 
																			भर्खरै जेलबाट छुट्नु भएको थियो, उहाँ । दुब्लो पातलो शरीर थियो । मसिनो तर टाठो स्वर । पाटनमा तुल्सीलाल अमात्यजी कहाँ हाम्रो भेट भयो । भलाकुसारी भयो । उहाँबारे मेरै पार्टीका कामरेडहरूले पनि चर्चा गरेका थिए । तुल्सीलालजीले पनि बताउनु भयो ।
पञ्चायतकालीन शासनले उहाँको ऊर्जापूर्ण युवावस्थाको १४ वर्ष खोसेको थियो, यातनापूर्ण जेलमा हालेर । अझ चार वर्ष त जेलभित्रको जेल गोलघरमा क्रूरतापूर्वक बन्द गरी भविष्यप्रतिको विश्वास नै उहाँमा निमिट्यान्न पार्न खोजेको थियो ।
त्यसमा थप, त्यही जेलमै क्षयरोगले पनि उहाँलाई गाँज्यो । तर उहाँ बच्नुभयो । उहाँ बच्नुभएको मात्र होइन, आफ्नो ऊर्जालाई पनि चिसिन दिनुभएन, आफ्नो आत्मबललाई पनि ओइलाउन दिनुभएन । भविष्यको सपना देख्न, योजना बुन्न र लक्ष्यउन्मुख भइरहन छाड्नु भएन ।
यो सब मैले कामरेडहरूबाट सुनेको थिएँ । मनमा सराहना पलाएको थियो । कमजोर शरीरभित्रको बलियो युवकसित सम्मानसाथ न्यानो हात मिलाएको थिएँ । त्यही युवक पछि गएर ठूलो पार्टीको ठूलो नेता भयो, देशको गृहमन्त्री भयो, परराष्ट्रमन्त्री भयो । पटकपटक प्रधानमन्त्री भयो । दुई-दुईपटक मिर्गौला प्रत्यारोपण गर्नुपर्यो तर जीवनका उतारचढाव बाट हरेस खाएन ।
केपीजी तुल्सीलाल कहाँबाट हिँडेपछि पनि हामीले वामपन्थी एकताको आवश्यकताबारे विमर्श जारी राख्यौँ । विष्णुबहादुरजीको नेतृत्वमा रहेको मेरो पार्टी र म त्यस बेलासम्म केपीजीको पार्टी मालेलाई उग्रवादी ठान्थ्यौँ । माओ विचारधारा र नौलो जनवादसित हाम्रो कुनै सामीप्य थिएन ।
हामी नेपाली काँग्रेस र भारतप्रति नरम थियौँ । प्रतिस्पर्धात्मक बहुदलीय प्रजातन्त्रको बाटोबाटै समाजवादमा पुग्न सकिन्छ भन्ने हाम्रो धारणा थियो । चिनियाँ कम्युनिस्ट पार्टीसित हाम्रो त्यति सम्बन्ध थिएन । हामी सोभियत कम्युनिस्ट पार्टीसित नजिक थियौँ ।
हामीले जनमत सङ्ग्रहमा बहुदलको पक्षमा अभियानमा थियौँ । ४२ सालमा नेपाली काँग्रेसले सञ्चालन गरेको सत्याग्रहमा हामीले पनि भाग लिएका थियौँ । त्यसको फाइदा के भयो भने पहिले नै जेलमा रहनुभएका मालेका कामरेडहरू र हामीबिच निकटता बढ्यो । त्यसको केही वर्षमै संयुक्त वाममोर्चा सम्भव हुनसक्यो ।
म यहाँ राजनीतिमा जान चाहन्नँ । केपी ओलीको विलक्षण आत्मबल, आत्मविश्वास र खटन शक्तिबारे चर्चा गर्छु । एमालेले धेरै घटनापूर्ण बाटो पार गरिसकेको छ । अहिले ऊ संसदीय शासन प्रणालीको एक बलियो खम्बाका रूपमा छ । अर्को खम्बाका रूपमा रहेको नेपाली काँग्रेससित मिलेर सरकार सञ्चालन गरिरहेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली यस सरकारका प्रधानमन्त्री हुनुहुन्छ । सामान्य अवस्थामा संविधानले अनुमति दिए पनि संसद्का सबभन्दा ठूला दुइटा पार्टी मिलेको ‘ग्रायन्ड कोअलिसन’ को सरकार बनाइँदैन । तर, मुलुकले निरन्तर भोगिरहेको बढ्दो अप्ठ्यारो र संसदीय प्रणालीले दिनुपर्ने तर दिन नसकेको स्थायित्वको सामु अहिले यसभन्दा उपयुक्त अर्को विकल्प थिएन । होइन भने संसदीय गणतन्त्रमाथि नै प्रहार बढ्नसक्ने थियो ।
अस्थिरता र अल्प परिणामदायिता– पुअर डेलिभरी– न संसदीय गणतन्त्रको हितमा थियो न मुलुकको समस्या समाधान गर्ने शक्ति नै निर्माण हुनसक्थ्यो । भन्नु परेन, अल्पप्रचलित रहेको भए पनि यो ‘ग्रायन्ड कोअलिसन’ को काँग्रेस–एमालेको निर्णय दूरगामी महत्त्वको छ ।
तीस वर्षीय निरङ्कुश शासनविरुद्ध सङ्घर्षमा खारिएको, तत्पश्चात्का तीस वर्षमा संसदीय प्रणालीको प्रतिरक्षामा माझिएको अनुभवले निर्देशित गरेको र स्थायित्व दिनुपर्ने र परिणामदायी हुनुपर्ने आवश्यकताले घच्घच्याएको कदम हो यो । यी दुई विशाल पार्टीको जिम्मेवारी पनि थियो यो ।
विगत इतिहासले घचेटेको र आगत इतिहासले तानेको हुनुपर्छ, नजिक ल्याउन शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई । त्यसै पनि दुवै नेताले इतिहासमा स्थानबारे सोच्ने समय परिपक्व भइरहेको छ ।
हुन त नेताहरू जहिले पनि आफ्ना जनता र इतिहासप्रति जिम्मेवार रहिरहनु पर्छ । तर, त्यो सबै नेतामा देखिँदैन, एउटै नेतामा पनि सधैं देखिँदैन । केपी ओलीमा इतिहास चेतना बलियो देखिन्छ ।
स–साना कुराहरू वा अहिले ठूला लाग्ने तर क्षणिक महत्त्वका कुराहरू हराएर जान्छन् । दूरगामी महत्त्वका कुराहरू रहिरहन्छन् । बाह्य दबाबका विपरीत निर्धारित मितिमै संविधान जारी हुनु, भारतीय नाकाबन्दीविरुद्ध अडानमा अडिग रहनु, आफ्नो देशको भौगोलिक अखण्डताप्रति प्रतिबद्ध रहँदै सीमा विवाद समाधानका लागि वार्ता गर्न जोड दिनु, वार्ता नहुनु तर अतिक्रमित कालापानी लिम्पियाधुरा क्षेत्रमा भारतले नयाँ गतिविधि सञ्चालन गरिरहँदा चुप नरही प्रतिवाद गर्नु, भारतको नयाँ नक्साको प्रतिवादमा नेपालको अद्यावधिक नक्सा प्रकाशित गर्नु, विवादका विषय एकातिर र मित्रता र सहयोगका क्षेत्र अर्कोतिर अलग्याएर भारतसित मित्रता र सहयोगको महत्त्व कम हुन नदिनु, आफ्नो पक्ष र आफ्ना कुरा प्रस्टसँग प्रस्तुत गर्न नहच्कनु– यस्ता उदाहरण हुन्, जसले इतिहासप्रति केपी ओलीको चेतना र जिम्मेवारीलाई प्रदर्शित गर्छन् ।
विवाद चर्किएको बेलाको स्वरको आयतन र शरीरको हाउभाउ फरक हुनसक्छ तर त्यसले विषयवस्तुको गम्भीरतालाई कम गर्दैन । त्यसबेला पनि अन्य क्षेत्रमा हामी दुई निकटतम छिमेकी देशका बिच मैत्रीपूर्ण सहयोग अगाडि बढेको छ । त्यसबेला पनि भारतीय अधिकारीहरूसमक्ष मात्र हैन भारतीय जनतासमक्ष पनि आफ्ना कुरा प्रस्टसँग राख्ने काम भएको छ । बिर्सन हुँदैन, दुई देशबिच जनस्तरीय सम्बन्ध व्यापक रहिआएको छ ।
यो व्यापक सम्बन्धलाई बदलिएको आजको समयको उचाइमा उन्नत गर्न नै तत्कालीन प्रधानमन्त्री केपी ओलीको पहलमा दुई देशका सरकारले प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरेका हुन् र त्यसले समयमै आफ्नो संयुक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन तयार भएको तथ्यलाई दुबै सरकारले संयुक्त र औपचारिक रूपमै स्वीकार पनि गरेका छन् ।
त्यो प्रतिवेदनका विषय सम्बोधित हुनु नै पर्नेछ । समय जति बितोस्, दुई देशबिच मित्रता र सहयोगलाई समयानुकूल सम्मानजनक र उन्नत बनाउने विषयहरू पुराना हुन सक्दैनन् । यसको महत्त्वमाथि केपी ओलीले जोड दिँदै पनि आउनु भएको छ ।
त्यस्तै, चीनसँगका व्यापार र पारवहन सन्धिहरू पनि दूरगामी ऐतिहासिक महत्त्वका छन् । तिनले पनि ओलीजीको इतिहास चेतलाई, इतिहासप्रतिको जिम्मेवारीबोधलाई देखाउँछन् । ती पनि धरहरा र सिंहदरबारजस्तै हुन् । सन्ततिका सन्ततिहरूलाई समेत उपयोगी हुन्छन् ।
यस सन्दर्भमा विवादित समयमा भारतीय टेलिभिजनलाई दिएका ओलीजीका दुइटा अन्तर्वार्ताको सम्झना आउँछ । एउटा हिन्दीमा थियो र अर्को अङ्ग्रेजीमा । ती अन्तर्वार्तामा केपीजीको भाषामा कमान्ड, विषयवस्तुमा कमान्ड, प्रस्तुतिमा तार्किकता र आफूमा विश्वास प्रस्टैसँग झल्किन्थ्यो ।
म त्यसबेला भारतमा नेपालको राजदूत थिएँ, दिल्लीमै हेरेको र सुनेको थिएँ, बडो अभिरुचि र सराहनासाथ । विश्वसमक्ष निर्धक्क प्रस्तुत गर्न सकिने प्रधानमन्त्रीको रूपमा देखेँ, उहाँलाई मैले । नेपालका कुरा भारतीय दर्शक र श्रोतासम्म पुगे । सम्मान बढेको अनुभूति भयो । विश्वविद्यालय शिक्षा नपाएका प्रधानमन्त्रीलाई विश्वविद्यालयमा शिक्षा दिन योग्य देखेँ, त्यो पनि विदेशी भाषामा ।
उहाँको अध्ययनशीलता र स्मरण शक्ति पनि विलक्षण छ, त्यस्तै खट्न सक्ने र अड्न सक्ने क्षमता पनि लोभलाग्दो छ । ओलीजीका यी विशेषताबारे युवा राजनीतिकर्मीहरूबीच बढी चर्चा हुनुपर्ने हो । आजभोलि अध्ययनशीलता र खटनशीलता कमजोर भइरहेको म पाउँछु । गुण त जहाँको पनि लिन हुन्छ, लिनुपर्ने हो ।
ओलीजीको समस्त मूल्याङ्कन गर्ने उद्देश्य यस लेखको होइन, समय र स्थान पनि यो होइन । उहाँबारे लेखिने छन्, लेखिएका छन् । बहस र वादविवाद हुने छन् । मैले यहाँ केही सबल पक्ष र केही अनुकरणीय गुणहरू सम्झन चाहेको हुँ । केही सिक्नुपर्ने कुरा उल्लेख गर्न खोजेको हुँ ।
ओलीजी कम्युनिस्ट हो, संसदीय प्रणालीप्रति प्रस्टतः प्रतिबद्ध प्रजातान्त्रिक राजनीतिक नेता पनि हो । द्वन्द्वात्मक भौतिकवादी पनि हो । अहिले थरीथरीका कम्युनिस्ट छन् । कुनै समयमा एउटै कम्युनिस्ट पार्टी हुनुपर्ने भनेजस्तो अहिले छैन । मार्क्सको समयको कम्युनिस्ट अहिले खोजेर हुँदैन । लेनिन वा माओको समयको जस्तो वा बिसौँ शताब्दीको जस्तो कम्युनिस्टको २१औँ शताब्दीको यस अवधिमा काम छैन
द्वन्द्वात्मक भौतिकवादले ठहरावलाई स्वीकार गर्दैन, कम्युनिस्ट यथास्थितिवादलाई अनुमति दिँदैन । यसले समयको कुरा गर्छ, गतिको कुरा गर्छ, स्थानको कुरा गर्छ, नवीन विकासको कुरा गर्छ, सापेक्षताको कुरा गर्छ । त्यसो त प्रजातान्त्रिक समाजवाद पनि आज बिसौँ शताब्दीको जस्तो खोजेर हुँदैन, बीपी कोइरालाको समयको जस्तो खोजेर पनि हुँदैन । आज त आजको प्रजातान्त्रिक समाजवाद हुन्छ, हिजोको हुँदैन ।
पश्चगामी हुन हुँदैन, न कम्युनिज्म न त प्रजातान्त्रिक समाजवाद । प्रजातन्त्र पनि हिजोको जस्तो छैन, हुन हुँदैन । आजको हुनुपर्छ । दलहरू पनि आजका हुनुपर्छ, हिजोका जस्ता होइन । समय त हुर्किसकेको हुन्छ, राजनीति पनि र दलहरू पनि समयसँगै हुर्कनु पर्छ । नेताहरू पनि समयसँगै हुर्कनु पर्छ । नेपालका कम्युनिस्टहरूमध्ये ओलीजी सबभन्दा बढी आजको समयसापेक्ष लाग्नुहुन्छ मलाई ।
म आफैँ कुनै पनि कम्युनिस्ट पार्टीमा वा कुनै अन्य राजनीतिक दलमा छैन । आफूले खोजेजस्तो दल छैन भन्दैमा भएका दलहरूको भूमिकालाई नमान्ने कुरा आउँदैन । प्रतिस्पर्धी प्रजातान्त्रिक दलहरूबिनाको प्रजातन्त्र सम्भव ठान्दिनँ म । साथै, दलभन्दा माथि पनि जीवन छ, त्यसभन्दा माथिका मूल्य मान्यता छन् भन्ने कुरामा पनि विश्वास गर्छु ।
त्यसैले दुवै ठूला पार्टीहरूको मिलीजुली सरकार अहिलेको सन्दर्भ, समयको सापेक्षता, देशको आवश्यकता, वर्तमानको प्रमुख कार्यभार अनुकूल छ भन्ने ठान्छु । यसले कतिको काम गर्न सक्छ, त्यो अर्को विषय हो । सक्नुपर्छ ।
भौतिकवादले चेतनालाई अस्वीकार गर्दैन, मनोगत शक्तिको भूमिका र महत्त्वलाई कम मूल्याङ्कन गर्दैन । प्रकृतिको कुरा बेग्लै हो, विद्यमान भौतिक परिधि र वस्तुगत परिस्थितिमा समाजका मनोगत शक्तिहरूको अन्तरसम्बन्धले नै समाजलाई गति दिएको हुन्छ । त्यसैले, मानिसको सोचको ठूलो भूमिका हुन्छ । जति ठूलो भूमिकामा मानिस हुन्छ, उसको सोचको प्रभाव वा असर पनि उति नै ठूलो हुन्छ ।
केपी आत्मबलले बनेको मानिस हो, आत्मबलको नेता हो, आत्मबलको प्रधानमन्त्री हो । आत्मबल त्यसै आउँदैन, बलियो सोच र अदम्य इच्छाले ल्याउँछ ।
बृहदारण्यक उपनिषद्मा आल्मबललाई निर्णायक मान्यता दिइएको छ । त्यसअनुसार, तिमीलाई तिम्रो जुन इच्छाले हाँक्छ, त्यही तिमी हौ । तिम्रो गहन इच्छा नै तिमी हौ । तिम्रो इच्छाले तिम्रो आत्मबल निर्माण गर्छ । तिम्रो आत्मबलले तिम्रो कार्यकलाप निर्धारित गर्छ । अनि जस्तो तिम्रो कार्यकलाप हुन्छ, त्यस्तै तिम्रो प्रारब्ध बन्छ ।
बौद्ध दर्शनमा मानिसको मनलाई, उसको सोचलाई अहम् मान्यता दिइएको छ । धम्मपद नै मानिसको सोचको महत्त्वको चर्चाबाट सुरु गरिएको छ । हाम्रो मनले हाम्रो जीवनको स्वरूप निर्धारित गर्छ, हामीजस्तो सोच्छौं, उस्तै बन्छौँ ।
पाश्चात्य दर्शनमा सोचको महत्त्वबारे सत्रौँ शताब्दीका प्रख्यात फ्रान्सेली दार्शनिक रेने देकार्तको उक्ति व्यापक प्रचलनमा छ । उनले भनेका छन्, म सोच्छु त्यसैले म छु ।
यी अध्यात्मवादका कुरा होइनन् । जीवनका कुरा हुन् । हाम्रै देशको पनि अनुभव छ जुन जुन बेला देशको सामूहिक सोच बनेको छ, देशले ठूल्ठूला काम गरेको छ । संसदीय प्रणाली प्रतिस्पर्धात्मक अवश्य हो तर देशमा विभाजन ल्याउने प्रणाली होइन । सबै उल्लेख्य विविधतालाई संसद्भित्र एकीकृत गर्न लक्षित प्रणाली हो ।
देशको सामूहिक सोच निर्माण गर्ने प्रणाली हो । यसका लागि हाम्रा नेताहरूका सोच पनि नवीकृत भइरहनुपर्छ । किनभने हिजोको सोचले आजको कार्यभार पूरा गर्न सकिँदैन, हिजोको सोचले भोलिको भविष्य निर्माण हुँदैन । विषयवस्तु र सन्दर्भ नै नहेरी दुइटा ठूला पार्टीको निकटतालाई संसदीय प्रणाली विपरीत भन्न मिल्दैन ।
आज देशलाई सम्पूर्ण देशकै सामूहिक आत्मबल चाहिएको छ, सामूहिक सोच चाहिएको छ । देश पनि व्यक्तिजस्तै हो, जस्तो सोच्छ त्यस्तै बन्छ । अहिले सामूहिक सोचको खाँचो छ, त्यो निर्माण गरौँ र कार्यान्वयन गरौँ । यसमा दुई ठूला दलले संयुक्त अग्रणी भूमिका निर्वाह गर्न सक्छन् । आत्मबलका धनी केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । शुभ कामना छ ।
(पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको अंश, पुस्तक फागुन १९ गते लोकार्पण हुँदैछ ।)
 
                









 
                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4