगी गरेको पाइएको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4