 
																			३ फागुन, काठमाडौं । नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल युनिफिल (युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान) मा आफ्नो दुई वर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्किने तयारीमा थिए ।
नाकुरास्थित युनिफिल फोर्स हेडक्वार्टरमा शुक्रबारै विदाइ भइसकेको थियो । राति स्वदेश फर्किन उनी शान्ति मिसनको ‘कन्भोय’का साथ विमानस्थलतिर हिंडेका थिए ।
उपरथी ढकाल सवार गाडी बीचमा थियो, अगाडि र पछाडि दुवैतर्फ सुरक्षाकर्मीहरु रहेको जिपले इस्कर्ट गरिरहेको थियो । तर, विमानस्थल पुग्नै लागेका बेला एक्कासी प्रदर्शनकारीहरु सडकमा निस्किए ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार, पहिलो गाडी क्रस गर्ने बित्तिकै ढकाल सवार बीचमा रहेको गाडीलाई प्रदर्शनकारीले रोकेको विवरण प्राप्त भएको छ ।
‘मध्यराति उहाँलाई निकालेर कुटपिट गरेको सूचना आएको छ, त्यसपछि त्यहाँ रहेका अरु सैनिकलाई पनि बाहिर निकालेको पाइएको छ’, उनले अनलाइनखबरसँग भने, ‘उक्त गाडीमा थप चार नेपाली शान्ति सैनिक थिए, उनीहरुको अवस्था सामान्य छ ।’
समाचार संस्था एपीका अनुसार, गाडीबाट ढकालसहितका व्यक्तिहरुलाई निकाल्ने बित्तिकै प्रदर्शनकारीहरुले गाडीमा आगजनी गरेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शान्ति सैनिक सवार गाडीमा आगो लाग्दै गरेको तस्वीर तथा भिडियोसमेत सार्वजनिक गरेका छन् । भिडियोमा केही व्यक्तिहरुले शान्ति सैनिकको गाडीबाट केही सामानहरु लैजांदै गरेको समेत देखिएको छ ।
घटनालगत्तै लेबनानको सेनाले प्रदर्शनकारीलाई तितरवितर पारेको थियो । त्यसक्रममा उपरथी ढकाललाई उद्धार गरेर यूएन लेभल थ्री अस्पताल बेरुत पुर्याइएको जनाइएको छ ।

इरानबाट आएको एउटा यात्रु विमानलाई बेरुत जाने अनुमति रद्द गर्ने सरकारी अधिकारीहरुको निर्णयविरुद्ध अहिले त्यहाँ विरोध प्रदर्शन चलिरहेको समाचार संस्था एपीले उल्लेख गरेको छ ।
लेबनानका सरकारी अधिकारीहरुले इरानले ती उडानमार्फत उग्रवादी समूह हिज्बुल्लाहलाई नगद पठाउने गरेको शंकामा यो निर्णय लिएको भनेका छन् । त्यसअघि नै इजरायली सेनाले इरानले नागरिक उडानमार्फत उग्रवादी समूह हिज्बुल्लाहका लागि नगद तस्करी गर्ने गरेको आरोप लगाएको थियो ।
पछि लेबनानको सरकारले विमानमा प्रतिबन्ध लगाएपछि प्रदर्शनकारीहरुले इजरायलको धम्कीसामू लेबनान झुकेको आरोप लगाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यसको विरोधमा विमानस्थल जाने मार्गसँगै राजधानी र अन्य सडकहरु अबरुद्ध पारिएका छन् ।
त्यहीक्रममा शुक्रबार राति उपरथी ढकाल सवार गाडीमा पनि आक्रमण भएको हो । यो प्रदर्शन लेबनानको इस्लामिक विद्रोही संगठन हिबुल्लाह समर्थित समूहले गरेको भनिएको छ ।
तर, ढकाललाई आक्रमण गर्ने कुन समूह हो भन्ने अहिलेसम्म आधिकारिक रुपमा नखुलेको नेपाली सेना स्रोतले जनाएको छ । ‘हिजबुल्लाहकै कुनै समूह संलग्न हुनसक्छ भन्ने आशंका हो’, सैनिक प्रवक्ता केसीले पनि भने, ‘तर, अहिले आधिकारिक रुपमा भन्न सकिने अवस्था छैन ।’
लेबनानी सेनाका कायममुकायम सेना प्रमुख मेजर जनरल हसन उद्दाले घटनालगत्तै युनिफिल मिसनका कमाण्डरलाई सम्पर्क गरेका छन् । उनले शान्ति मिसनमाथि भएको आक्रमणको भत्सर्ना गरेको भनिएको छ ।
लेबनानी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिसन कमाण्डरसँग कुराकानीका क्रममा उहाँले शान्ति सैनिकमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरेर घाइतेहरुलाई न्याय दिने बताउनुभएको छ ।’
मिसन हेडक्वार्टरले पनि प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।
शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले पनि लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरेको छ ।
घटनामा घाइते उपरथी ढकालले २ डिसेम्बर २०२२ मा संयुक्त राष्ट्रसंघको युनिफिल मिसनमा डेपुटी फोर्स कमाण्डका रुपमा जिम्मेवारी थालेका थिए ।
३५ वर्ष लामो सैनिक अनुभव भएका उनी प्रभुराम शर्मा प्रधानसेनापति भएका बेला सैनिक सहायक समेत रहिसकेका छन् ।
उनले शान्ति मिसनमा पहिलो पटक १९९४ मा युगोश्लाभियामा प्लाटुन कमाण्डरका रुपमा काम गरेका थिए ।
उनले युनिफिल हेडक्वार्टरमै सन् २००० देखि २००१ सम्म सैनिक सूचना अधिकृतका रुपमा पनि काम गरेका थिए भने सन् २००६ मा एक वर्ष मिलिट्री अभ्जर्बरका रुपमा काम गरेका थिए । उनले २०१७ मा सिरियाको अनडोफ मिसनमा पनि काम गरेका थिए ।
यसअघि १५ असोजबाट इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहलाई समाप्त पार्न भन्दै स्थल कारबाही थालेका बेला पनि लेबनानमा नेपाली शान्ति सैनिक प्रभावित भएका थिए ।
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले समेत संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन चेतावनी दिएपछि तनाव बढेको थियो । तर राष्ट्रसंघले शान्ति स्थापनाका लागि खटिएको सैनिक फिर्ता नहुने जवाफ दिएको थियो ।
त्यस्तोमा हवाई आक्रमणका क्रममा श्रीलंका लगायतका मुलुकका केही शान्ति सैनिक घाइते पनि भएका थिए । यस्तोमा त्यहाँ खटिएका ८५० नेपाली शान्ति सैनिकलाई ‘सेक्यूरिटी लेभल ३’ प्रोटोकल अनुसार बंकरमा राखिएको थियो ।
पछिल्लो समय नेपाली सेना शान्ति सैनिकमा उपस्थितिको हिसाबले विश्वमै शीर्ष स्थानमा पर्छ ।
हाल नेपाली सेनाका ५ हजार ९१८ सैनिक विश्वका ११ विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, अहिले नेपाली सेनाबाट एक हजार १५१ जना कंगो, दक्षिणमा एक हजार ७५२, अब्यई क्षेत्र (सुडान) मा १०७ जना, पश्चिमी सहारामा ५, इजराइलमा २, लेबनानमा ८७७, सिरियामा ४५२, अफ्रिकामा १ हजार २४१, इराकमा ८८, लिबियामा २३१ र यमनमा दुई जना सैनिक कार्यरत छन् ।
नेपाली सुरक्षा फौजमा शान्ति मिसनलाई आकर्षक अवसरका रुपमा मानिन्छ । तर, पछिल्लो समय प्रहरी र सशस्त्रमा भने शान्ति सैनिकमा अवसर घट्दो क्रममा छ ।
 
                









 
             
                             
                             
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4