 
																						२६ चैत, काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा उम्मेदवारी दिए पनि हालसम्म त्यसको नतिजा आएको छैन ।
सुंयक्त राष्ट्रसंघका महासचिवलाई सिधैं रिपोर्टिङ गर्नुपर्ने तहको पदमा नेपालबाट उपरथी प्रेमध्वज अधिकारीलाई अघि सारिएको थियो । यदि प्रतिस्पर्धामा सफल भए उनलाई रथी पदमा बढुवा गरेर कामकाज गर्न जान रक्षा मन्त्रालयले स्वीकृति दिएको थियो ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले नेपालले उम्मेदवारी दिएको ६ महिना पुग्न लागे पनि त्यसको कुनै नतिजा आइनसकेको अनलाइनखबरलाई बताए । ‘संयुक्त राष्ट्रसंघको छनौट प्रक्रियाले कहिलेकाहीँ समय लिन्छ, नियुक्ति भएको भए थाहा हुन्थ्यो’, उनले भने, ‘तर, अहिलेसम्म त्यस्तो जानकारी मैले पाएको छैन ।’
अहिले संयुक्त राष्ट्रसंघको निमित्त सैनिक सल्लाहकारको जिम्मेवारी अष्ट्रेलियाकी मेजर जनरल चेरिल पियर्सले सम्हालिरहेकी छन् ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयबाट यसअघि नेपाली सेनालाई सैनिक सल्लाहकारमा उम्मेदवारी दिन प्रस्ताव हुँदा नेपालले कसैलाई पठाएको थिएन ।
यो दर्जामा उम्मेदवारी दिन रथी तहको अधिकारी अनिवार्य भए पनि एक जना प्रधानसेनापति हुने लाइनमा र अर्का शान्ति मिसन फोर्स कमाण्डका रुपमा नेपाल बाहिरै भएकाले सम्भव नभएको बताइएको थियो ।
तर, प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएलगत्तै उनले अधिकारीलाई उम्मेदवारको रुपमा अघि सारेका थिए । जंगीअड्डा स्रोतका अनुसार, फेरि उम्मेदवारी दिने अवसर आएपछि युद्धकार्य विभागका उपरथी अधिकारीलाई अघि सारिएको थियो ।
नेपाली सेनाले यो तहको भूमिका पाएमा शान्ति सेनामा नेपालीको उपस्थिति हालसम्मकै उच्च तहमा पुग्नेछ । हालसम्म नेपाली सैनिक अधिकारीहरुले फोर्स कमाण्डर तहसम्म मात्र जिम्मेवारी पाएका थिए ।
माथिल्लो तहमा भूमिका दिन नेपालले पटकपटक माग गर्दै आएको थियो । यो पटक नेपाली सेनाले उच्च तहमा उम्मेदवारी त दिएको छ, तर कतिपय सैनिक अधिकारीहरु अमेरिकी अधिकारीले समेत यो प्रतिस्पर्धामा भाग लिएकाले नेपालले अवसर पाउने सम्भावना कम रहेको बताउँछन् ।
‘नेपाललाई अवसर दिनुपर्छ भन्ने हिसाबले अमेरिकी अधिकारीहरुसँग समेत लबिइङ गर्ने प्रयास भइरहेको छ’, एक उच्च सैनिक अधिकारीले भने, ‘नेपालले यो अवसर पायो भने शान्ति सेनामा नेपाल सबैभन्दा उच्च तहमा पुग्ने थियो, त्यो देशकै लागि गर्वको विषय हुने थियो ।’
सैनिक सल्लाहकारको नियुक्ति संयुक्त राष्ट्र संघको महासचिवले गर्छन् । महासचिव एन्टोनियो गुटेरेसले सन् २०२१ मा सेनेगलका जनरल विरामे डियोपलाई सैनिक सल्लाहकार नियुक्त गरेका थिए ।
यो जिम्मेवारी पाउनुअघि डियोपले सेनेगलका राष्ट्रपतिका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार र एयरफोर्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका थिए । उनीभन्दा अगाडि उरुग्वेका जनरल कार्लोस हम्बर्टो सैनिक सल्लाहकार थिए ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, सामान्यतः सैनिक सल्लाहकारको कार्यकाल दुई वर्षको हुन्छ । तर, कहिलेकाहीँ आवश्यकता अनुसार म्याद थप समेत हुने गरेको छ ।
नेपाल शान्ति मिसनमा सैनिक पठाउने राष्ट्रहरुमध्ये अग्रपंक्तिमा पर्छ ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4