१८ वैशाख, काठमाडौं । युवा खेलाडीहरुको प्रतिभा देखाउने र भविष्यका स्टार जन्माउने लक्ष्यका साथ हुँदै आएको युथ एसियन गेम्सको आगामी संस्करण बहराइनमा हुँदैछ । ओलम्पिक र एसियन गेम्स जस्तै मल्टी स्पोर्ट्स गेम्सको रुपमा रहेको युथ एसियन गेम्सको तेस्रो संस्करण अक्टोरबमा बहराइनमा हुँदैछ ।
सुरुमा उज्वेकिस्तानमा आयोजना गर्ने तय थियो । तर त्यहाँको पूर्वाधार निर्धारित समयमा तयार नहुने भएपछि ओसिएले गत वर्ष नै युथ एसियन गेम्स बहराइनमा सार्ने निर्णय गरेको थियो ।
उज्वेकिस्तानले पूर्वाधार सम्पन्न हुनका लागि केही समय माग गरेको थियो तर अर्को वर्ष डाकारमा युथ एसियन गेम्स हुने तालिका रहेकोले ओसिएले यस वर्ष नै युथ एसियन गेम्स गर्ने भन्दै बहराइनलाई नयाँ होस्ट बनाएको हो ।
तेस्रो युथ एसियन गेम्समा २१ खेल समावेश गरिनेछ । जसमा एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल (थ्री एक्स थ्री), इक्वेस्ट्रियन, इ स्पोर्ट्स, फुटसल, गल्फ, ह्यान्डबल, जुडो, जुजिस्तु, मिक्स मार्शल आर्ट्स, साइक्लिङ (रोड), स्विमिङ, टेबल टेनिस, तेक्वान्दो, ट्रायथलन, कुस्ती, भारोत्तोलन, कबड्डी, भलिबल र टेकबल समावेश गरिएको छ ।
युथ एसियन गेम्समा एसियाका ४५ वटा राष्ट्रहरुले सहभागिता जनाउनेछन् । अन्य राष्ट्रहरुले मल्टी स्पोर्ट्स इभेन्टमा सहभागिताका लागि तयारी गरिरहँदा नेपालमा भने त्यसको केही सुरुवात नै भएको छैन ।
एक हिसाबले हेर्दा युथ एसियन गेम्समा नेपालको सहभागिता नै अन्योल जस्तै देखिन्छ । किनभने अहिले नेपाली खेलकुदका स्टेक होल्डरहरु चार तिर फर्केका छन् । नेपाली खेलकुदको विकास गर्ने भन्दा पनि मुद्दा मामला र विवादमा अहिले नेपाली खेलकुद रमाइरहेको छ ।
अहिले युवा तथा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) को अस्तिस्व नमान्ने र ओलम्पिक कमिटीले सरकारले हस्तक्षेप गर्यो भन्ने विवादले गर्दा नेपाली खेलकुद अघि बढ्न सकेको छैन । एक अर्कामा जुहारी चलिरहँदा नेपाली खेलकुदको भविष्यलाई नै असर गरिरहेको छ ।
खेलकुद मन्त्रालय, राखेप सरकार सबैले ओलम्पिक कमिटीले विधान विपरित वित्रान संशोधन गरेर निर्वाचन गरेको भन्दै अवैधानिक भनिरहेको छ । उता ओलम्पिक कमिटीले भने आफूले नियमअनुसार नै सबै काम गरेको र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि समर्थन गरिरहेको बताए ।
६ महिना भन्दा कम समय
तेस्रो युथ एसियन गेम्स अक्टोबर २२ देखि ३१ सम्म हुँदैछ । युथ गेम्स आउन अब ६ महिना भन्दा कम समय बाँकी छ । ओसिएले युथ एसियन गेम्सका कुन समयमा के गर्ने भनेर मिति तय गरिसकेको छ ।
खेलाडीको लङ लिस्ट पठाउने समय सुरु भइसकेको छ । अप्रिल १ देखि जुन ३१ सम्म अनलाइफर्त खेलाडीहरुको नाम दर्ता गर्ने समयसिमा छ । जसमा सहभागि हुने खेलको नाम बुझाउनुपर्नेछ ।
यसबीचमा अन्य कामहरु पनि हुन्छ । मे १३-१४ मा टेक्निकल डेलेगेट्स मिटिङ हुनेछ भने मे १५-१७ मा चिफ दि मिसनको सेमिनार हुनेछ । यस्तै जुलाई १५ १५ देखि अगष्ट १४ सम्म खेलाडीहरु सर्ट लिस्ट दर्ता गर्नुपर्नेछ ।
अगष्ट ३१ देखि सेप्टेम्बर १ सम्म दोस्रो टेक्निलक डेलेगट्स मिटिङ हुनेछ । सेप्टेम्बर २ मा टिम स्पोर्ट्सको लागि ड्र गरिनेछ । सेप्टेम्बर ३ मा दोस्रो चिफ दि मिसनको मिटिङ हुनेछ ।
यस्तै कुन खेलबाट कति खेलाडीले सहभागि गराउने भन्ने प्रारम्भिक खाका बुझाउनुपर्छ । यस्तै खेलाडीहरुको तयारी पनि गर्नुपर्छ । तर अहिले नेपालमा भने नेपालको सहभागिता नै हुन्छ कि हुँदैन भन्ने अन्योलमा छ । खेलाडीहरु पनि यसमा अन्योलमा छन् ।
अहिले नेपालका केही खेलाका खेलाडीहरु सन् २०२६ मा जापानमा हुने २०औं एसियन गेम्सको विशेष तयारीमा छन् । तर युथ एसियन गेम्सका लागि केन्द्रित रहेर भने कुनै तयारी भएको छैन ।
के भन्छन् सरोकारवालाहरू ?
युथ एसियन गेम्सको बारेमा सोध्दा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘मलाई यसबारे केही जानकारी आएको छैन । मन्त्रालयमा केही आएको भए म बुझ्छु । कैले गेम हुँदैछ । मलाई चिठी आएको छैन । कुन गेम हो मलाई जानकारी गराएको छैन’ मन्त्री चौधरीले भने ।
उनले ओलम्पिकबाट राष्ट्रिय खेलुकद परिषदमा आएपछि परिषदले मन्त्रालयमा जानकारी गराउने बताए । ‘ओलम्पिकले हामीलाई पठाउने होइन । ओलम्पिक कमिटीबाट खेलकुद परिषदमा आउने हो र हामीलाई खेलकुद परिषदबाट आउने हो ।’
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले युथ ओलम्पिक गेम्समा सहभागिता जनाउनुपर्ने बताए । उनले यसका लागि बजेट प्रस्ताव गर्ने काम आफूहरुले गरेको र सबैले आ-आफ्नो काम गर्नुपर्ने बताए ।
‘हामीले बजेट प्रस्ताव गर्ने हो । त्यो प्रस्ताव गरेर पठाएका छौं । युथ एसियन गेम्समा सहभागी हुनुपर्छ भन्ने हाम्रो भनाई हो । सबैले आ-आफ्नो काम गर्नुपर्छ’ सदस्य सचिव घिसिङले भने ।
‘सदस्य सचिवको रुपमा भन्दा मैले बजेट प्रस्ताव गरेको छु र सहभागिता हुनुपर्छ । दशौँ राष्ट्रिय खेलकुदका लागि पनि गरेकै हो तर भएन । म भन्दा माथिल्लो तहबाट सहभागी नहुने भनेर आयो भने मेरो केही लागेन’ उनले भने ।
सदस्य सचिव घिसिङले अहिले खेलाडीहरू विशेष तयारीमा रहेको र विभिन्न युथ प्रतियोगिताहरु पनि भइरहेकोले पदकको सम्भावना भएका खेलाडीलाई नै युथ एसियन गेम्समा सहभागी गराउने बताए । ‘अहिले हामी विशेष तयारी गरिरहेको खेलहरु, पदकको सम्भावना भएका खेलहरुलाई यसमा सहभागि गराउनुपर्छ भन्ने हो’ उनले भने ।
नेपाल ओलम्पिक कमिटीले भने युथ एसियन गेम्सको विषयमा दुई पटक राष्ट्रिय खेलकुद परिषदमा पत्र पठाएपनि जवाफ नआएको जनाएको छ । त्यसमा युवा तथा खेलकुद मन्त्रालयलाई पनि बोधार्ध रहेको र समावेश भएका २१ वटै खेलका संघहरुलाई पनि बोधार्ध पठाइएको जनाइएको छ ।
युवा खेलाडीहरुको लागि यो आफ्नो प्रतिभा देखाउने अवसर हो । खेलाडीले खेल्न पाए मात्र भविष्यमा राम्रो खेलाडी बन्न सक्छ । तर मैदान बाहिर हुने राजनीति र विवादले गर्दा त्यसको असर खेलाडीमा परिरहेको छ ।
दुई पटक रद्द भएको थियो युथ एसियन गेम्स
सन् २००९ मा सिंगापुरबाट सुरु भएको युथ एसियन गेम्स हरेक चार चार वर्षमा गर्ने प्रावधान थियो । यसको मुख्य उदेश्य सन् २०१० को युथ ओलम्पिक गेम्सको लागि तयारीमा केन्द्रित थियो ।
एसियन गेम्स र ओलम्पिककै शैलीमा हुने युथ गेम्स अहिले पाँचौ संस्करण आयोजना हुनुपर्ने हो । तर भर्खर तेस्रो संस्करण हुने तयारीमा छ । पहिलो संस्करणको चार वर्षपछि नै सन् २०१३ मा चीनको नान्जिङमा दोस्रो संस्करण भयो ।
तर त्यसपछिको दुई संस्करण हुन सकेन । सन् २०१७ मा श्रीलंकाको हमानटोटामा तेस्रो संस्करण आयोजना गर्ने तय भएको थियो । पछि इन्डोनेसियामा गर्ने भनेर सारियो । तर त्यहाँ पनि हुन सकेन ।
यस्तै सन् २०२१ मा फेरि इन्डोनेसियामा आयोजना गर्ने भनेर ओसिएले निर्णय गरेको थियो । फेरि भेन्यु सारेर चीनको सान्तोउमा आयोजना गर्ने भनियो । तर कोभिडको कारण देखाउँदै यस पटक पनि युथ एसियन गेम्स हुन सकेन ।
सन् २०२५ मा पनि सुरुमा उज्वेकिस्तानमा गर्ने घोषणा गरिएको थियो । तर निर्धारित समयमा पूर्वाधार तयार नहुने भएपछि बहराइनमा सारिएको हो । बहराइनले तेस्रो युथ एसियन गेम्सका लागि सबै तयारी गरिरहेको छ ।
 
                    










 २०८२ वैशाख  १८ गते १५:५१
                        २०८२ वैशाख  १८ गते १५:५१                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4